काठमाण्डौ । सेयर बजार बुधबार पनि उकालो लागेको छ। 

बजार आज ७.३२ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १९३८.३० को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.७९ अंकले बढेर ३८२.९४ को विन्दुमा पुगेको छ। कारोबार रकम हिजोको तुलनामा बढेर साढे १ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। 

बजार जानकार महेश रिजाल अहिले बजार घट्नुपर्ने खासै कुनै कारण नरहेको बताउँछन्। ‘अब लाभांशको सिजन भएकोले बजार बढ्ने नै देखिन्छ’, उनले भने। 

बैंकहरुले दिने नगद लाभांशले तरलता पनि सहज हुने रिजाल बताउँछन्। ‘मंसिरको अन्त्यसम्म बजार २००–३०० अंकले बढ्न सक्छ’, उनले भने। 

घर–जग्गाको कारोबार सुस्ताएकोले सेयर बजारमा आकर्षण बढ्ने रिजालको तर्क छ। 

सक्रिय लगानीकर्ता प्रकाश न्यौपाने आज बजारमा केही नाफा बुक भएको हुन सक्ने बताउँछन्। ‘चाडपर्व सकिएको र निर्वाचनपछि बन्ने नयाँ सरकारबाट अपेक्षा राखेका कारण बजार हिजोआज बढेको हुन सक्छ’, उनले भने, ‘अहिलेको अवस्थामा दीर्घकालीन लगानी गर्दा रिटर्न राम्रै आउन सक्छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ। 

यो दिन अन्य समूह सर्वाधिक १.४४ प्रतिशतले उकालो लागेको छ। विकास बैंकस समूह ०.९७ प्रतिशतले बढ्दा होटेल तथा पर्यटन समूहमा ०.६१ प्रतिशत, जलविद्युत समूहमा ०.८३ प्रतिशत, वित्त समूहमा ०.५४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.२६ प्रतिशत, लघुवित्त समूहमा ०.८६ प्रतिशत, जीवन बीमा समूहमा ०.६२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.२७ प्रतिशत र लगानी समूहमा ०.४८ प्रतिशतको बढोत्तरी भएको छ। 

यो दिन व्यापार समूह सर्वाधिक १.२३ प्रतिशतले ओरालो लागेको छ। बैंकिङ समूह ०.१९ प्रतिशतले घट्दा निर्जीवन बीमा समूहमा ०.०२ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीका ४३ लाख ४६ हजार ७०८ कित्ता सेयर १ अर्ब ४६ करोड ७९ लाख १४ हजार ८७५ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन शिवम सिमेन्टको सर्वाधिक ७ करोड ८५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको ५ करोड ६६ लाख रुपैयाँबराबरको कारोबार भएको आज रिडी पावरको ५ करोड १९ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको ३ करोड ९४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड ८८ लाख रुपैयाँ, नेपाल टेलिकमको ३ करोड ६८ लाख रुपैयाँ, गरिमा विकास बैंकको ३ करोड ६५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३ करोड ६४ लाख रुपैयाँ, एभरेस्ट बैंकको ३ करोड ४१ लाख रुपैयाँ र अरुण काबेली पावरको ३ करोड ४० लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

यो कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरधनीहरुले धेरै कमाए । यो बैंकको सेयरभाउ ९ प्रतिशतको हाराहारीमा उकालो लागेको छ। कर्णाली डेभलपमेन्ट बैंकको सेयरभाउ पनि ८ प्रतिशत बढीले बढेको छ। 

आज सबैको लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।