काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार बजारमा दोहोरो अंकको करेक्सन आएको छ।
आज बजारमा ३२.६७ अंकको करेक्सन आएको हो। योसँगै नेप्से परिसूचक २६०७.६७ को विन्दुमा झरेको छ। यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ९.२२ अंकले ओरालो लाग्दै ४७०.३६ को विन्दुमा झरेको छ। आज झन्डै साढे ८ अर्ब रुपैयाँबराबरको सेयर किनबेच भएको छ।
बजार जानकार खगेन्द्र ढकाल आज बजारमा करेक्सन आउनुको मुख्य कारण राजनीतिक अन्यौलता नै रहेको बताउँछन्। ‘राजनीतिक अन्यौलताका कारण लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन्’, उनले भने, ‘लगानीकर्तामा डरको मनोविज्ञानले गर्दा बिक्रीको प्रेसर बढेका कारण पनि बजारमा असर पुगेको देखिन्छ।’
अर्को बुलिस ट्रेन्डमा रहेको बजारमा करेक्सन आउनु प्राकृतिक रहेको ढकालको भनाइ छ। ‘बजार बढ्नेमात्र होइन करेक्सन पनि आउनैपर्छ, यसले बजार बढ्न र लगानीकर्ताहरुलाई लगानीको अवसर सिर्जना गर्छ’, उनले भने।
सक्रिय लगानीकर्ता रघुनाथ अधिकारी आजको बजारमा उपसूचकहरुलाई हेर्दा हाइड्रो, अन्य र म्युचुअल फन्डमा वृद्धि भएको यसलाई सामान्य करेक्सन नै मान्नुपर्ने तर्क गर्छन्। ‘संसद् पुनस्र्थापना हुने कि संसद् भंग हुने भन्ने विषय पनि पेचिलो बनेको आजको राजनीतिक अवस्थाले नयाँ लगानीकर्ता सुरक्षित हुने मानसिकताले पनि काम गरेको दखिन्छ’, उनले भने, ‘तर भविष्यमा बजार बढ्ने नै हो, बजारको परिस्थितिलाई बुझेर लगानी गर्दा उचित हुन्छ।’
इन्स्योरेन्स, माइक्रो फाइनान्स, उत्पादन क्षेत्रमा केही दिनदेखि लगातार करेक्सन आइरहेकोमा टिप्पणी गर्दै अधिकारीले लगानीकर्ताहरु करेक्सन लम्बिने हो कि भनेर पर्ख र हेरको अवस्थामा रहेको बताए।
आज नेप्से उपसमूहमा रहेका १२ वटा समूहमध्ये २ वटामा मात्रै हरियाली छाएको छ भने बाँकी १० वटामा रातो पोतिएको छ।
यो दिन जलविद्युत् समूह ४५.८५ अंकले उकालो गर्दा अन्य समूहमा २७.८६ अंकको बढोत्तरी भएको छ।
आज जीवन बीमा समूह सबैभन्दा धेरै ३५१.३४ अंकले ओरालो लागेको छ। निर्जीवन बीमा समूह १०८.५१ अंकले घटेको यो दिन बैंकिङ समूहमा ५२.५५ अंक, व्यापार समूहमा ९२.७२ अंक, होटेल्स् समूहमा २१.१४ अंक, विकास बैंक समूहमा ६४.८५ अंक, वित्त समूहमा १३.७ अंक, उत्पादन तथा प्रशोधन समूहमा ५६.३३ अंक, लघुवित्त समूहमा ५६.९५ अंक र म्युचुअल फन्ड समूहमा ०.०३ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २०७ कम्पनीका २ करोड १६ लाख १४ हजार ४५२ कित्ता सेयर ८ अर्ब ४० करोड ६३ लाख १० हजार ६७१ रुपैयाँमा कारोबार भएका छन्।
यो दिन एनआईसी एसिया बैंकको सर्वाधिक ३८ करोड २४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। निफ्राको ३२ करोड १२ लाख रुपैयाँबराबरको कारोबार भएको आज निर्धन उत्थान लघुवित्तको ३० करोड ८३ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको २९ करोड ९८ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २९ करोड ८१ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको २९ करोड ५९ लाख रुपैयाँ, नेपाल बैंकको २९ करोड १४ लाख रुपैयाँ, नबिल बैंकको २४ करोड २६ लाख रुपैयाँ, प्रभु बैंकको २० करोड ६७ लाख रुपैयाँ र नेको इन्सुरेन्सको १८ करोड ८८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ७ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। आँखुखोला जलविद्युत र निफ्राको सेयरमूल्यमा १० प्रतिशत तथा नेपाल हाइड्रो, माथिल्लो तामाकोशी, चन्द्रागिरी हिल्स, शिवश्री हाइड्रोपावर र सनराइज फस्ट म्युचुअल फन्डको मूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो दिन खानीखोला हाइड्रोपावरको सेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।
यो दिन सेन्चुरी कमर्सियल बैंकका सेयरधनीहरुले धेरै गुमाएका छन्। यो बैंकको सेयरमूल्यमा ६ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago