काठमाण्डौ। कोरोनाभाइरसको खतरा अहिले विश्वभर बढ्दै गएको छ।
एसियासँगै युरोप र अमेरिकामा यो भाइरसको प्रभाव बढिरहेको छ। कतिपय ठूला कम्पनीहरु बन्द गरिएका छन् भने कर्मचारीहरुलाई घरबाटै काम गर्न छुट दिइएको छ।
अहिले चीनसँगै विभिन्न देशमा यो भाइरसविरुद्धको भ्याक्सिन तयार गर्ने काम भइरहेको छ। चीनले भ्याक्सिन तयार भइसकेको र अब परीक्षण गर्नमात्र बाँकी रहेको जनाएको छ।
उता चीनभन्दा अगाडि अमेरिकाको सिएटलमा कोरोनाविरुद्धको भ्याक्सिन बनाएर मानवशरीरमा परीक्षण नै सुरु भइसकेको छ। तर कहिलेसम्म कोरोनाविरुद्धको भ्याक्सिन बजारमा आउँछ र आममानिसले यो भ्याक्सिन किन्न सक्छन् कि सक्दैनन् भन्ने जिज्ञासा चौतर्फी रुपमा उठिरहेको छ।
स्वास्थ्यविज्ञहरुले भने कोरोनाविरुद्धको भ्याक्सिन बजारसम्म आउन कम्तीमा १८ महिना लाग्ने जनाएका छन्।
मोर्डन थेरापेटिक्सले अमेरिकाको वासिङ्टनमा कोरोनाविरुद्धको भ्याक्सिन मानवशरीरमा परीक्षण गरेको थियो। जहाँ ४ जना स्वयंसेवक आफैँ अगाडि आएर भ्याक्सिन लगाएर परीक्षणमा सहयोग गरेका थिए।
अमेरिकाको स्वास्थ्य मन्त्रालयका अनुसार कुल ४५ जनामा यो भ्याक्सिन परीक्षण गरिनेछ। यसका लागि ६ साता लाग्ने मन्त्रालयले जनाएको छ।
पहिलो परीक्षण वासिङ्टनको सिएटल सहरमा गत सोमबार गरिएको थियो। अब अर्को परीक्षण २८ दिनपछि हुने मन्त्रालयले जनाएको छ।
कुनै पनि भाइरसविरुद्ध भ्याक्सिन परीक्षण गर्नका लागि त्यो भाइरसको एउटा कमजोर र मृत अंश ती स्वयंसेवकको शरीरमा इन्जेक्ट गरिन्छ। यो भाइरसको अंशले सीमित असरमात्र गर्छ।
त्यसपछि ती स्वयंसेवकलाई निगरानीमा राखिन्छ। विस्तारैविस्तारै भ्याक्सिनले काम गर्यो कि गरेन भन्ने मनिटरिङ गरिन्छ। यदि भ्याक्सिनले काम गर्यो भने त्यसलाई प्रमाणीकरण गरेर उत्पादन गर्न सुरु गरिन्छ र बजारमा पठाइन्छ।
यो सबै प्रक्रिया पूरा गर्न कम्तीमा पनि १ वर्ष लाग्ने र भ्याक्सिन उत्पादन गरेर बजारमा पठाउँदासम्म डेढ वर्षजति लाग्ने विज्ञहरु बताउँछन्।
अहिले विश्वभर ३५ वटा कम्पनीहरु कोरोनाभाइरसविरुद्धको भ्याक्सिन बनाउने कोसिस गरिरहेका छन्। तर हालसम्म भ्याक्सिनको सफल परीक्षण भने भइसकेको छैन। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago