काठमाण्डौ । सेयर बजार बुधबार पनि ओरालो लागेको छ। 

बजार आज ९.१८ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक १८५७.२३ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.१९ अंकले घटेर ३५५.८३ को विन्दुमा ओर्लेको छ। कारोबार रकम हिजोको तुलनामा घटेर ६२ करोड रुपैयाँको मात्रै भएको छ। 

बजार जानकार निमानन्द कँडेल अहिले चरम बियरिस अवस्था रहेको बताउँछन्। ‘सामान्य लगानीकर्ता आत्तिएर सेयर बेच्दा बजार निरन्तर ओरालो लागिरहेको छ’, उनले भने, ‘किनकि हरेक बियरिसमा सामान्य लगानीकर्ता डराउने र सेयर बिक्री गर्दै जाने अवस्था थियो र अहिले पनि त्यही देखिएको छ।’ 

अहिले सामाजिक सञ्जालमा सरकार फेरबदल हुन सक्ने हल्ला चलेकोले पनि बजार प्रभावित कँडेल बताउँछन्। 

यतिबेला सरकार र राष्ट्र बैंकले बजार उकास्ने गरी राम्रो नीति ल्याउनुपर्ने कँडलले बताए। ‘त्यसो गरेमा बजारले माथिल्लो लय समात्छ’, उनले भने।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटामा हरियाली छाएको छ भने ११ वटा समूहमा रातो पोतिएको छ। 

यो दिन म्युचुअल फन्ड समूह ०.१९ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूहमा ०.०१ प्रतिशतको बढोत्तरी भएको छ। 

आज होटेल तथा पर्यटन समूह सर्वाधिक १.४८ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह १.२४ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.१६ प्रतिशत, विकास बैंक समूहमा ०.२३ प्रतिशत, वित्त समूहमा ०.७९ प्रतिशत, लगानी समूहमा ०.१४ प्रतिशत, जीवन बीमा समूहमा ०.६४ प्रतिशत, लघुवित्त समूहमा ०.६५ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.१७ प्रतिशत, अन्य समूहमा १.०५ प्रतिशत र व्यापार समूहमा ०.१८ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेप्सेमा सूचीकृतमध्ये २६५ कम्पनीका १ लाख ५५ हजार ५८६ कित्ता सेयर ६२ करोड २६ हजार १७ रुपैयाँमा किनबेच भएका छन्। 

आज शिवम सिमेन्टको सर्वाधिक ३ करोड ५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको २ करोड ५६ लाख रुपैयाँबराबरको कारोबार हुँदा हिमाल दोलखा हाइड्रोपावरको २ करोड २९ लाख रुपैयाँ, कुमारी बैंकको १ करोड ६४ लाख रुपैयाँ, नबिल बैंकको १ करोड ३७ लाख रुपैयाँ, नेपाल टेलिकमको १ करोड ३४ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १ करोड २५ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकको १ करोड १२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १ करोड ४ लाख रुपैयाँ र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको १ करोड १ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज आत्मनिर्भर लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यो लघुवित्तको सेयरभाउ ६ प्रतिशत बढीले उकालो लागेको छ।

यो दिन सान्जेन जलविद्युत, मन्दाकिनी हाइड्रोपावर र सगरमाथा जलविद्युतका सेयरधनीहरुले धेरै गुमाए। यी सबै कम्पनीको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।