-प्रकाश न्यौपाने
काठमाण्डौ । निरन्तर करेक्सनमा रहेको सेयर बजारका विषयमा जानकार तथा विश्लेषकहरुबीच पनि फरक मत देखिएको छ । 

केही जानकार अहिलेको गिरावटलाई ‘स्वभाविक’ भनिरहेका छन् भने कतिपय चाहिँ ‘सोझालाई ट्रयापमा पार्ने जुक्ति’को संज्ञा दिइरहेका छन्।

केही मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि उत्पन्न अन्यौल तथा राजनीतिमा देखिएको सशंयपूर्ण अवस्थालाई हतियारको रुपमा प्रयोग गरी बजारमा कृत्रिम बिक्री चाप सिर्जना गरी सर्वसाधारणलाई फसाउने काम भइरहेको दाबी गर्छन् । कतिपय चाहिँ सरकार परिवर्तनका स्पष्ट संकेतहरु देखिँदा लगानीकर्ताको मनोबल कमजोर भएको र त्यसले नै बजार घटाउन मद्दत गरिरहेको बताउँछन् । 

बजार जानकार मुक्ति अर्याल भावी राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रले कांग्रेसको उम्मेद्वारलाई समर्थन गर्ने विषय बाहिर आएको र यसले वर्तमान सत्ता गठबन्धनमा संकट पैदा गर्ने विश्लेषणका कारण बजार घटेको बताउँछन् । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा अर्थमन्त्री विष्णु पौडेलले लगानीकर्तासँग गरेको वाचा पूरा नहुँदा समेत बजारको मनोबल कमजोर बनेको उनको भनाई छ । गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्रीमा पौडेलको स्थायीत्व नदेखेकै कारण १२ करोडका क्याप नछोएका र सेयर धितो कर्जाको रिस्क वेटेज रेसियोमा समेत अपेक्षित संसोधन नगरेका उनको बुझाई छ । यही कुराको गुत्थी बुझेका लगानीकर्ताले बजारमा बिक्री चाप बढाउँदा नेप्से निरन्तर घटेको बताए । 

बजार जानकार केशव कोइराला(काका) भने अर्यालको तर्कसँग सहमत छैनन् । अहिले बजारलाई अप्राकृतिक ढंगले घटाउने काम भइरहेको उनको दाबी छ । ‘नयाँ सरकार गठनपछि प्राकृतिक रुपले बढ्न थालेको बजारमा अर्थमन्त्रीलाई देखाएर तीव्र गतिमा बढाई टपमा लगेर नयाँ लगानीकर्तालाई फसाइयो ।’ उनले भने–‘अहिले तरलतामा लगातार सुधार भइरहेको छ, ब्याजदर पनि घट्ने क्रममा छ । तर, सहज अवस्थामा समेत मौद्रिक नीति र सरकार परिवर्तन लगायतका हाउँगुजी देखाएर पहिला जसले बढाउन हल्ला फिजाए, तिनैले लगानीकर्तालाई बेच्न स्टपलसका लागि उर्दी जारी गरी बजार घटाइँदैछ । यो गलत भइरहेको छ ।’ 

उनको विश्लेषणमा खेलाडीहरुले चाहेर पनि अब बजार धेरै घट्दैन । उनले आत्तिहाल्नुपर्ने अवस्था नरहेको उल्लेख गर्दै लगानीकर्तालाई संयम बन्न आग्रह समेत गरेका छन् । 

अर्का बजार जानकार सरोज भट्टराई वर्तमान सत्ता गठबन्धन टुट्ने डरमा लगानीकर्ताले सेलिङ प्रेसर दिंदा बजार घटेको दाबी गर्छन् । ‘राष्ट्रपति पनि कांग्रेसको पोल्टामा जाने र एमाले सरकारबाट बाहिरिने डर लगानीकर्तामा देखिन्छ । यसकारण अधिकांश लगानीकर्ता पर्ख र हेरको रणनीतिमा छन् ।’ उनले भने–‘यो अन्यौल राष्ट्रपतिको चुनावपछि हटेर जानेछ । अहिले तरलता बढ्दैछ, ब्याजदर घट्दैछ । राजनीतिमा पनि सहज अवस्था बनेपछि बजार बढ्छ । लगानीकर्ता प्यानिक हुनुपर्ने अवस्था हुँदै होइन ।’