काठमाण्डौ । हिजोआज धितोपत्रको दोस्रो बजारमा दैनिकजसो गिरावट आइरहेको छ । 

छोटो समयमै १६ सय विन्दू पार गरिसकेको नेप्से परिसूचकमा २० प्रतिशतको करेक्सन आइसकेको छ । 

दिनानुदिन घटिरहेको बजारमा विश्वव्यापी महामारीको संकट बनेको कोरोना भाइरसले सेयर बजारलाई पनि असर पार्ला कि भनेर नै लगानीकर्ता हच्किएको पाइन्छ र सोही मनोविज्ञान हाबी हुँदा प्यानिक सेल हाबी भइरहेको देखिएको हो । 

सरकारले आफ्नातर्फबाट कोरोनाको प्रभाव रोक्न सावधानीहरु समेत पहल गरिसकेको मात्रै छैन कि सीमावर्ती क्षेत्रमा समेत नाकाहरुमा सतर्कता अपनाइएको छ। 

कोरोना भाइरस सर्वप्रथम फैलिएको चीन कोरोनामुक्त घोषणा भइसकेको छ यद्यपि यो महामारी केही समयका लागि हो भन्ने कुरा चाहिँ हामी बिर्सिरहेका छौ । 

विश्व नै लडिरहेको यो महामारी रोकथाममा नेपालमा भने प्रवेश नै नगर्दा समेत बिदेशी च्यानल र समाचार हेरेरै डरले ग्रसित समेत छन् । 

यता, सेयर बजारका लगानीकर्ताहरुमा भने कोरोना भाइरसकै कारण  बजार अझै घट्ने मनस्थिति पलाइरहेको र यो प्रवृति नयाँ लगानीकर्ताहरुमा भएको अपरिपक्वता र अधैर्यताकै परिणाम भएको जानकारहरु बताउँछन् । 

नेप्से परिसूचकमा गएको भारी गिरावटले आम लगानीकर्ताको समेत मनोबल झरेको छ । यसै सन्दर्भमा हामीले सेयर बजार सम्बद्ध पक्षले चाहिँ हालको बजार गिरावटलाई कसरी नियालिरहेका छन् भन्ने विषयमा जान्ने कोशिश गरेका छौ । 

स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष भरत रानाभाट बजार घट्ने कुनै कारण नभएको दाबी गर्छन् । 'कोरोना त्रासकै कारण लगानीकर्ता धेरै आत्तिएर अन्धाधुन्ध बिक्री गर्ने प्रवृतिको कारण हाल बजार घटेको हो ।' उनले भने-'अहिले घट्दो मार्केट छ यो बेलामा किन्नेले कमाउने निश्चित छ । कोरोनाले त अरु सेक्टर पनि ध्वस्त होला नि हैन तर हाम्रा अपरिपक्व लगानीकर्ता र संस्थागत लगानीकर्ताको कमीले नै बजारमा निकै उतारचढाव आएको हो।'

'इन्डियन न्यूज च्यानल र सेयर बजारसङ्ग सम्बन्धित फेसबूक ग्रूपमा जथाभावी लेख्ने भ्रमात्मक कुरा लेख्ने गर्दा बजार  अस्वभाविक भइरहेको छ ।' फेसबूकमा पोस्ट गर्दा निकै सम्यम हुन आग्रह गर्दै  नेगेटिभ विषयले कैयौं लगानीकर्ताको करोडौं सम्पत्तिमा धक्का पुग्ने भएकाले जथाभावी लेख्नेलाई नियमनको खाँचो रहेको उनले जोड दिए।

नेपालमा एउटा पनि संक्रमण नभएको, तर कोरोनाकै हौवा पिट्दा बजार घटेको हुनसक्ने दाबी गर्ने सेयर लगानीकर्ता संघका उपाध्यक्ष तारा प्रसाद फूल्लेल भन्छन् -'किन्नेले हिम्मत गरेरै किनिरहेका छन्।'

नयाँ लगानीकर्ता जसले अनलाइन युजर लिएर समेत सेयर कारोबार गरिरहेकामा भएको बेचैनी र अधैर्यताकै कारण बजारमा अत्यासलाग्दो पहिरो गएको नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष तुलसीराम ढकालले आरोप लगाए। पुराना लगानीकर्ताले अहिले सेयर उठाइरहेको जिकिर गर्दै उनले भने -'कोरोना त्रासकै कारण बजारले करेक्सन र गिरावटको सामना गरिरहनु परेको छ। अब घट्ने कारण छैन। नयाँ लगानीकर्तामा भएको अपरिपक्वपन र अधैर्यताले नै बजार घटेको उनको बुझाइ छ। बजार सुधार हुन्छ उनले ठोकुवै गरेर भने,आज बेच्नेले आफ्नै खुट्टामा बञ्चरो हानेका हुन् ।' 

दवाब समूहका अध्यक्ष हरि ढकाल बजारमा अनावश्यक हल्ला र त्रासले बजार घटेको जिकिर गर्दै भन्छन्-'विश्वमा विविध कारण दैनिक एकलाख ५१ हजार मानिस मर्छन ,कोरोनाकै कारण आतकिंत हुनुपर्ने अवस्था छैन।' कोरोना भाइरसकै कारण लगानीकर्ता भ्रमित भइरहेकोमा भने ढकाल छक्क परेका छन रे। '१५ दिनअघि मच्ची मच्ची किन्नेले अहिले पुनः मच्ची मच्ची बेचिरहेका छन् । अहिले किन बेचेका हुन् । यति धेरै भयभित किन र केका लागि ?'- उनले प्रश्न  तेर्साए। 

यही साताको अन्ततिर ढकाल सरकारको ढोका घचघच्याउन जाने उल्लेख गर्दै सरकारले रेस्क्यू गर्नुपर्ने भन्दै पहल गर्ने उनले बताए । भ्रमका पछाडि लागेर अहिले सस्तोमा घाटामा सेयर फाल्नु आफ्नै खुट्टामा बञ्चरो हान्नुसरह भएको उनको ठम्याइँ छ। बजार सरकारको सम्बोधनको तीव्र पर्खाइमा रहेकाले अर्थ मन्त्रालयको उनी ध्यानाकर्षण गराउँछ्न्।

सेयर कारोबारी हरेराम घिमिरेका अनुसार लगानीकर्तामा कोरोनाकै त्रासले बजारको गिरावट नरोकिएको हो। 'यो बेला संस्थागत लगानीकर्ता भने धमाधम सेयर उठाइरहेका छन्, तर कोरोनाले आत्तिएर अधैर्य भएका नयाँ लगानीकर्ता भने घाटामै सेयर बेचेकाले आवेशमा नआउन' उनले सुझाव दिए । 'महामारी केही क्षणका लागि हो सधैंलाई हुँदै हैन ।' उनले भने-'करेक्सन भइरहेका बेला अहिले किन्ने सुअवसर हो।'