काठमाण्डौ । साताको सेयर कारोबारको पहिलो दिन आज आइतबार बिजशालाको नियमित स्तम्भका लागि हामी डिल्लीबजार, कमलपोखरी र हात्तीसारमा रहेका ब्रोकर हाउस पुगेका थियौं ।
कारोबार हुने सुरु समय ११ बजे हामी स्टक ब्रोकर नम्बर १४ नेपाल स्टक हाउसमा पुग्यौं । त्यहाँ आएका ५–६ जना लगानीकर्ताहरु डिस्प्ले अगाडि निकै भलाकुसारी र गन्थनमन्थन गरिरहेका थिए।
‘बैंकको सेयर त घट्यो नि !’एक लगानीकर्ताले चिन्ता व्यक्त गरे । केही समयपछि एक पाका लगानीकर्ताले एनएमबीको सेयर एक महिना राख्नु(होल्ड गर्नु) भन्दै सुझाएका भेटियो ।
आज नेप्सेले एनएमबीको बोनसपछि सेयरको मूल्य समायोजन गरेको थियो । अब पुनः ४ सयकै हाराहारी पुगिहाल्ने ती लगानीकर्ताको दाबी थियो । नेपाल इन्भेष्मेन्ट बैंकसँग रिजर्ब अथाह भएकाले अर्को वर्ष भने बम्पर लाभांश दिने एक लगानीकर्ताले लख काटे ।
यत्तिकैमा एनएलआइसी(नेपाल लाइफ इन्स्योरेन्स)को पनि बेला आउँदैछ, बोनस प्रस्ताव गर्ने भन्दै अर्का लगानीकर्ताले जिकिर गरे । निकै समयपछि फेरि त्यहीँ आएका एक लगानीकर्ताले स्याल(प्राविधिक विश्लेषक विष्णु बस्याल)ले फसाए भन्दै सरापे । बस्यालले धेरै लगानीकर्ताहरुलाई गलत सल्लाह दिएर फसाएका ती लगानीकर्ताहरुको आरोप छ ।
यसपछि हामी डिल्लीबजारमा रहेको स्टक ब्रोकर नम्बर २८ श्रीकृष्ण सेक्युरिटीज उक्लियौं । हामी पछाडिबाट त्यहाँ रहेका लगानीकर्ताहरुको गन्थन सुनिरहँदा एक लगानीकर्ताले शिवम् ३४७ सम्म आएको थियो भन्दै सेयर नकिनेकोमा ग्लानी भइरहेको साथीसँग कुरा खोले । उनका साथीले शिवम्ले नगद मात्र दिने भएकाले त्यत्ति राम्रो स्क्रिप्ट नभएको तर्क राखे ।
यसैबीच हामी त्यहाँ रहँदा शिवमको सेयरमूल्य भने उकालो गति चढिनै रहेको थियो । ‘अस्ति समाचारमा शिवम्को बत्तीको पैसा देखाएर भाउ घटेको बेला सेयर उठाए, अनि अहिले तिनैले सेयर चलाए।’एक लगानीकर्ताले आरोप लगाए । ‘अब शिवम चल्छ।’ अगाडिबाट एक लगानीकर्ताले तर्क गर्दै भने–‘घट्ने तवरले बढेको छैन । हाम्रा आँखा पनि डिस्प्लेतर्फ सोझिदै गर्दा शिवमको एक/एक रुपैयाँले बढोत्तरी हुँदै मूल्य उकालो लागिरहेको देखिन्थ्यो । त्यतिमात्र हैन त्यसबेला अन्य सूचीकृत कम्पनीका सेयरमूल्यमा रातो पोतिदा शिवममा भने हरियो पोतिएको थियो । केही क्षणपछि एक लगानीकर्ताले नेप्से घटिरहेको सन्दर्भमा अब ११ सय ३२ विन्दूसम्म अन्तिम आउनसक्ने प्राविधिकले विश्लेषण गरेको सुनाउँदै थिए ।
हामी कमलपोखरी अगाडि रहेको स्टक ब्रोकर नम्बर ४० क्रिएटिभ सेक्युरिटीजमा पनि छिर्यौं । अँध्यारो रुममा हामी पनि पछाडि बस्ने निधो गर्दै बस्ने तरखरमा हुँदै गर्दा ‘अपर(अपर तामाकोशी हाइड्रोपावर)ले बजार बढ्छ कि क्या हो?’ एक लगानीकर्ताले अड्कल गर्दै भने–‘अपरमा सेलर नै छैन, बढाउन थाले जस्तो छ ।’ केही समयपछि तिनै लगानीकर्ता अपरले तान्न खोजेको तर, बजार उकास्न नसकेकोमा खिन्न भए ।
यसपछि हामी क्रिएटिभबाट केही पर कृष्ण पाउरोटीको अगाडि रहेको स्टक ब्रोकर नम्बर ४४ डाइनामिक मनी मेनेजर्समा पुग्दा तल घाम तापेर बसेका सञ्चालक मधु जोशीलाई भेट्यौं । जोशीलाई बजारमा ठूला लगानीकर्ता र संस्थागत लगानीकर्ताको अवस्था के छ? उनीहरु मार्केटमा कत्तिको सलबलाइरहेछन् भन्ने जिज्ञासामा तिनीहरु ‘पर्ख र हेर’कै अवस्थामा रहेका र साना लगानीकर्ताले अहिले खासै बजारमा केही नहोला कि भन्ने तर्क जोशीले राखे । सो सेक्युरिटीजमा उक्लँदा लगानीकर्ताहरु खेलाडी नछिरी बजार नबढ्ने भन्दै जिकिर गरिरहेका भेटिए । शिवममा फेरि खेल सुरु गरेका हुनसक्ने उनीहरुको ठम्याइ थियो ।
ब्रोकर हाउस चाहर्दै जाँदा हामी हात्तीसारमा रहेको स्टक ब्रोकर नम्बर ३९ सुमेरु सेक्युरिटीजमा पस्यौँ । निकै बाक्लै भीड रहेको सुमेरुमा कोही लगानीकर्ता डिस्प्लेमा कोही भने मोबाइलमा रमाइरहेका भेट्यौं । एक लगानीकर्ताले युट्युबमा एक ज्योतिषको राशिफल हेदैै बसिरहेका देख्यौं । अलिक ठूलै स्वरमा मोबाइलमा ज्योतिषले मालामाल हुने भन्दै फलाकिरहेका थिए । यसैबीच अघिल्तिरबाट ‘राशिफल हेरेर सेयर किन्ने हो?’एक लगानीकर्ताले प्रश्न तेस्र्याए । उनले ‘हैन’ भन्दै जवाफ दिए, तर राशिफल पनि हेरि नै रहेका थिए ।
एकछिनपछि एक लगानीकर्ताले एनएमबीको बूक क्लोजपछि पनि राम्रै भयो भन्दै बताए । यसैगरी अर्का एक लगानीकर्ताले नेप्से आज अन्तिममा रातै बनाउने लक्षण देखाएको जिकिर गरे । ‘नेप्सेले के साह्रो ल्याङ ल्याङ गरेको’ भन्दै एक लगानीकर्ताले झर्को मानिरहेका थिए । ‘ल्याङ नहुन त शिवम किन्न पर्यो नि ?’ भन्दै एक युवा लगानीकर्ताले भने । ‘एनसीसी बैंकको आज केही आउँछ कि क्या हो? मूल्य बढ्दै छ।’–एक लगानीकर्ताले जिज्ञासा राखे ।
यसपश्चात् हामी स्टक ब्रोकर एशोसिएसनका अध्यक्षद्वारा सञ्चालित स्टक ब्रोकर नम्बर ३५ कोहिनूर सेक्युरिटीज उक्लियौं । बाक्लै भीडका बीच हामीले लगानीकर्ताहरुको कुराकानी सुन्ने प्रयास गर्यौ । ‘नेपाल बैंक आज किन सुस्तायो ?’एक लगानीकर्ताले पछाडिबाट कौतुहलता राखे । ‘अस्ति शिवम ३५० अहिले ४०० भयो।’ ‘खेलाडीले नै कम्पनीका सेयरमूल्यमा तलमाथि गर्ने रहेछन् नि’ भन्दै हामी छेउमा बसेका एक लगानीकर्ताले सानो स्वरमा भने–‘मूल्य तल गए, हामी सकियौं तर माथि गए अलिअलि कमाउने हौं ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago