काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार पनि सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। 

बजार आज १७.५६ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २०६३.८३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.८८ अंकले बढेर ३९४.८९ को विन्दुमा पुगेको छ। हिजोको तुलनामा कारोबार घटेर आज ३ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। 

नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियार आज बजार बढ्नुले पुस मसान्तको प्रभाव नरहेको प्रस्ट रहेको बताउँछन्। ‘स्वपुँजीबाट लगानीकर्ताहरुले बजारमा लगानी गरेको हुँदा पहिलेजस्तो आत्तिएर बेच्ने प्रवृत्ति हटेको देखिन्छ’, उनले भने, ‘त्यसैले बजार बढ्नलाई सपोर्ट मिलेको छ।’

नवगठित सरकार र अर्थमन्त्रीलगायत सांसदहरु पनि पुँजीबजारमैत्री रहेकोले बजार सकारात्मक बन्दै गएको रौनियारको भनाइ छ।‘माघमा पक्कै पनि ब्याजदर केही घट्नेछ’, उनले भने, ‘रेमिट्यान्स बढ्दै गएको छ। सरकारको विकास खर्च पनि बढ्दै गएको छ।’

त्यसैले अब बजार सामान्य करेक्सन हुँदै माथि नै जाने रौनियार बताउँछन्। 

बजार जानकार निमानन्द कँडेल अहिले बजारमा ठूलो लोनको प्रभाव नदेखिएको बताउँछन्। ‘त्यसैले बजारमा पुस मसान्तको प्रभाव नपर्ने देखिन्छ’, उनले भने, ‘अर्को कुरा सबैतिर महौल सकारात्मक बनेकोले बजार पनि सकारात्मक बन्दै गएको हो।’

बजारमा आज किन्ने र बेच्नेबीच राम्रै बार्गेनिङ भएको कँडेल बताउँछन्। ‘आज केही लगानीकर्ताले प्रफिट बुक गरेको र नयाँ लगानीकर्ताहरु फेरि खरिदका लागि छिरेको देखिन्छ’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ।

यो दिन व्यापार समूह सर्वाधिक ३.५२ प्रतिशतले उकालो लागेको छ। निर्जीवन बीमा समूह ३.०६ प्रतिशतले बढ्दा बैंकिङ समूहमा १ प्रतिशत, विकास बैंक समूहमा १.७४ प्रतिशत, वित्त समूहमा १.२३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.८४ प्रतिशत, जलविद्युत समूहमा १.५२ प्रतिशत, लगानी समूहमा ०.२३ प्रतिशत, जीवन बीमा समूहमा ०.५२ प्रतिशत र लघुवित्त समूहमा १.०८ प्रतिशतको बढोत्तरी भएको छ। 

आज अन्य समूह सर्वाधिक १.५२ प्रतिशतले ओरालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह ०.७१ प्रतिशतले घट्दा म्युचुअल फन्ड समूहमा ०.६२ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २५३ कम्पनीका ८२ लाख ७१ हजार ३५५ कित्ता सेयर २ अर्ब ९६ करोड ९ लाख २७ हजार ४४१ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन नबिल बैंकको सर्वाधिक १६ करोड ८४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको १६ करोड ६४ लाख रुपैयाँबराबरको कारोबार भएको आज एनआईसी एसिया बैंकको ११ करोड १४ लाख रुपैयाँ, नेपाल टेलिकमको ८ करोड ३५ लाख रुपैयाँ, युनिभर्सल पावरको ७ करोड ९२ लाख रुपैयाँ, सिभिल बैंकको ६ करोड ८९ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ६ करोड ५७ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको ६ करोड १२ लाख रुपैयाँ, रिडी पावरको ५ करोड ९७ लाख रुपैयाँ र नेसनल हाइड्रोपावरको ५ करोड ९३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज ४ वटा कम्पनीका सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। धौलागिरी लघुवित्त र श्रृजनशील लघुवित्तको सेयरभाउमा १० प्रतिशत तथा खप्तड लघुवित्त र अजोड इन्स्योरेन्सको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढेर पोजिटिभ सर्किट लागेको हो। प्रभु इन्स्योरेन्सको सेयरभाउ पनि ९ प्रतिशतले बढेको छ। 

यो दिन नेपाल टेलिकमका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ४ प्रतिशत बढीले ओरालो लागेको छ।