काठमाण्डौ । लगातार घटिरहेको बजार आज मंगलबार झिनो अंकले बढेको छ। 

धितोपत्र कारोबार हुने साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक २.५६ अंकले उकालो लागेको हो। योसँगै परिसूचक २३९१.७४ को विन्दुमा उक्लिएको छ। आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.४४ अंकले बढेर ४३०.४९ को विन्दुमा पुगेको छ।

आज कारोबार रकम भने घटेर ३ अर्ब ३७ करोड रुपैयाँको हाराहारीमा भएको छ।

नेपाल इन्भेस्टर फोरमका उपाध्यक्ष तुलसीराम ढकाल छोटो समयमै ह्वात्तै बढेको बजार अहिले अफ सिजनमा सामान्य करेक्सन आउनु प्राकृतिक नै रहेको बताउँछन्। ‘बजारमा लगातार करेक्सन आउनुमा राजनीतिक महौल र तरलतामा परेको दबाबले ब्याजदर बढ्न सक्ने सम्भावनाका समाचारहरुले पनि भूमिका खेलेका छन्’, उनले भने, ‘अहिले लगानीकर्ताहरुले ब्याज तिर्ने बेला पनि हो। त्यसैले बजार घट्दै गयो।’

आज बजार पोजेटिभ भएको उल्लेख गर्दै ढकालले भने, ‘लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन्, यही कारणले पनि कारोबार रकम ह्वात्तै घटेको छ।’

अझै एक–दुई हप्ता बजारको गति यस्तै हुन सक्ने ढकालले बताए। ‘बैंक तथा वित्तीय संस्थाहरुको सेयरमूल्य अझै बढेका छैनन्’, उनले भने, ‘बैंक तथा वित्तीय संस्थाहरुको सेयरमूल्य बढ्न थालेपछि बजारमा वास्तविक बुल आउन सक्छ।’

सक्रिय लगानीकर्ता विष्णु घिमिरे राजनीति माहौल कस्तो बन्ला भन्ने पर्खाइमा रहेको बताउँछन्। ‘त्यसैले सक्रिय लगानीकर्ताहरु प्रायः पर्ख र हेरको अवस्थामा छन्’, उनले भने।

बजार धेरै तल जाने सम्भावना कम रहेको घिमिरेको भनाइ छ। यस्तो बेला संस्थागत लगानीकर्ताहरु बजारमा प्रवेश गर्नुपर्ने उनको सुझाव छ।  

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ। यो दिन जीवन बीमा समूह सर्वाधिक २३०.२९ अंकले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह ८६ अंकले बढेको आज बैंकिङ समूह ३.६७ अंक, वित्त समूहमा १.२१ अंक, उत्पादन तथा प्रशोधन समूहमा २३.२५ अंक, लघुवित्त समूहमा २७.३६ अंक र लगानी समूहमा ०.२ अंकको बढोत्तरी भएको छ। 

यो दिन व्यापार समूह सर्वाधिक ७२.५९ अंकले ओरालो लागेको छ। निर्जीवन बीमा समूह ६२.६ अंकले घटेको आज विकास बैंक समूहमा २.३५ अंक, जलविद्युत् समूहमा ३१.८३ अंक, अन्य समूहमा २०.११ अंक र म्युचुअल फन्ड समूहमा ०.०१ अंकको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २१६ कम्पनीका ९० लाख १२ हजार ८५३ कित्ता सेयर ३ अर्ब ३७ करोड ५६ लाख ९९ हजार ३३९ रुपैयाँमा कारोबार भएको छ।

यो दिन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक १९ करोड ३८ लाख रुपैयाँबराबरको कारोबार भएको छ। माथिल्ला तामाकोशीको १८ करोड ८५ लाख रपैयाँको कारोबार भएको आज निफ्राको १७ करोड २ लाख रुपैयाँ, नबिल बैंकको १३ करोड ८९ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १२ करोड १६ लाख रुपैयाँ, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको १० करोड ५६ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ८ करोड ७७ लाख रुपैयाँ, नेको इन्सुरेन्सको ७ करोड ९५ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको ७ करोड ८२ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको ७ करोड ५८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज चारवटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन चन्द्रागिरी हिल्स, जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रो र ग्रनलाइफ हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो दिन खानीखोला हाइड्रोपावरको सेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।

यो दिन राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयरमूल्यमा ९ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।