काठमाण्डौ । धितोपत्र कारोबार मापक नेप्से परिसूचकको उकालो गतिसँगै दैनिक कारोबार रकमले समेत निकै दरिलो साथ दिइरहेको छ। 

सेयर बजार उकालो लागेसँगै पुराना लगानीकर्ताले आफूसँग भएको सेयर होल्ड गर्ने र नयाँ लगानीकर्ता तथा संस्थागत लगानीकर्ताको उत्साहपूर्ण प्रवेशले समेत बजार गुल्जार भइरहेको छ। ‘विगत सातादेखि नै निरन्तर बढ्दो क्रममा बजार बन्द भइरहेको छ। जसका कारण बुलिस क्यान्डलमा यो हप्ता स्पाइनिङ टप ग्रिन क्यान्डल बनाएको छ’, सेयर बजार प्राविधिक विश्लेषक अशोककुमार शाह भन्छन्, ‘बुल र बियरबीचमा बुल नै हावी छ। रातो भएको भए लगभग करेक्सन आउँथ्यो, त्यसैले अब बजार बढेर नै जान्छ।’

बजार यो साता पनि माथि नै जाने देखिएको दाबी गर्दै शाह होटेल समूहबाहेक अन्य समूह बुलिस नै रहेको बताउँछन्। बजारको सूचक र उपसमूहको सूचक करेक्सन गएको खण्डमा त्यसलाई खरिदको अवसरका रुपमा लिइनुपर्ने उनको बुझाइ छ।

यो साता बजारमा अब स्पानिङ टपभन्दा तल आए वियरिस क्यान्डल बन्दछ। जसले बजार केही समय करेक्सनमा जान सक्ने तर बुलिस क्यान्डल बन्यो भने अर्थात् यो हप्ता बुलिस क्यान्डल बनेमा बजार निरन्तर उकालो नै लाग्ने विश्लेषक शाह दाबी गर्छन्। ‘माथिल्लो ‘पिभोट रेसिस्टेन्स १’ २५२० मा प्रफिट बुकिङ देखियो, सपोर्टिङ बाइङ सपोर्ट २३६६ मा छ’, उनले भने, ‘पिभोट सपोर्ट चाहिँ २३०७ देखिन्छ।’ 

जनवरी ३१ मा लो बनाएको नेप्से २३६६ मा रहेकोमा आगामी दिनमा स्विङ सपोर्ट रहने जिकिर गरेका शाह अर्को पिभोट सपोर्ट २३०७ रहेको बताउँछन्। सपोर्टलाई टेस्ट गर्नेभन्दा आर १ मा प्रफिट बुक देखिने उनले बताए। 

बुलहरु हावी हुनसके बजार २६७३ अर्को रेसिस्टेन्स २ देखिएको शाहको ठहर छ। बजार समग्रमा बुलिस सेन्टिमेन्टमै रहेको उनी सुनाउँछन्।

बजारको प्राइमरी तथा सेकेन्डरी ट्रेन्ड स्पष्ट रुपमा बुलिस रहेको दाबी गर्दै विश्लेषक शाहले माइनर ट्रेन्ड पनि बुलिस नै कायम रहेको बताए। दैनिक चार्टमा लोअर फ्र्याक्टल बनाएको बताउँदै उनले लोअर फ्र्याक्टल तथा ३ इन्साइड अप क्यान्डिल स्टिक प्याट्रन बनाएको बताउँछन्। ‘दुवैले मार्केट चाहिँ माथि नै धकेल्ने गर्दछ’, उनले भने, ‘२३६६ भन्दा माथि बजार रहँदासम्म छोटो टार्गेट बजार बुलिस नै रहन्छ।’

बैंकले तत्काल स्विङ सपोर्ट १६८२ देखाएको दाबी गर्दै शाह स्विङ सपोर्ट रेसिस्टेन्स १७८२ रहेको बताउँछन्। बैंकिङले पनि नेप्सेसरह लोअर फ्र्याक्टल बनाएको दाबी गरेका उनले बजारलाई माथि धकेल्ने बताए। ‘बैंकिङको दैनिक चार्टमा बोलिगंर ब्यान्ड सिक्विज भइरहेको छ’, शाह थप्छन्, ‘जसले चाहिँ चाँडै नै ब्रेक आउट गर्ने सम्भावना बढाएको छ। बैंकको आरएसआई ६० भन्दा तल झरेको र निकट समयमै बलियो मुभ हुने अनि खरिदको अवसर हाल भइरहेकाले अहिले बैंकका सेयर अझै अन्डरभ्यालुड रहेको देखिन्छ।’

जलविद्युतको प्राइमरी र सेकेन्डरी माइनर ट्रेन्ड बुलिस नै रहेको बताउँदै शाहले सूचक २७७९ उन्मुख रहेको र अर्को टार्गेट २०४२ उन्मुख गइरहेको जिकिरसमेत गरे। मध्यकालीन टार्गेट २७७९ रहेको उनले बताए।

हाल साइडवेजमा रहेको होटलमा प्राइमरी ट्रेन्ड साइडवेज रहेको उल्लेख गर्दै विश्लेषक शाह २२०० इन्डेक्स माथि बन्द भएमा अपसाइडमा मुभमेन्ट आउने तर्क गर्छन्। होटलको सूचक १८५० तल ब्रेक गरे वियरिसमा जाने उनले प्रक्षेपण गरे।

प्राइमरी, सेकेन्डरी र माइनर ट्रेन्ड बुलिस नै रहेको जीवन बीमा समूहमा प्रफिट बुकिङ देखिएको शाहले बताए। साप्ताहिक स्पाइनिङ टप बनाएकोले इनडिजिसन (अलमल) देखिएको र यो साता क्यान्डलले अझ थप प्रस्ट पार्दै त्यसपछि मात्र आँकलन गर्नसक्ने शाहले बताए। निर्जीवन बीमा समूहको चाहिँ साप्ताहिकमा पनि स्पाइनिङ टप बनाएको र करेक्सनको सम्भावना रहेको विश्लेषक शाहको दाबी छ।