काठमाण्डौ । शेयर बजारमा सुधार हुन थालेपछि दुई सामूहिक लगानी कोष योजना (म्युचुअल फण्ड) आउने भएका छन् । 

नेपाल धितोपत्र बोर्डका अनुसार सानिमा बैङ्क र लक्ष्मी बैङ्कको प्रवद्र्धनमा ती योजनाले सर्वसाधारणमा आइपीओ जारी गर्न लागेका हुन् ।

ती योजना कूल रु एक अर्ब ८० करोड बराबरको छ ।

 ‘सानिमा लार्ज क्याप फण्ड’ नाम दिइएको सानिमा बैङ्कको सामूहिक लगानी कोष योजना रु एक अर्ब बराबरको छ ।

यसको अर्थ योजनाले सर्वसाधारणका लागि १० रुपैयाँ दरका कूल १० करोड एकाइ बिक्री गर्नेछ । 

यस्तै, लक्ष्मी बैंकले प्रवद्र्धन गरेको ‘लक्ष्मी उन्नती कोष’ योजना रु ८० करोड बराबरको छ । योजनामा १० रुपैयाँ दरका कूल आठ करोड एकाइ बिक्री गरिनेछ । 

ती योजना हाल बोर्डले अध्ययन गरिरहेको छ । छिट्टै बिक्रीका लागि अनुमति दिइने बोर्डले जनाएको छ । 

नेपाल स्टक एक्सचेञ्जमा हाल १९ वटा सामूहिक लगानी कोेषको कारोबार भइरहेको छ ।

केही अघिसम्म सेयर बजार निरन्तर घटेका कारण संचालनमा रहेका म्युचुअल फण्डको नेट एसेट भ्यालू घटिरहेको थियो । तर, बजार बढेसँगै पछिल्लो समय यस्ता फण्डको न्याभमा समेत सुधार हुन थालेको छ । योसँगै अधिकांश म्युचुअल फण्ड नाफामा जाने अवस्था बन्न थालेको छ ।