काठमाण्डौ । सेयर बजारमा बुधबार भारी अंकले उकालो लागेको छ।

बजार आज अन्तिम १ घन्टाको समयमा उकालो लागेको हो। सुरुआती चरणमा घटेको बजार अन्तिम समयमा ४१.०६ अंकले बढेर २०६०.९१ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.४८ अंकले बढेर ३९३.०५ को विन्दुमा पुगेको छ। कारोबार रकम पनि हिजोको तुलनामा बढेर १ अर्ब ८८ करोड रुपैयाँको भएको छ। 

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल आजको बढाइलाई स्वाभाविक रुपमा लिनुपर्ने बताउँछन्। ‘बजार मौद्रिक नीति आएदेखि नै घटिरहेको थियो, आज बढ्यो, यसलाई सामान्य रुपमा लिनुपर्छ’, उनले भने, ‘तर, यसअघिको बजारको घटाइ अप्राकृति हो। त्यो प्राकृतिक थिएन।’

तरलता सहजै रहेकोले पनि बजार लयमा फर्किएको ढकाल बताउँछन्। ‘स्मार्ट लगानीकर्ताहरु पनि बजारमा फर्किएका छन्’, उनले भने, ‘त्यसैले बजार अब आफ्नो लयमा फर्किने आशा गर्न सकिन्छ।’

बजार जानकार निमानन्द कँडेल बजारको राम्रो बाउन्स ब्याक भएको बताउँछन्। ‘यसले लगानीकर्ताको मनोबल बढ्न थालेको अनुमान गर्न सकिन्छ’, उनले भने। 

बैंकहरुको रिपोर्ट पनि सन्तुलित नै आएको उल्लेख गर्दै कँडलले अब लाभांशको पनि सिजन सुरु भएकोले बजार लयमा फर्किने बताए। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामात्रै रातो पोतिएको छ। 

यो दिन व्यापार समूह सर्वाधिक ३.६२ प्रतिशतले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह ३.५० अंकले बढ्दा बैंकिङ समूहमा ०.९६ प्रतिशत, विकास बैंक समूहमा २.५१ प्रतिशत, वित्त समूहमा ३.३८ प्रतिशत, जलविद्युत समूहमा २.८८ प्रतिशत, लगानी समूहमा १.७३ प्रतिशत, जीवन बीमा समूहमा ३.१५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.५४ प्रतिशत, लघुवित्त समूहमा १.४ प्रतिशत, निर्जीवन बीमा समूहमा २.९६ प्रतिशत र अन्य समूहमा २.९६ प्रतिशतको बढोत्तरी भएको छ। 

आज म्युचुअल फन्ड समूहमध्ये ०.४१ प्रतिशतले ओरालो लागेको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २६५ कम्पनीका ५० लाख १० हजार ७१६ कित्ता सेयर १ अर्ब ८८ करोड ८३ लाख २६ हजार ४७० रुपैयाँमा कारोबार भएको छ। 

यो दिन आइएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक १५ करोड ५० लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको ८ करोड ४७ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल रिपब्लिक मिडियाको ७ करोड ५५ लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको ५ करोड ३८ लाख रुपैयाँ, सोल्टी होटेलको ५ करोड ३४ लाख रुपैयाँ, अपर तामाकोशीको ४ करोड ४४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ४ करोड ४२ लाख रुपैयाँ, एभरेस्ट बैंकको ४ करोड ४१ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ४९ लाख रुपैयाँ र सीईडीबी हाइड्रोपावरको ३ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज ३ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। हिमालयन लघुवित्त, सुपर मादी हाइड्रोपावर र मनकामना स्मार्ट लघुवित्तको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढोत्तरी भएर पोजिटिभ सर्किट लागेको हो। मन्दाकिनी हाइड्रोपावरको सेयरभाउमा ९ प्रतिशत बढीले उकालो लागेको छ। 

यो दिन लक्ष्मी लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ८ प्रतिशत बढीले ओरालो लागेको छ।