काठमाण्डौ । बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स लगभग नदिने प्रपञ्चमा अर्थ समिति र नेपाल धितोपत्र बोर्ड लागेसँगै सेयर बजारमा लगानीकर्ताहरुको चरम निराशा प्रस्फुटन भएको छ ।
उता ललिता निवास प्रकरणमा बैंक तथा वित्तीय संस्थाहरुको अर्बौंको ऋण डुब्ने लगभग निश्चित भइसकेकाले साताको धितोपत्र कारोबारको पहिलो दिन आइतबार नेप्से इन्डेक्समा दोहोरो अंकको करेक्सन देखिएको छ । नेपाल राष्ट्र बैंक स्रोतका अनुसार यही साता ललिता निवासको जग्गा प्रकरणमा बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाहको यथार्थ जानकारी माग्ने तयारी भइरहेको छ।
बढिरहेको बजारमा आजको गिरावटले आगामी दिनसमेत लगानीकर्ताको मनोविज्ञानमा नकारात्मक असर पर्नसक्ने विश्लेषकहरु बताउँछन् । बैंकका सहायक कम्पनीहरुले नेप्सेबाट ब्रोकर लाइसेन्स लिएर धितोपत्र कारोबार गर्न पाए बजारको विकास र विस्तारमा छलाङ आउने र कारोबारसमेत उल्लेख मात्रामा वृद्धि हुने भन्ने आशा पालिरहेका लगानीकर्तामा बोर्ड अध्यक्ष भीष्मराज ढुंगानाले बैंकलाई ब्रोकर लाइसेन्सभन्दा ब्रोकरलाई नै शाखा विस्तारमा जोड दिने अभिव्यक्ति निरन्तर फलाकिँरहँदा समेत यसको असर बजारमा नकारात्मक पर्न गएको छ । यद्यपि नवनियुक्त अध्यक्ष ढुंगाना बोर्ड नेतृत्वमा सम्हाल्दा पुँजीबजारप्रति सकारात्मक सन्देश दिइरहेका थिए भने हाल आएर बजार विस्तारको सम्भावना बोकेको बैंकलाई ब्रोकर लाइसेन्स मुद्दासमेत ओझेलमा पार्न उद्धत्त रहेबाट आगामी दिनमा सेयर लगानीकर्ताले कस्तो रुपमा लिन सक्लान् भन्ने कुरा चाहिँ प्रतीक्षाको विषय बनेको छ ।
साताको कारोबारको पहिलो दिन आज आइतबार नेप्से परिसूचक १३१९.९९ विन्दुमा बन्द भयो । यो दिन गत साताको अन्तिम कारोबार दिन बिहीबारको तुलनामा १३.७० अंकको गिरावट आएको छ । राम्रा र बलिया कम्पनीहरुको प्रतिनिधि जनाउने सेन्सेटिभ इन्डेक्स पनि ३ अंकले घट्दै १८१.०४ विन्दुमा सीमित भयो ।
आजको दिन नेप्से उपसमूहमा रहेकामध्ये एउटामात्र हरियो पोतियो भने बाँकी ११ वटा समूहमा रातो पोतियो । उत्पादन तथा प्रशोधन समूहमा मात्र १७.४८ अंकको बढोत्तरी देखिएको हो ।
निर्जीवन बिमा समूहमा सबैभन्दा बढी १३१.५१ अंकको गिरावट आएको यो दिन जीवन बिमा समूह ७५.८६ अंकले घट्यो । त्यस्तै बैंकिङ समूहमा १२.३९ अंक, व्यापार समूहमा ५.६४ अंक, होटेल्स् समूहमा ५४.३२ अंक, विकास बैंक समूहमा १९.१४ अंक, जलविद्युत् समूहमा ८.३४ अंक, वित्त समूहमा ५.५१ अंक, अन्य समूहमा ४.०५ अंक, लघुवित्त समूहमा २०.६९ अंक र म्युचुअल फन्ड समूहमा ०.०६ अंकको गिरावट आयो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आजको दिन नेप्सेमा रहेका १७३ कम्पनीका २५ लाख ५० हजार २६६ कित्ता सेयर ९५ करोड ४ लाख २ हजार ५८४ रुपैयाँमा कारोबार भयो ।
नेको इन्स्योरेन्सले सबैभन्दा धेरै ३ करोड ८८ लाख रुपैयाँको कारोबार गरेको यो दिन ग्लोबल आइएमई बैंकले ३ करोड ५३ लाख रुपैयाँबराबरको कारोबार गर्यो ।
यसैगरी एनआइसी एसिया बैंकले ३ करोड ४२ लाख, नागरिक लगानी कोषले ३ करोड १५ लाख, नेपाल इन्भेस्टमेन्ट बैंकले २ करोड ६२ लाख, प्रुडेन्सियल इन्स्योरेन्सले २ करोड ६१ लाख, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ४५ लाख, एनएमबी बैंकले २ करोड ३१ लाख, शिवम् सिमेन्टले २ करोड १९ लाख र सूर्या लाइफा इन्स्योरेन्स २ करोड ७ लाख रुपैयाँबराबरको कारोबार गरेका छन् ।
धेरै कमाउने र गुमाउनेहरु
आजको दिन स्वाभिमान लघुवित्तका सेयरधनीहरुले धेरै कमाए । यो कम्पनीको सेयरमूल्यमा झन्डै ४ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ ।
यो दिन प्रुडेन्सियल इन्स्योरेन्स, दिव्यश्वरी हाइड्रोपावर र नेपाल फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए । यी कम्पनीका सेयरमूल्यमा झन्डै ६ प्रतिशतको हाराहारीमा गिरावट आएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago