काठमाण्डौ । बजारमा ‘अशुभ संकेत’ देखिएको छ । बजार मापक नेप्से परिसूचक सोमबार पनि दोहोरो अंकले घटेको छ भने कारोबार रकम पनि प्रत्येक दिन घट्न थालेको छ ।
बजेट सार्वजनिक भएपछिको कारोबार दिनमा नेप्से सामान्य अंकले बढे पनि कारोबार रकममा भने उछाल आएको थियो । बजारले राम्रै गति लिने अपेक्षाविपरीत बजेटपछि बजार निरन्तर घटिरहेको छ ।
सोमबार नेप्से परिसूचक १२.८४ अंकले घटेर १२९२.८४ अंकमा सीमित बन्न पुगेको छ । लामो समयदेखि १३०० माथिको विन्दूमा घुमिरहेको बजार फेरि १२०० कै लाइनमा झरेसँगै कारोबार रकम पनि घट्दै जाँदा बजारमा फेरि गिरावटको यात्रा सुरु भएको हो कि भन्ने भान पर्न सक्छ । तर, बजारको यो प्रवृति केही दिनसम्म निरन्तर रहे मात्र सोच्न आवश्यक छ । दुई दिनको नेप्सेको गिरावट र समानान्तर ढंगले घटिरहेको कारोबार रकमकै आधारमा बजारमा गिरावट यात्रा सुरु हुन थाल्यो भन्नु बुद्धिमता हुँदैन ।
बजारमा पछिल्लो समय पूँजीगत लाभकरको हल्ला फैलाएर लगानीकर्तालाई तर्साउने प्रयास भइरहेको छ । बजेटमा आएका पूँजीबजारमैत्री नीतिहरुको समेत अपव्याख्या गरी बजारमा खेल्ने गिरोहहरुको कुनै कमी छैन । यस्तो बेलामा लगानीकर्ताहरु बजेटबाट भएका कतिपय व्यवस्थाका अन्यौल मौद्रिक नीतिबाट प्रष्ट होस् भन्ने चाहना राखिरहेका देखिएको छ । यसकारण समेत कतिपय मौद्रिक नीतिको प्रतिक्षामा 'पर्ख र हेर'को रणनीतिका साथ बसिरहेका छन् । यस्तो प्रवृतिले पनि बजार घटाउन मद्धत गरिरहेको विश्लेषकहरु बताउँछन् ।
के-के भयो सोमबार ?
साताको दोश्रो कारोबार दिन सोमबार सबै समूहको उपसूचकमा रातो पोतियो । राम्रा कम्पनीमा बिक्री चाप देखिँदा सेन्सेटिभ इण्डेक्स २.६४ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.९३ अंकको गिरावट आयो ।
यो दिन बैंकिङ समूह ११.०७ अंकले घट्यो । विकास बैंक समूहमा १३.५८ अंकको गिरावट आएको यो दिन वित्त समूहमा ५.२६ अंक, माइक्रोफाइनान्स समूहमा १२.५१ अंक, जीवन बिमा समूहमा ५४.७३ अंक, निर्जीवन बिमा समूहमा ६७.६४ अंक, म्युचुअल फण्ड समूहमा ०.१४ अंकको गिरावट आयो ।
होटल समूह २३.६३ अंके घटेको यो दिन ट्रेडिङ समूहमा २.६२ अंक, जलविद्युत समूह १९.०४ अंक, उत्पादन तथा प्रशोधन समूह ५४.७८ अंक र अन्य समूह ४.०१ अंकले घटे ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७१ कम्पनीका २१ लाख ७६ हजार ३७० कित्ता सेयर ६९ करोड ८७ लाख ३९ हजार ७०६ रुपैयाँमा किनबेच भयो ।
सबैभन्दा बढी एनआइसी एशिया बैंकले ९ करोड ६ लाख बढीको कारोबार गर्यो । यो बैंकको विषयमा केही गलत हल्ला फैलिएका कारण बजार खुलेपछि बिक्री गर्ने बढी देखिए । तर, हल्लाको आधारहरु नभएको समाचारहरुले बजारको उतराद्र्धमा बिक्री गर्ने घटेका थिए ।
शिवम सिमेन्टले यो दिन ६ करोड ७ लाख बढीको कारोबार गर्यो । प्रभू बैंकले ५ करोड ५ लाख, नेपाल बैंकले ३ करोड ५७ लाख, प्रिमियर इन्स्योरेन्सले ३ करोड ३० लाख, अपर तामाकोशीले ३ करोड ८ लाख, तारागाउँ रिजेन्सी होटलले ३ करोड ८ लाख, कृषि विकास बैंकले २ करोड ६७ लाख, एनसीसी बैंकले १ करोड ९५ लाख बढीको कारोबार भएको बजारमा नवील बैंकको १ करोड ६६ लाख बढीको संस्थापक सेयर समेत किनबेच भयो ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सयर मूल्य ७.५० प्रतिशतले बढ्यो ।
पाँचथर पावर कम्पनीको तीव्र गिरावटको यात्रा सोमबार पनि जारी रह्यो । यो कम्पनीको सेयर मूल्यमा ९.५२ प्रतिशतले गिरावट आई प्रतिकित्ता १३३ रुपैयाँमा सीमित बन्न पुग्यो ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago