-अर्जुन तिमल्सिना

स्कूलतिर पढे र सुने जस्तो लाग्छ–‘टालाटुली  बटुली, कति राम्री पुतली’ । यो बर्षको  मौद्रिक नीति यस्तै किसिमले आयो ।  यताउता टालटुल पारेर झारा टार्ने खालको नीति आयो । यो नीतिबाट कोही पनि सन्तुष्ट भएको भेटिएन । 

शेयर बजारले त नकारात्मक बाटो लियो । 

त्यसो त मौद्रिक नीति आएको भोलिपल्टै हरेक साल यस्तै हुन्छ, एकै दिनको कारोबार हेरेर बजारमैत्री भएन भन्नु अलि हतारो नै हुन्थ्यो । 

सेयरबजार सम्बन्धी धेरै कुरा बजेट र अघिल्लो सालको अर्धवार्षिक समीक्षाबाट सम्बोधन भइसकेकाले पनि पुनः तिनै कुरा दोहोर्याउने कुरा भएन । 

नीति सुन्दा र खोज्दा शेयर बजार सम्बन्धमा खासै केही नभेटेर लगानीकर्तामा संशय पैदा हुनु स्वभाविक नै हो । महिनौसम्म सरोकारवालासँगको छालफल र राष्ट्रबैंक र अर्थ मन्त्रालयमा भएको घनिभूत बहसले पनि  मौद्रिक नीति न रास्ट्रबैंकले चाहे जस्तो न अर्थमन्त्रालयले भने जस्तो नै आयो । 

होटेल र्याडिसनमा कतै गभर्नरको हातखुट्टा बाँधेर मौद्रिक नीति पढ्न लगाइएको त होइन ? भन्ने आशंका समेत लगानीकर्तामा छ । 

नीति आउनु पहिले ‘बिग मर्जर’ र ‘फोर्स  मर्जर’को बिषयले ठूलो चर्चा पाउनु र पछि केही नबोल्नुले कतै उच्च तहमा (प्रधानमन्त्री कार्यालय)मा नै लबिङ्ग त भएन ? भनी शंका गर्नेहरु पनि भेटिए । 

बाहिर बसेर हेर्नेले त यो मौद्रिक नीति कुन लिङ्गको भनेर छुट्याउने आधार भेटेनन् भने यस्तो नीतिका कारण सोझा लगानीकर्ता अलमलमा पर्नुलाई अस्वभाविक लिनुहुन्न । तर बजारलाई नकारात्मक असर गर्ने खासै केही देखिन्न पनि । 

बजारमा अर्को हल्ला आउन थालेको छ– ‘ठूला लगानीकर्ता निस्किन थाले’ भन्ने । यो गलत अफबाह हो र स्यालहुँइया चलाएर कुखुरो छोप्ने चालबाहेक अरु केही पनि हुनसक्दैन । 

जहाँसम्म डिबेन्चर निस्कासनको कुरा छ विगतमा धेरै कम्पनीले डिबेञ्चर निश्कासन गरेकै हुन् । 

बजारमा शेयर लगानीकर्ता र डिवेञ्चरका लगानीकर्तामा फरक छ । कोही पनि पनि व्यक्तिगत लगानीकर्ताले  डिबेन्चरमा  लगानी गर्दैन किनकि प्रायजसो नेपालमा डिबेन्चरको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिने हुँदा त्यति नै बराबरको ब्याज अन्यत्रबाट त्रैमासिक पाइने हुँदा डिबेन्चरमा आकर्षण नभएको र अब पनि हुँदैन । 

यो बिषय लगानीकर्ताले गम्भीर रुपमा सोच्नु आवश्यक छ । यसैलाई आधार मानेर अहिले हतारमा शेयर बेच्नु बुद्धिमानीको काम हुनसक्दैन, भलै किन्ने र बेच्ने अधिकार हरेक लगानीकर्ताको आफ्नो निजी हुन्छ । 

खासगरी डिवेञ्चर ठूला संस्थागत लगानीकर्ताले किन्ने हो । यसमा  कर्मचारी सञ्चय कोष र नागरिक लगानीकोषको  आकर्षण हुनसक्छ  । यसले केही हदसम्म तरलता सहज हुनसक्छ । किनकि डिबेञ्चरबाट उठाएको पैसा बैंकहरुले सतप्रतिशत लोन इस्यू गर्न मिल्ने भनेर नीतिमा भनिएको हुँदा डिवेञ्चरको विषयले बजार घट्ने आधार छैन, बरु अब वार्षिक रिपोर्ट आउन थालेको र धेरैजसो बैंकको  आम्दानी उच्च भएको हुँदा बजारले छिट्टै सकारात्मक बाटो लिने आधार धेरै छन् । 

धेरै लगानीकर्ताले वार्षिक रिपोर्टको आधारमा लगानी गर्ने हुँदा बजार नकारात्मक हुनु क्षणिक मात्रै हो । यस्तै बेला हो लगानीकर्ताले  आफूलाई सुझबुझका साथ लगानीको निर्णय लिने र संयम बन्ने । वर्षभरिको लगानीबाट प्रतिफल खाने बेलामा लगानीकर्ता धैर्यवान बन्नुपर्छ । 

(लेखक सेयर बजारका सक्रिय लगानीकर्ता हुन् ।)