काठमाण्डौ । कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि सरकारले लकडाउन गरेको ५० दिनपछि खुलेको सेयर बजारमा पहिलो दिन नै नेगेटिभ सर्किट लागेको छ ।
कारोबार सुरु भएको १ घण्टा २४ मिनेटमा नेप्से परिसूचक २.०२ प्रतिशतले घटेपछि नयाँ नियम अनुसार नेप्सेले नेगेटिभ सर्किट लगाउँदै कारोबार रोकेको हो । योसँगै मंगलबारको सेयर बजारको बाँकी समयको कारोबार समेत निलम्बनमा परेको छ ।
नेपाल धितोपत्र बोर्डले लकडाउनपछि खुलेको सेयर बजार दैनिक २ घण्टाको दरले संचालन गर्ने व्यवस्था गरेको थियो । बजार ११ बजेदेखि १ बजेसम्म संचालन हुनुपर्नेमा निर्धारित समयभन्दा ३६ मिनेटअघि नै नेगेटिभ सर्किट लागी बन्द भएको हो ।
नयाँ नियमअनुसार नेप्से परिसूचक २ प्रतिशतले घटबढ भए सर्किट लगाउनुपर्छ । यस्तै कम्पनी विशेषको मूल्यमा ३ प्रतिशतसम्मको घटबढ हुँदा सर्किट लगाउनुपर्छ ।
लामो समयपछि खुलेको बजारमा पहिलो दिन १० करोड ४३ लाख बढीको सेयर कारोबार भयो । नेप्से परिसूचक घटेर १२२६.१५ को विन्दूमा सीमित हुन पुगेको यो दिन ११ समूहका कम्पनी कारोबारमा आएका थिए । सबै समूहको सूचकमा रातो पोतिएको थियो ।
यो दिन बैंकिङ समूह २६.११ अंकले घट्यो भने विकास बैंक समूह १५.३६ अंक, होटल समूह ३.३८ अंक, जलविद्युत समूह १५.३५ अंक, बित्त समूह ३.२७ अंक, निर्जीवन बिमा समूह ७२.३३ अंक, उत्पादन तथा प्रशोधन समूह ३४.४६ अंक, अन्य समूह १९.४२ अंक, माइक्रोफाइनान्स समूह १८.०५ अंक, जीवन बिमा समूह १५७.७८ अंक र म्युचुअल फण्ड समूह ०.०१ अंकले घटे ।
धेरै कारोबार गर्ने, गुमाउने तथा कमाउने कम्पनी
यो दिन बजारमा ८७ कम्पनीका १ लाख ६ हजार ३१२ कित्ता सेयर कारोबार भयो ।
सबैभन्दा बढी नागरिक लगानीकोषले ८ करोड ८८ लाख बढीको कारोबार गर्यो ।
छिमेक लघुवित्तले ४६ लाख बढीको कारोबार गरेको बजारमा ग्लोबल आइएमई बैंकको ३८ लाख बढी संस्थापक सेयरको समेत किनबेच भयो ।
नवील बैंकले १५ लाख ७४ हजार बढीको कारोबार गरेको यो दिन ज्योति विकास बैंकको ९ लाख बढीको संस्थापक सेयर समेत किनबेच भयो ।
यो दिन कुनै पनि कम्पनीको सेयरको मूल्य बढेन । सन्नाटा छाएको बजारमा कारोबारमा आएका सबै कम्पनीले गुमाउन पुगे ।
यो दिन हिमालयन बैंक, नवील बैंक, नागरिक लगानीकोष, कृषि विकास बैंक, कालिका माइक्रो क्रेडिट, गुराँस लाइफ इन्स्योरेन्स, स्वरोजगार लघुवित्त, ग्रामीण विकास बैंक, हिमालयन डिस्टीलरी लगायत थुप्रै कम्पनीको मूल्यमा नेगेटिभ सर्किट लाग्यो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19