काठमाण्डौ । यो साता कारोबारको तेस्रो दिन मंगलबार बजारमा फेरि अत्यासलाग्दो गिरावट देखिएको छ।

आजको दिन नेप्से परिसूचक ४४.३३ अंकको गिरावटसँगै १२७२.०६ को विन्दुमा सीमित बन्न पुगेको छ। हिजो सोमबार झिनो अंकले बढेको नेप्से परिसूचकमा फेरि पहिरो गएपछि लगानीकर्ता निराश बनेका छन्। केही लगानीकर्ताहरुले ब्रोकरहरुले सुनियोजित ढंगले अहिलेको बजार घटाइरहेको आरोपसमेत लगाउन थालेका छन्। 

धितोपत्र बोर्डले कारोबारको अवधि एक घण्टाले बढाई ५ घण्टा बनाएपछि यसबाट कारोबार बढ्ने र धेरै कारोबार हुँदा आफूहरुले खाईपाई आएको कमिसन घटाउनुपर्ने माग घनिभूत रुपमा उठ्ने भएकोले यसलाई साबिककै ४ घण्टामा सीमित गर्नुपर्ने भन्दै ब्रोकरहरुले तीव्र प्रयास गरिरहेका छन्। कारोबार अवधि बढाउने धितोपत्र बोर्डको नीतिलाई उनीहरुले भित्रभित्रै असहयोग समेत गरिरहेका लगानीकर्ताका नेता बताउँछन्। उनीहरुले कतिपय ब्रोकरले आफूहरुलाई बोलाएर कारोबार समय साबिककै बनाउने गरी दवाब सिर्जना गर्नुपर्यो भनी सहयोग मागेको विषयले समेत यो पुष्टि गर्छ। 

पछिल्लो समय धितोपत्र बोर्ड जुनसुकै मूल्य चुकाएर भए पनि ब्रोकर कमिसन घटाउने तयारीमा छ। यो सूइँको पाएर समेत कतिपय ब्रोकरले बजार घटाउन चलखेल गरिरहेका आरोप लाग्दै आएको छ। 

यस्तै नेप्सेले गोप्य रुपमा ५० वटा ब्रोकरहरुको संख्या बढाएर १०० पुर्याउने विषय बाहिरिएपछि हालका ब्रोकरहरुले नेप्सेलाई असहयोग गर्न समेत बजार सुनियोजित रुपमा घटाइरहेका आशंकाहरु उठेका छन्। 

अझ पछिल्लो समयमा त बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिने विषयमा संघीय संसदको अर्थसमितिबाट गठित उपसमिति सकारात्मक बनेको र सोही खालको प्रतिवेदन बनिरहेको विषयले समेत ब्रोकरहरुको निद्रा खराब गरिदिएको छ। यसकारण समेत उनीहरु जानाजान बजार प्रभावित पार्ने खेलमा लागेका आरोपहरु आइरहेका छन्। तर, ब्रोकरहरुले भने यस्ता आरोपहरु आधारहीन रहेका भन्दै खण्डन गर्ने गरेका छन्। 

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.५३ अंकको गिरावटसँगै २७४.५९ को विन्दुमा खुम्चिन पुगेको छ। समग्र कारोबारको सूचक फ्लोट इन्डेक्समा पनि ३.०६ अंकको गिरावट देखियो। 

आजको दिन नेप्से उपसमूहमा रहेका १२ वटा समूहमध्ये म्युचुअल फन्डमा मात्र हरियाली छायो। बाँकी ११ समूहमा भने रातो पोतियो। 

यो दिन जीवन बीमा र निर्जीवन बीमा समूहमा पहिरो खस्यो। यी दुवै समूहमा क्रमशः ४२६.४८ अंक र ३३८.३४ अंकको गिरावट देखियो। 

त्यस्तै बैंकिङ समूहमा ३३.१६ अंक, व्यापार समूहमा ४९.४८ अंक, होटेल्स् समूहमा ५३.६९ अंक, विकास बैंक समूहमा ५२.६८ अंक, जलविद्युत् समूहमा १२.८८ अंक, वित्त समूहमा २१.९८ अंक, उत्पादन तथा प्रशोधन समूहमा ११५.०८ अंक, अन्य समूहमा १४.७९ अंक र लघुवित्त समूहमा ९३.६६ अंकको गिरावट आयो। 

यो दिन म्युचुअल फन्ड समूहमा भने ०.०४ अंकको बढोत्तरी देखियो। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आजको दिन नेप्सेमा सूचीकृत १७५ कम्पनीका ४३ लाख ६७ हजार ७७५ कित्ता सेयर १ अर्ब ४६ करोड ५१ लाख ८४ हजार ६५६ रुपैयाँमा कारोबार भयो। 

यो दिन एनआईसी एसिया बैंकले उच्च कारोबार गर्यो। यो बैंकले मात्र १० करोड रुपैयाँ बढीको कारोबार गर्न सफल भयो। 

त्यस्तै एनएमबी बैंकले ९ करोड १६ लाख रुपैयाँ बढीको कारोबार गरेको आज नेपाल लाइफ इन्स्योरेन्सले ७ करोड ३९ लाख रुपैयाँको कारोबार गर्यो। त्यस्तै हिमालयन डिस्टिलरीले ४ करोड ६४ लाख रुपैयाँ, नेपाल बैंकले ४ करोड २८ लाख रुपैयाँ, प्रभु बैंकले ३ करोड ८५ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकले ३ करोड ६४ लाख रुपैयाँ, नबिल बैंकले ३ करोड ४० लाख रुपैयाँ, एभरेस्ट बैंक लिमिटेडले ३ करोड २५ लाख रुपैयाँ र ग्लोबल आईएमई बैंकको संस्थापक सेयरले ३ करोड ७ लाख रुपैयाँ बढीको कारोबार गरे।

धेरै कमाउने र गुमाउनेहरु

आजको दिन ९ वटा कम्पनीका सेयरधनीहरुले मात्र कमाए भने १६६ कम्पनीका सेयरधनीहरुले गुमाए। 

यो दिन जोशी हाइड्रोपावरका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरमूल्य झन्डै ८ प्रतिशतको हाराहारीमा वृद्धि भयो। 

यो दिन ६ वटा कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लाग्यो। सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशतको गिरावट आयो भने नेपाल सेवा लघुवित्त, स्वाभिमान लघुवित्त, नेपाल इस्योरेन्स, युनाइटेड इस्योरेन्स र गुराँस लघुवित्तको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा घट्यो। 

आज ग्रामीण विकास लघुवित्तको सेयरमूल्य झन्डै ९ प्रतिशतले घट्यो भने कालिका माइक्रोक्रेडिट र आरएमडीसी लघुवित्तको सेयरमूल्यमा ८ प्रतिशतभन्दा बढीको गिरावट आयो।