काठमाण्डौ । धितोपत्रको दोस्रो बजारमा सेयर बिक्रीचापको अधिक आपूर्तिले नेप्से परिसूचकमा आज मंगलबार दोहोरो अंकको गिरावट आएको छ। कारोबार रकम भने ३ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। 

साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबार नेप्से परिसूचक २२.९१ अंकको गिरावटका साथ १५४६.१५ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.८४ अंकको गिरावटका साथ ३०७.३९ को विन्दुमा सीमित बनेको छ। 

आज प्रायः सबै कम्पनीका सेयरमूल्य घटेको छ। केही सातादेखि बजार सुधार हुँदै १६ सय विन्दु पार गरेको नेप्सेमा लगानीकर्ताहरुले नाफा सुरक्षित गर्न सेयरको आपूर्ति बढाइदिँदा करेक्सन आएको विश्लेषकहरुको भनाइ छ।

आजको कारोबार नियाल्दा प्रायः सबै कम्पनीमा नाफा सुरक्षित गर्ने होडबाजी र खरिद गर्नेले समेत निकै तल्लो मूल्यमा सेयर किन्ने प्रयास गरेका कारणले सूचकमा दबाब परेको देखिन्छ। आज नेप्सेमा कारोबार भएका कम्पनीहरुमध्ये १२ वटाका सेयरमूल्यमात्र माथि उक्लिएको छ। यस्तै १५५ वटा कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ भने ५ वटाका सेयरमूल्यमात्रै स्थिर रह्यो।

आज नेप्से उपसमूहमा रहेका १२ वटै समूहमा रातो पोतिएको छ। 

यो दिन सबैभन्दा धेरै निर्जीवन बीमा समूहमा ११२.६६ अंकको गिरावट आएको छ। जीवन बीमा समूहमा १०९.४७ अंकको गिरावट आएको यो दिन बैंकिङ समूह २२.३६ अंक, व्यापार समूह २.१३ अंक, होटेल्स् समूह १५.०६ अंक, विकास बैंक समूह ४०.३ अंक, जलविद्युत् समूह २४.९१ अंक, वित्त समूह १२.४९ अंक, उत्पादन तथा प्रशोधन समूह ३५.०५ अंक, अन्य समूह ७.२२ अंक, लघुवित्त समूह २३.२४ अंक र म्युचुअल फन्ड समूह ०.०८ अंकले घटेको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये १९९ कम्पनीका ७८ लाख ५० हजार ६५ कित्ता सेयर २ अर्ब ८१ करोड ४ लाख २५ हजार २६८ रुपैयाँमा कारोबार भएको छ। 

यो दिन शिखर इन्स्योरेन्सको सर्वाधिक ३१ करोड ९४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल बैंकको १९ करोड ११ लाख रुपैयाँ बढीको कारोबार भएको आज नेपाल पुनर्बीमा कम्पनीको १२ करोड ४३ लाख रुपैयाँ, एनएमबी बैंकको ७ करोड ४२ लाख रुपैयाँ, रिलायन लाइफ इन्स्योरेन्सको ७ करोड ८ लाख रुपैयाँ, नेको इन्सुरेन्सको ६ करोड ५५ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड २० लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ५ करोड ८४ लाख रुपैयाँ, छिमेक लघुवित्तको ४ करोड ६९ लाख रुपैयाँ र नबिल बैंकको ४ करोड ५१ लाख रुपैयाँ बढीको कारोबार भएका छ।

धेरै कमाउने र धेरै गुमाउने

आज युनाइटेड फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ७ प्रतिशतको हाराहारीमा वृद्धि भयो।

यो दिन लिबर्टी इनर्जीका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लाग्यो। 

यसैगरी घलेम्दी हाइड्रो र गुनाइटेड मोदी हाइड्रोपावरका सेयरमूल्यमा पनि ९ प्रतिशतभन्दा बढीको गिरावट आएको छ।