काठमाण्डौ । सोमबारदेखि सुध्रिएको बजारमा मंगलबार उछाल आएको छ। यो दिन नेप्से परिसूचकमा १७.११ अंकको बढोत्तरी भयो भने कारोबार रकममा समेत उछाल आई १ अर्ब ५३ करोडको उचाइ चुम्यो ।

बजारमा यसरी नेप्से परिसूचक र कारोबार रकममा समानान्तर ढंगले उछाल आउनुलाई विश्लेषकहरुले सुखद् भविष्यको संकेत भन्ने गर्छन्। यसले बजारमा केही समय पर्ख र हेरको रणनीतिमा बसेका हङ्ग्री इन्भेस्टरहरुको पुनः इन्ट्री भएको देखाउने उनीहरुको धारणा छ। 

यो दिन बजारमा उछाल आउनु पछाडि धितोपत्र बोर्डले अर्थ मन्त्रालयको स्वीकृतिमा बजारसँग सम्बन्धित चारवटा नियमावली संशोधन गरेको र संशोधित व्यवस्था फागुन १ गतेदेखि कार्यान्वयनमा आउने खबरसमेत एउटा बलियो आधार बनेको बजारका जानकारहरु बताउँछन्। धितोपत्र बोर्डले केही महत्वपूर्ण नियमावली संशोधन गर्दै बैंकका सहायक कम्पनीले पनि सेयर ब्रोकरको लाइसेन्स पाउन सक्ने, आईपीओ भर्ने अधिकतम अवधि ३० दिनबाट घटाएर १५ दिन सीमित गर्ने, बिमा कम्पनी र गैरबैंकिङ वित्तीय संस्थाले पनि म्युचुअल फन्ड सञ्चालन गर्न सक्नेलगायतका बजार र लगानीकर्तामैत्री व्यवस्था कार्यान्वयनमा ल्याउने सुनिश्चितता गरेपछि यसले बजारमा सकारात्मक प्रभाव पारेको हो। 

यसैगरी दोस्रो बजारको विकास र स्थायित्वका लागि नागरिक लगानी कोषले स्टक डिलर कम्पनी दर्ता गरेको, कर्मचारी सञ्चय कोषले पनि स्टक डिलर कम्पनी स्थापनाको तयारी सुरु गरेकोलगायतका सुखद् खबरहरुका कारण पनि लगानीकर्ताको मनोबल बलियो बन्दा बजारमा एकाएक खरिदचाप सिर्जना भई नेप्सेमा उछाल आएको हो। 

आजको दिन नेप्से उपसमूहमा रहेको व्यापार समूहबाहेक अरु सबै ११ समूहमा हरियाली छायो। व्यापार समूहमा भने १०.६७ अंकको गिरावट आयो। 

यो दिन निर्जीवन बिमा समूहमा ९३.४७ अंकको बढोत्तरी देखियो। लघुवित्त समूहमा ७०.२२ अंकको वृद्धि देखिएको आज जीवन बिमा समूहमा ५३.२६ अंकको उछाल आयो। 

त्यस्तै बैंकिङ समूहमा १४.४८ अंक, होटेल्स् समूहमा १.५६ अंक, विकास बैंक समूहमा १८.६४ अंक, जलविद्युत् समूहमा ९.८९ अंक, वित्त समूहमा २.९१ अंक, उत्पादन तथा प्रशोधन समूहमा २०.२६ अंक, अन्य समूहमा ६.३९ अंक र म्युचुअल फन्ड समूहमा ०.१६ अंकले वृद्धि भयो। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृत १७५ कम्पनीका ३९ लाख ९६ हजार ८७७ कित्ता सेयर १ अर्ब ५३ करोड २२ लाख ५० हजार ४४० रुपैयाँमा कारोबार भयो। 

आज पनि शिवम् सिमेन्टले उच्च कारोबार गर्यो। यो कम्पनीले मात्र १५ करोड २ लाख रुपैयाँ बढीको कारोबार गर्न सफल भयो। 

त्यस्तै एनआईसी एसिया बैंकले ११ करोड २३ लाख रुपैयाँबराबरको कारोबार गरेको आज सिभिल बैंक लिमिटेडले पनि ८ करोड ३४ लाख रुपैयाँ बढीको कारोबार गर्यो। 

छिमेक लघुवित्तले ५ करोड ३३ लाख रुपैयाँ, नागरिक लगानी कोषले ५ करोड २२ लाख रुपैयाँ, स्वरोजगार लघुवित्तले ३ करोड ४९ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सले ३ करोड ३६ लाख रुपैयाँ, एनएमबी बैंकले ३ करोड ३४ लाख रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सले ३ करोड २७ लाख रुपैयाँ र नेको इस्योरेन्सले ३ करोड २७ लाख रुपैयाँबराबर कारोबार गर्न सफल भए।

धेरै कमाउने र धेरै गुमाउने

आजको दिन कालिका पावर कम्पनी र नेपाल सेवा लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यी दुवै कम्पनीमा सकारात्मक सर्किट लाग्यो। कालिका पावर कम्पनीको सेयरमूल्य १० प्रतिशत र नेपाल सेवा लघुवित्तको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो। 

यो दिन युनियन हाइड्रोपावर कम्पनीका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ५ प्रतिशतभन्दा बढीले गिरावट देखियो।