काठमाण्डौ । साताको धितोपत्र कारोबार हुने अन्तिम दिन बिहीबार बजारमा दोहोरो अंकको करेक्सन आएको छ।
हिजो एकल अंकले बढेको नेप्से परिसूचकमा आज १६.११ अंकको करेक्सन आएको छ। यो करेक्सनसहित परिसूचक आज २५२६.९२ को विन्दुमा झरेको छ। आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.६६ अंकले झरेर ४६३.४७ को विन्दुमा समेटिएको छ।
आज कारोबार रकम भने हिजोको तुलनामा बढेर झन्डै साढे ८ अर्ब रुपैयाँको हाराहारीमा पुगेको छ।
बजार जानकार मेघनाथ निरौलाले आजको गिरावटलाई सामान्य रुपमा लिनुपर्ने बताए। ‘कुनै पनि यन्त्र लगातार कुदाउनुभन्दा इन्जिनलाई मजबुत राख्न केही समय रोकेर राख्नुपर्छ’, उनले भने, ‘सेयर बजार पनि त्यस्तै संयन्त्र हो, जुन लगातार बढिरहेको भने पछि ठूलो दुर्घटना हुन सक्छ, त्यसैले यस्ता सानातिना करेक्सन आउन आवश्यक छ।’
आगामी साता पनि बजारमा केही करेक्सन आउन सक्ने भन्दै निरौलाले बढ्दो बजारमा यस्ता करेक्सनले लगानीको अवसर सिर्जना गर्ने र बजारलाई मजबुत पार्ने तर्क गरे। ‘अब ठूला कम्पनीहरुमा केही करेक्सन होला’, उनले भने, ‘तर साना र राम्रा कम्पनीमा अवसर नै अवसर छ।’
बजारको अबको यात्रा उकालो नै रहेको निरौलाको भनाइ छ। ‘बजार अहिले संयम भएर अगाडि बढिरहेको छ, यस्तो बेला लगानीकर्ताहरुले पनि सुझबुझका साथ लगानी गर्नुपर्छ’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ३ वटामा मात्रै हरियाली छाएको छ भने बाँकी ९ वटामा रातो पोतिएको छ।
यो दिन विकास बैंक समूह सर्वाधिक २०.१४ अंकले उकालो लागेको छ। बैंकिङ समूह १०.७९ अंकले बढेको आज म्युचुअल फन्ड समूहमा ०.०३ अंकको बढोत्तरी भएको छ।
आज जीवन बीमा समूह सर्वाधिक २१४.३९ अंकले ओेरालो लागेको छ। निर्जीवन बीमा समूह २०७.२२ अंकले घटेको यो दिन व्यापार समूहमा ४०.५९ अंक, होटेल्स समूहमा ४२.८५ अंक, जलविद्युत् समूहमा २५.५८ अंक, वित्त समूहमा १८.४६ अंक, उत्पादन तथा प्रशोधन समूहमा १०९.८५ अंक, अन्य समूहमा २२.०८ अंक र लघुवित्त समूहमा १२८.०५ अंकको गिरावट आएको छ।
सक्रिय लगानीकर्ता पीबी पोखरेल यो साताभरि बजारको बढाइ हेर्दा आजको घटाइलाई सामान्य रुपमा लिनुपर्ने बताउँछन्। ‘बजार बुलिस ट्रेन्डमा अगाडि बढिरहेको छ’, उनले भने, ‘सेयर बजारमा लगानीकर्ताहरुको बिछट्टै आकर्षण बढेको छ, बजारमा लगानी बढ्दै जानुलाई सकारात्मक रुपमा लिनुपर्छ।’
पोखरेल अबको बजारले ३५०० को यात्रा सजिलै तय गर्ने बताउँछन्। ‘यो विन्दु भनेको न्यूनतम हो’, उनले भने, ‘बैंकका सेयर अझै बढिसकेका छैनन्, बैंकिङ सेक्टरमा चमक आउनासाथ बजारले झन गति लिन्छ।’
बजारको करेक्सनलाई खरिदको अवसरका रुपमा लिनुपर्ने पोखरेलको तर्क छ। राज्यबाट पनि सेयर बजारप्रति सकारात्मक पहल भइरहेकोले लगानीकर्ताहरु डराइहाल्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २०६ कम्पनीका १ करोड ६० लाख ५८ हजार ४५८ कित्ता सेयर ८ अर्ब ४१ करोड १७ लाख ३२ हजार ३ रुपैयाँमा किनबेच भएको छ।
यो दिन डिप्रोक्स लघुवित्तको सर्वाधिक ५६ करोड ६३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको ३८ करोड ४० लाख रुपैयाँको कारोबार भएको आज कुमारी बैंकको ३२ कराड ३३ लाख रुपैयाँ, प्रभु बैंकको ३० करोड ३० लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको २७ करोड ८२ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २१ करोड ८२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २० करोड ६७ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको १८ करोड ६९ लाख रुपैयाँ, नेको इन्सुरेन्सको १७ करोड ७२ लाख रुपैयाँ र प्राइम कमर्सियल बैंकको १६ करोड १७ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज चन्द्रागिरी हिल्सका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरमूल्यमा ५ प्रतिशत बढीको बढोत्तरी भएको छ।
यस्तै सपोर्ट माइक्रोफाइनान्स र डिप्रोक्स लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। सपोर्टको सेयरमूल्यमा १० प्रतिशत र डिप्रोक्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago