ramendra raymajhi
काठमाण्डौ । पछिल्लो समय आक्रामक बिजिनेश गरिरहेको र समावेशी खालको म्युचुअल फण्डहरु पनि संचालन गरिरहेको एनआइसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले सेयर बजारको वास्तविक बुल आउन बाँकी रहेको दाबी गरेका छन् ।
बजारका विज्ञहरुको सहभागिता हुने यस्ता मर्चेन्ट बैंकका अधिकारीहरुको विश्लेषण निकै यथार्थपरक पनि हुन्छ । मर्चेन्ट बैंकहरुको व्यवस्थापनमा संचालनमा आएका म्युचुअल फण्डहरुले पनि दोश्रो बजारमै लगानी गर्ने हुँदा र त्यस्तो लगानीको निर्णयका लागि विज्ञहरुको टोली नै त्यहाँ हुने हुँदा यस्ता कम्पनी हाँकिरहेकाहरुको विश्लेषणलाई लगानीकर्ताले पनि ध्यान दिन जरुरी हुन्छ ।
एनआइसी एशिया क्यापिटलका सीइओ रायमाझीले वास्तविक बुल सुरु हुन बाँकी रहेको विश्लेषण गर्दै आफूहरुले प्रफिट बुकिङमा हतारो नगरेको समेत प्रष्ट पारे ।
‘अहिलेसम्म हामीले प्रफिट बुकिङको काम सुरु गरेका छैनौं, किनभने हाम्रो टार्गेट अझै मिट भएको छैन ।’ उनले भने–‘हामीले स्टप लसमा पनि जानु परेको छैन । वास्तविक बुल अझै आउन बाँकी रहेको र अहिलेको बुल अझै बिस्तार हुने निश्कर्षसहित हामी बजारलाई नजिकबाट नियालिरहेका छौं ।’
न प्रफिट बुक, न स्टप लसको नीतिको प्रष्ट संकेत र सन्देश नै बजार अझै माथि जाने भन्ने हो । ‘यदि अहिलेको बजारको गिरावट बियरिस हो भन्ने लाग्थ्यो भने हामी स्टपलसमा गइसक्थ्यौं, तर अहिले त्यो बेला भइसकेको छैन ।’–उनले थपे ।
रायमाझीले नेपालको सेयर बजार आफ्नो गतिमा कुदिरहेको प्रष्ट पार्दै बजार सधैं बढिरहन्छ भनेर सोच्न नहुनेमा जोड दिए । ‘यसअघि अन्य क्षेत्रमा लगानीका अवसर थिएनन् । सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका थिए ।’ उनले भने–‘पैसा पनि अझ बढी फालाफाल थियो । यसले समेत बजारलाई माथि पुर्याउन सहयोग गरेको हो ।’
उनले अहिले पनि बजारमा लगानीको राम्रो वातावरण भएको जिकिर गरे । ब्याजदर खासै नबढ्नु, डिम्याट खाता खोल्नेको संख्या ३१ लाख नजिक पुग्दा दोश्रो बजारमा समेत नयाँ लगानीकर्ताको ठूलै संख्यामा प्रवेश हुनु लगायतका कारणले पनि सुखद भविष्यको संकेत गरिरहेको उनको भनाई छ ।
‘बजार बढिरहँदा एउटा प्वाइन्टमा गएर प्रफिट बुकिङको कुरा आउँछ, त्यही भएर बजार घटिरहेको देखिएको हो ।’ उनले भने–‘अहिलेको बजारको गिरावट नर्मल कोर्स हो । यो हुनैपर्ने थियो । तर अब बिस्तारै बजारले नयाँ पिक हासिल गर्छ ।’
लगानीकर्ताहरुले लगानी गरेका विभिन्न कम्पनीहरुको अवस्थामा खासै परिवर्तन नआएको, उनीहरुको वित्तीय विवरणमा नकारात्मक प्रभाव समेत नदेखिएकोले आत्तिनुपर्ने अवस्था नरहेको उनको प्रष्टोक्ति छ । ‘बुल त बल्ल सुरु हुँदैछ, तर बुलिस बजार भन्नेबित्तिकै स्टेट लाइन भन्ने हुँदैन, बढिरहन्छ भन्ने हुँदैन ।’ उनले अझ प्रष्ट पार्दै भने–‘बीच बीचमा यसरी नै करेक्सन हुँदै अगाडि बढेको बजार नै दिगो र बलियो हुन्छ ।’
उनले पुनः बियरिस प्रवृति सुरु नभएको जिकिर गर्दै थपे–‘यदि त्यस्तो हुन्थ्यो भने नेपालका म्युचुअल फण्डहरु सेयर बेचेर बस्थे होलान्, तर एक दुई स्क्रीप्ट बाहेक अधिकांशमा त्यस्तो भएको छैन ।’
उनले पछिल्लो समय आफूहरुजस्ता संस्थागत लगानीकर्ताहरुको बजारको उपस्थितिलाई रिटेलरहरुको उपस्थितिले छायाँमा पारेको र रिटलेरहरुकै लगानी रणनीति र ट्रेण्डलाई पछ्याउनुपर्ने बाध्यता समेत रहेको खुलाए । ‘अहिले बजारमा बढी रिटेलर आएका कारण उनीहरुको साइड हेभी छ ।
पहिला संस्थागत लगानीकर्ताको हुन्थ्यो ।’ उनले भने–‘अब त रिटेलरहरुले के गरिरहेका छन् भन्ने कुरा महत्वपूर्ण बनिदियो । हामी उनीहरुको पछाडि गएनौं र आम लगानीकर्ताको मूभमेन्टलाई बुझेनौं भने बजारमा टिक्न गाह्रो छ । अहिले हामीजस्ता संस्थागत लगानीकर्ता त्यही मूभमेन्ट हेरेर बसेका छन् ।’
लगानीकर्ताले केमा ध्यान दिने ?
घटिरहेको बजारमा खरीदबिक्रीको निर्णय लिँदा लगानीकर्ताले चनाखो बन्नुपर्ने रायमाझीको सुझाव छ । ‘कम्पनीहरुको फण्डामेन्टल राम्रोसँग आफैंले हेर्नुपर्छ, वित्तीय सूचकहरुलाई केलाउन सक्नुपर्छ ।’ उनले भने–‘कहिल्यै पनि अनावश्यक हल्लाको पछाडि दौडिनु हुन्न । कुनै सूचना आइहाले पनि त्यसको सत्यतथ्य जाँच गर्न सक्नुपर्छ ।’
अहिलेको बजारमा कम्पनीको विषयमा राम्रो बुझेर प्रवेश गर्नेले भविष्यमा राम्रो रिटर्न पाउनसक्ने उनको विश्लेषण छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19