काठमाण्डौ । लगातार ९ दिन बढेको सेयर बजारमा मंगलबार झिनो करेक्सन आएको छ। 

बजार आज २.९४ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २०९१.३९ को विन्दु्मा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने १.८२ अंकले बढेर ३९२.३८ को विन्दुमा पुगेको छ। कारोबार रकम पौने ५ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। 

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट धेरै दिन बढेको बजारमा सामान्य करेक्सन भएको बताउँछन्। ‘यो भनेको नाफा बुक नै हो’, उनले भने। 

आज कारोबार पौने ४ अर्ब रुपैयाँको हाराहारीमा हुनुले बजार मजबुत बन्दै गएको मान्न सकिने पनि बिष्टको भनाइ छ। ‘सेक्टर रोटेसन गर्दै बजार चलेको छ’, उनले भने, ‘अब ठूलो करेक्सन भनेको अझै केही अंक बढेपछि मात्र आउन सक्छ।’

बजार जानकार प्रकाश रजौरे आज सामान्य करेक्सन भए पनि बजार मजबुत नै रहेको बताउँछन्। पछिल्लो समय तरलता बढ्दै जानु र राष्ट्र बैंक पनि केही नरम बन्दै जाँदा बजार बढ्न थालेको उनको भनाइ छ। ‘अर्थमन्त्री पनि पुँजीबजारप्रति सकारात्मक छन्’, उनले भने, ‘जसका कारण लगानीकर्ताको मनोबल बढेको छ।’

प्राविधिक रुपमा इलिअट वेभको वेभ–५ बाँकी नै रहेको बजार २२६० भन्दा माथि नै जाने रजौरेको अनुमान छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटामा हरियाली छाएको छ भने ८ वटामा रातो पोतिएको छ। 

यो दिन वित्त समूह सर्वाधिक ५.२२ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह ३.४९ प्रतिशतले बढ्दा लगानी समूहमा ३.०८ प्रतिशत, म्युचुअल फन्ड समूहमा ३.२३ प्रतिशत र अन्य समूहमा २.१७ प्रतिशतको बढोत्तरी भएको छ। 

आज निर्जीवन बीमा समूह सर्वाधिक २.४८ प्रतिशतले ओरालो लागेको छ। जीवन बीमा समूह १.६७ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.६७ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.६१ प्रतिशत, जलविद्युत समूहमा ०.७४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.९५ प्रतिशत, लघुवित्त समूहमा ०.७५ प्रतिशत र व्यापार समूहमा ०.४६ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २७६ कम्पनीका १ करोड २९ लाख ७५ हजार १६८ कित्ता सेयर ४ अर्ब ७४ करोड ६ लाख ८ हजार ८८० रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन शिवम सिमेन्टको सर्वाधिक २९ करोड ८२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल टेलिकमको १८ करोड १३ लाख रुपैयाँबराबरको कारोबार भएको आज सोल्टी होटेलको १७ करोड ८९ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १७ करोड २० लाख रुपैयाँ, एचआईडीसीएलपीको १२ करोड ८२ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १२ करोड ६४ लाख रुपैयाँ, नागरिक लगानी कोषको १२ करोड ५ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ११ करोड ८१ लाख रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ९ करोड ८१ लाख रुपैयाँ र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ८ करोड ४३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज ५ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। सेन्ट्रल फाइनान्स र माउन्टेन इनर्जीको सेयरभाउमा १० प्रतिशत तथा बिपिडब्लू लघुवित्त, मेन्छियाम हाइड्रोपावर र सिटी होटेलको आईपीओमा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको हो। मरक जितुमाया सुरी हाइड्रोपावर र लुम्बिनी विकास बेंकको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ। 

यो दिन युनिक नेपाल लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ।