काठमाण्डौ । सेयर कारोबार मापक नेप्से परिसूचक आज मंगलबार झिनो अंकले वृद्धि भएका छ। आज कारोबार रकम साढे २ अर्ब रुपैयाँबराबरको भएको छ।

साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ४.१७ अंकको बढोत्तरीका साथ १५८६.२९ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ०.७६ अंकको वृद्धिका साथ ३१३.२२ को उचाइमा पुगेको छ। 

परिसूचक १६ सय पार गर्न निकै संघषपूर्ण रहेको देखिन्छ। बैकिङ समूह नकारात्मक बन्दा हाइड्रोपावर, विकास बैंक, वित्त तथा उत्पादन समूहमा भने लगानीकर्ताको आकर्षण बढेको देखिन्छ।

यो सातामा केही दिनयता नेप्से परिसूचक साइडवेजमा १६ सय विन्दु पार गर्न रिचार्ज गरिरहेको विश्लेषकहरु बताउँछन्। यही साताको अन्त वा अर्को सातादेखि भने परिसूचक निकै अघि बढ्न सक्ने सम्भावना रहेको विश्लेषकहरु दाबी गर्दछन्।

दिनभरिको खरिदबिक्रीको अवस्थालाई मध्यनजर गर्दा उच्च खरिदचाप नै रहेको देखिन्छ। तर खरिदकर्ताले मूल्य घटाएर किन्ने र बिक्रीकर्ताले पनि थोरै मूल्य बढाएर बेच्ने रणनीति अँगालेका कारणसमेत कारोबार रकम केही खुम्चिएको विश्लेषकहरुको भनाइ छ।

आज हाइड्रोपावर समूहका कम्पनीहरुले सबैभन्दा धेरै कमाउने, उच्च टर्नओभर, भोल्युम र कारोबार संख्यामा आक्रमक देखिएका छन्। 

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ६ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ। 

यो दिन जलविद्युत् समूहमा ६६.८३ अंकको उछाल आएको छ। व्यापार समूहमा ८.१५ अंकका बढोत्तरी आएको आज विकास बैंक समूह ७.०९ अंक, वित्त समूह ६.०३ अंक, उत्पादन तथा प्रशोधन समूह ४.७७ अंक र अन्य समूह २.०८ अंकले बढेका छन्। 

आज निर्जीवन बीमा समूहमा सबैभन्दा धेरै ५७.०२ अंकको गिरावट आएको छ। जीवन बीमा समूह २५.७९ अंकले घटेको यो दिन बैंकिङ समूह ०.४६ अंक, होटेल्स् समूह ०.१५ अंक, लघुवित्त समूह ९.२९ अंक र म्युचुअल फन्ड समूह ०.०२ अंकले ओरालो लागेका छन्। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये १९५ कम्पनीका ९९ लाख ४९ हजार ३१७ कित्ता सेयर २ अर्ब ५१ करोड ५ लाख ८५ हजार ३३२ रुपैयाँमा कारोबार भएको छ। 

आज सानिमा माई हाइड्रोपावरको सर्वाधिक १० करोड ७० लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेसनल हाइड्रोले १० करोड ६ लाख रुपैयाँबराबर कारोबार गरेको यो दिन अरुण काबेलीको ९ करोड २ लाख रुपैयाँ, अपी पावरको ८ करोड ९५ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ८ करोड ३१ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ८ करोड २७ लाख रुपैयाँ, नेपाल बैंकको ७ करोड ९९ लाख रुपैयाँ, एनएमबी बैंकको ६ करोड ५९ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ५ करोड ८८ लाख रुपैयाँ र कुमार बैंकको ५ करोड ८४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउनेहरु

आज १४ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। जसमा अधिकांश जलविद्युत् कम्पनीहरु रहेका छन्। 

यो दिन नेसनल हाइड्रो, नेपाल फाइनान्स, ङादी ग्रुप, माउन्टेन हाइड्रो र दिव्यश्वरी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशत तथा रसुवागढी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, कालिका पावर, सेन्जेन जलविद्युत, बरुण हाइड्रोपावर, रिडी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, राइराङ हाइड्रोपावर र युनिभर्सल पावर कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। आज छ्याङ्दी हाइड्रोपावरको सेयरमूल्यमा पनि ९ प्रतिशत बढीको उछाल आएको छ।

यो दिन अरुण भ्याली हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ४ प्रतिशतको गिरावट आएको छ।