काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार पनि सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।
बजार आज १३.५९ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९१२.६९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ २.३९ अंकले घटेर ३७२.३४ को विन्दुमा झरेको छ। कारोबार रकम पौने १ अर्ब रुपैयाँ बढीको भएको छ।
बजार जानकार महेश रिजाल अहिले बजार २–३ वटा कारणले घटिरहेको बताउँछन्। ‘नेपाल राष्ट्र बैंकले चालुपुँजी कर्जामा गरेको कडाइ, नयाँ ब्रोकर र स्टक एक्सचेन्ज खोल्नका लागि पैसाको जोहो बजारबाटै हुनु र इन्साइडर ट्रेडिङ कडा कारबाहीको नियम ल्याएको जस्ता कुराले लगानीकर्ता हच्किएका हुन सक्छन्’, उनले भने, ‘यी कारणसँगै दसैँका लागि पैसा जोहो गर्दा बजार अल्पकालमा गिरावट आएको देखिन्छ। तर दीर्घकालमा भने बजार भविष्य राम्रो नै छ।’
सक्रिय लगानीकर्ता दमोदर गजुरेल अल्पकालीन लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा बस्दा बजारमा करेक्सन आइरहेको बताउँछन्। ‘हाल थुप्रै कम्पनीले लाभांश घोषणा गर्न बाँकी रहेको र चाडपर्वको सिजन पनि भएकोले बजार घटेको हो’, उनले भने।
प्राविधिक रुपमा कुनै कन्फर्मेसन नमिलिसकेको हुँदा बजार करेक्सन आएको गजुरेलको भनाइ छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये एउटामात्रै हरियाली छाएको छ भने बाँकी १२ वटामा रातो पोतिएको छ।
यो दिन म्युचुअल फन्डमात्रै ०.१२ प्रतिशतले उकालो लागको छ।
आज अन्य समूह सर्वाधिक १.७ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूहमा १.४३ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.४ प्रतिशत, व्यापार समूहमा ०.४१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.२६ प्रतिशत, विकास बैंक समूहमा ०.४२ प्रतिशत, वित्त समूहमा १.०५ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.२८ प्रतिशत, लघुवित्त समूहमा ०.७२ प्रतिशत, जीवन बीमा समूहमा ०.५८ प्रतिशत र लगानी समूहमा ०.६८ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेप्सेमा सूचीकृतमध्ये २२५ कम्पनीका २६ लाख १३ हजार ५४० कित्ता सेयर ८३ करोड १६ लाख ३ हजार ६५१ रुपैयाँमा किनबेच भएका छन्।
आज नबिल बैंकको सर्वाधिक ४ करोड ७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। रिडी पावरको २ करोड ७९ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन हिमालयन डिस्टिलरीको २ करोड ५६ लाख रुपैयाँ, अपी पावरको २ करोड २७ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको २ करोड ५ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको १ करोड ९७ लाख रुपैयाँ, नेपाल टेलिकमको १ करोड ८९ लाख रुपैयाँ, अरुण काबेली पावरको १ करोड ८८ लाख रुपैयाँ, शिवम सिमेन्टको १ करोड ८३ लाख रुपैयाँ र अरुण भ्याली हाइड्रोपावरको १ करोड ४२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज युनाइटेड इदी मर्दीका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ४ प्रतिशत बढीले उकालो लागेको छ।
यो दिन सामुदायिक लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago