काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार पनि सेयर बजार ओरालो लागेको छ। 

बजार आज १०.८६ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक १८४७.७० को विन्दुमा झरेको हो। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.१९ अंकले घटेर ३५७.७६ को विन्दुमा आर्लेको छ। कारोबार रकम पनि १ अर्ब रुपैयाँ मुनि नै रहेको छ। 

बजार जानकार सरोज भट्टराई बजार लगातार घट्नुमा विभिन्न कारण रहेको बताउँछन्। ‘अहिले मन्दीको प्रभाव परेको छ। सञ्चार माध्यमहरुमा पनि लगातार मन्दीको प्रभावबारे समाचारहरु आइरहेका छन्’, उनले भने, ‘यसले पनि बजार घटेको हो।’

अर्को कारण भने बजारमा सेयरको सप्लाई बढी हुनु रहेको भट्टराईको तर्क छ। ‘आईपीओ र हकप्रदको फ्लो बढ्नुले पनि बजार प्रभावित बनेको छ’, उनले भने। 

ठूलो लगानी अब तिहारपछि मात्रै आउने सम्भावना रहेको भट्टराईको भनाइ छ। ‘त्यसैले बजारमा पनि तिहारपछि सुधार हुन सक्छ’, उनले भने। 

आज बजार १८५० भन्दा तल झरेकोले लगानीकर्ता डराएको हुन सक्ने भट्टराईको बुझाइ छ। ‘ब्याजदर खासै नघट्नु र एफडीमा राम्रो ब्याज पाउनुले पनि बजारमा पैसा आउन सकेको छैन’, उनले भने। 

अहिले दीर्घकालीन लगानीका लागि भने उपयुक्त अवसर रहेको भट्टराईको सुझाव छ।

अर्का बजार जानकार निमानन्द कँडेल बजार लगातार घट्नुको मुख्य कारण लगानीकर्ताको मनोबल बढ्न नसक्नु नै रहेको बताउँछन्। ‘बजारमा माग सिर्जना गर्ने काम भएन, सप्लाईमात्रै बढाउने काम भयो’, उनले भने, ‘अब धितोपत्र बोर्ड र राष्ट्र बैंकले नीति सहज बनाएर बजार सुधारका लागि पहल गर्नुपर्छ।’ 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटामा हरियाली छाएको छ भने बाँकी ११ वटामा रातो पोतिएको छ। 

यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ४.२७ प्रतिशतले उकालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह पनि ०.०७ प्रतिशतले बढेको छ। 

आज म्युचुअल फन्ड समूह सर्वाधिक ४.६३ प्रतिशतले ओरालो लागेको छ। व्यापार समूह ३.०५ प्रतिशत घट्दा, जलविद्युत समूह १.१० प्रतिशत, बैंकिङ समूहमा ०.८८ प्रतिशत, विकास बैंक समूहमा ०.३५ प्रतिशत, वित्त समूहमा १.०५ प्रतिशत, लगानी समूहमा ०.२६ प्रतिशत, जीवन बीमा समूहमा ०.३९ प्रतिशत, लघुवित्त समूहमा ०.७३ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.९४ प्रतिशत र अन्य समूहमा ०.६७ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २८१ कम्पनीका ३७ लाख ४९ हजार ९५४ कित्ता सेयर ९६ करोड ४४ लाख ७७ हजार ७११ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन आशा लघुवित्तको संस्थापक सेयरको सर्वाधिक १० करोड १० लाख रुपैयाँ बढीको कारोबार भएको छ। प्राइम कमर्सियल बैंकको ६ करोड ४५ लाख रुपैयाँबराबरको कारोबार भएको आज सोनापुर मिनरल्सको ४ करोड ४९ लाख रुपैयाँ, सोल्टी होटेलको २ करोड ७९ लाख रुपैयाँ, हाथवे इन्भेस्टमेन्टको २ करोड ६४ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सको २ करोड ४० लाख रुपैयाँ, नबिल बैंकको २ करोड ११ लाख रुपैयाँ, एसटीसीको २ करोड ७ लाख रुपैयाँ, तारागाउँ रिजेन्सी होटेलको १ करोड ५३ लाख रुपैयाँ र सूर्यज्योति लाइफ इन्स्योरेन्सको १ करोड ५३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज चन्द्रागिरी हिल्सका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशत बढीले उकालो लागेको छ। 

यो दिन सयपत्र हाइड्रोपावरका सेयरधनीहरु सर्वाधिक गुमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ।