काठमाण्डौ । कारोबार सुरु भएको एकघण्टाभित्र नेप्से परिसूचक ४ प्रतिशतले घटेपछि सेयर कारोबार २० मिनेटका लागि रोकिएको छ ।
२ दिनको सार्वजनिक विदापछि मंगलबार खुलेको बजारमा सुरुवातदेखि नै गिरावट देखिएको थियो । सो क्रमले तीव्रता पाउँदा ११ बजेर ५९ मिनेटमा ४ प्रतिशतले नेप्से घटेपछि नेप्सेले नेगेटिभ सर्किट लगाउँदै २० मिनेटका कारोबार स्थगन गरेको हो ।
यो बेलासम्म नेप्से ५७.३६ अंकले घटेर १३७८.३४ को विन्दूमा सीमित हुन पुगेको छ ।
यो बेलासम्म ६३ करोड १३ लाख बढीको कारोबार भइसकेको छ ।
सबैभन्दा बढी जीवन बिमा समूहमा ५.२८ प्रतिशतको पहिरो गइसकेको छ । यस्तै, होटल समूहमा ५.२२ प्रतिशत, बैंकिङ समूहमा ४.५१ प्रतिशत, व्यापार समूहमा ४.८१, विकास बैंक समूहमा ३.७९ र निर्जीवन बिमा समूहमा ३.३३ प्रतिशतको पहिरो गइसकेको छ ।
बाँकी अन्य समूहका उपसूचकमा पनि भारी गिरावट देखिएको छ ।
यो बेलासम्म मञ्जुश्री फाइनान्सको सेयर मूल्य ८ प्रतिशत भन्दा बढीले घटिसकेको छ । मेगा बैंक, नेशनल लाइफ, इन्स्योरेन्स, सप्तकोशी डेभलपमेन्ट बैंक, नेपाल एसबीआई बैंक र गरिमा विकास बैंकको मूल्यमा ७ प्रतिशत बढीको गिरावट आएको छ ।
कतिबेला लाग्छ नेगेटिभ सर्किट ?
सेयर बजार परिसूचक(नेप्से)मा कारोबार सुरु भएपछि भीषण पहिरो गयो भने गिरावटको प्रतिशतका आधारमा सर्किट ब्रेकर लगाई बजारलाई नियन्त्रण गर्ने परिपाटी चलिआएको छ ।
नेप्सेले कुनै पनि कारोबार दिनमा बजार खुलेको पहिलो एकघण्टाभित्र बजार परिसूचक(नेप्से इण्डेक्स) ४ प्रतिशतले घट्यो भने सर्किट लगाई २० मिनेटका कारोबार रोक्ने गर्दछ ।
बजार खुलेको दोश्रो घण्टाभित्र नेप्से परिसूचक ५ प्रतिशतले घट्यो भने पुनः सर्किट लगाई ४० मिनेटका लागि कारोबार रोकिन्छ । र, त्यसपछि पनि गिरावटको क्रम निरन्तर रह्यो र बजार ६ प्रतिशतले घट्यो भने कारोबार रोकी सो दिनको बाँकी अवधिको कारोबार पूर्ण रुपमा बन्द गरिन्छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19