काठमाण्डौ । लगातार दुई दिन बढेको बजारमा आज मंगलबार दोहोरो अंकको करेक्सन आएको छ।

आज नेप्से परिसूचक २९.१ अंकको करेक्सनका साथ २५३२.४६ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.८९ अंकले घटेर ४६१.७० को विन्दुमा ओर्लेको छ।

आज कारोबार रकमसमेत घटेर सवा ८ अर्बको हाराहारीमा सीमित बनेको छ।

बजार जानकार मेघनाथ निरौला बढ्दो बजारमा करेक्सन आउनु स्वाभाविकै रहेको बताउँछन्। ‘भोलि पनि बजारमा केही करेक्सन आउन सक्छ’, उनले भने, ‘यसबाट के प्रस्ट हुन्छ भने बजारमा सेयर कर्नरिङ भइरहेको छ, जति सेयर कर्नरिङ हुन्छ, बजार पनि त्यति नै मजबुत हुन्छ।’

बैंकको ब्याजदर नबढेसम्म खासै डराउनुपर्ने अवस्था रहेको निरौलाको ठम्याइ छ। ‘२०७८ सालसम्म आवश्य ठूलो बुल आउँछ’, उनले भने, ‘जसरी जहाज उड्नुअघि एउटा–एउटा पंखा घुम्छन्, त्यसरी नै बुलिस बजारमा सेक्टरवाइज बढोत्तरी हुने हो।’

अघिल्लो बुलमा हाइड्रो तथा बैंकको पालो अन्तिमा आएको स्मरण गराउँदै निरौलाले भने, ‘यसपालिको बुलमा पनि यी सेक्टरमा लगानीकर्ताले राम्रै प्रफिट निकाल्न सक्नेछन्।’

निरौलाले बजारमा आउने हरेक करेक्सनमा खरिदको अवसर सिर्जना हुने पनि उल्लेख गरे। 

त्यसैगरी महिला लगानीकर्ता लक्ष्मी खड्काले टीएमएसमा समस्या आएका कारणले पनि कारोबार रकम घटेको हुन सक्ने बताइन्। ‘लगातार बढिरहेको बजारमा करेक्सन आउनु ठिकै हो, यसले बजारलाई थप मजबुत पार्छ’, उनले भनिन्। 

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये २ वटा समूहमा मात्र हरियाली छाएको छ भने बाँकी १० वटा समूहमा रातो पोतिएको छ।

यो दिन विकास बैंक समूह २५.५२ अंकले बढ्यो भने वित्त समूहमा १२.७२ अंकको बढोत्तरी भएको छ।

आज जीवन बीमा समूह सर्वाधिक २७४.०३ अंकले ओरालो लागेको छ। निर्जीवन बीमा समूह २३७.१४ अंकले घटेको यो दिन बैंकिङ समूहमा ९.४२ अंक, व्यापार समूहमा ४९.४९ अंक, होटेल्स् समूहमा ३२.८६ अंक, जलविद्युत् समूहमा २९.७६ अंक, उत्पादन तथा प्रशोधन समूहमा ९८.९४ अंक, अन्य समूहमा ३३.६८ अंक, लघुवित्त समूहमा १२८.२४ अंक र म्युचुअल फन्ड समूहमा ०.०२ अंकको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये १९४ कम्पनीका १ करोड ५९ लाख ८५ हजार १९८ कित्ता सेयर ८ अर्ब १४ करोड ६२ लाख ६९ हजार १९३ रुपैयाँमा कारोबार भएका छन्।

यो दिन ग्रामीण विकास लघुवित्तको सर्वाधिक ३४ करोड ७१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। प्रभु बैंकको ३० करोड ५८ लाख रुपैयाँबराबरको कारोबार भएको आज ग्लोबल आईएमई बैंकको २९ करोड ४५ लाख रुपैयाँ, डिप्रोक्स लघुवित्तको २५ करोड ७५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २२ करोड ९१ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २१ करोड ७६ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २१ करोड ६४ लाख रुपैयाँ, नेपाल टेलिकमको २१ करोड २९ लाख रुपैयाँ, नबिल बैंकको २१ करोड २७ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको २१ करोड २७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज ३ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन गुडविल फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स र समृद्धि फाइनान्स सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो।

यो दिन सपोर्ट माइक्रोफाइनान्स र निर्धन उत्थान लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यी लघुवित्तका सेयरमूल्यमा ६ प्रतिशतको हाराहारीमा गिरावट आएको छ। आज माउन्टेन इनर्जीको सेयरमूल्य पनि ५ प्रतिशत बढीले घटेको छ।