काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५५ हजार कित्ता सेयर आज सोमबारदेखि लिलामीमा राखिएको छ।

एनआईसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक समूहको ५५ हजार कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्री खुलाइएको हो। सूर्या लाइफ इन्स्योरेन्सको साधारण सेयरको आइतबार अन्तिम सेयरमूल्य प्रतिकित्ता ५०० रुपैयाँ रहेको छ।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले तोकिएको मूल्यमा नघट्ने गरी शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र सोभन्दा माथि १० ले भाग जाने गरी लिलामीमा राखिएको सम्पूर्ण ५५ हजार कित्ताका लागि बोलपत्र पेस गर्न सक्नेछन्।

बोलपत्र काठमाण्डौको बबरमलस्थित एनआईसी एसिया क्यापिटल लिमिटेड, थापाथलीको ट्रेड टावरस्थित एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय तथा बैंकका विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी, सुर्खेत र काठमाण्डौ कमलादीस्थित शाखा कार्यालयहरुमा बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्ने अन्तिम मिति फागुन १३ गतेसम्म तोकिएको छ।