काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार बजारमा दोहोरो अंकको करेक्सन आएको छ।
बजार आज २४.०८ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २५१४.३९ को विन्दुमा झरेको छ भने राम्रा र बलिया कम्पनीको सूचक ४.७९ अंकले घटेर ४४८.८० को विन्दुमा समेटिएको छ। आज सवा ५ अर्ब रुपैयाँ बढीको सेयर किनबेच भएको छ।
सरस्वती क्याम्पसका एमबीएम संकायका निर्देशक केपी पाण्डेले आज घट्नुलाई सामान्य रुपमा लिनुपर्ने बताए। ‘आज बजारमा करेक्सन आएको हो, यो बुलिस बजारको सामान्य प्रतिक्रिया नै हो’, उनले भने, ‘बजार धेरै तल जाने सम्भावना छैन।’
अहिले बजारमा धेरै लगानीकर्ताले व्यक्तिगत ओडी चलाएकाले बजार लगानी थपिएको उल्लेख गर्दै पाण्डेले यो हिसाबले बजार तत्काल ह्वात्तै घट्ने सम्भावना नरहेको बताए।
पछिल्लो समय सेयर बजारमा देखिएको चमकले नेपालमा लगानीको बाटो नै परिवर्तन गरिदिएको पाण्डेको भनाइ छ। ‘हिजोको परिस्थितिमा घरजग्गामा पैसा लगाउनेहरु धनीमानी मानिन्थे’, उनले भने, ‘तर अहिलेको परिस्थितिमा सेयरको पोर्टफोलियो हेरे धनी मान्नुपर्ने अवस्था आइसकेको छ।’
कोरोनाको अवस्था सामान्य बन्दै गएकोले पर्यटन क्षेत्र चलायमान हुन थालेपछि होटेल तथा पर्यटन समूहमा उछाल आउन थालेको पाण्डेको तर्क। ‘त्यस्तै जलविद्युत् कम्पनीहरुको लगानी भनेको पेन्सन फन्डजस्तै हो’, उनले भने, ‘करिब ६–७ वर्षपछि जलविद्युत् कम्पनीमा चमक देखिन थालेको छ, यसको अर्थ यी कम्पनीहरुले आकर्षक लाभांश दिने सम्भावना बढेको छ।’
पाण्डेले बैंकहरुले उच्च आम्दानी हुने क्षेत्रहरुमा लगानी गरेको हुँदा बैंकहरुको आउँदो त्रैमास रिपोर्ट राम्रै आउने सम्भावना रहेको बताए।
नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटामा मात्र हरियाली छाएको छ भने बाँकी ११ वटामा रातो पोतिएको छ। आज होटेल तथा पर्यटन समूह १०४.९७ अंकले उकालो लाग्दा जलविद्युत् समूहमा १०१.७३ अंकको बढोत्तरी भएको छ।
यो दिन जीवन बीमा समूह सर्वाधिक ३१५.९६ अंकले ओरालो लागेको छ। निर्जीवन बीमा समूह १८३.५८ अंकले घटेको आज बैंकिङ समूहमा २१.४८ अंक, व्यापार समूहमा १६.५ अंक, विकास बैंक समूहमा १९.५३ अंक, वित्त समूहमा ८.१९ अंक, उत्पादन तथा प्रशोधन समूहमा १२९.२२ अंक, अन्य समूहमा ३०.६२ अंक, लघुवित्त समूहमा ९२.७८ अंक, म्युचुअल फन्ड समूहमा ०.०५ अंक र लगानी समूहमा १.४ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २११ कम्पनीका १ करोड ९ लाख ३१ हजार ३५८ कित्ता सेयर ५ अर्ब ३५ करोड १३ लाख ५३ हजार ६२५ रुपैयाँमा कारोबार भएका छन्।
यो दिन माथिल्लो तामाकोशीको सर्वाधिक ४६ करोड ९६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल बंगलादेश बैंकको ३१ करोड ४३ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल लाइफ इन्स्योरेन्सको २६ करोड २२ लाख रुपैयाँ, डिप्रोक्स लघुवित्तको २५ करोड ४० लाख रुपैयाँ, निफ्राको १९ करोड ७७ लाख रुपैयाँ, नबिल बैंकको ११ करोड ७३ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको १० करोड ३३ लाख रुपैयाँ, नेरुडे लघुवित्तको ९ करोड ४८ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ९ करोड ३२ लाख रुपैयाँ र छिमेक लघुवित्तको ९ करोड ६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज २ कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। माथिल्लो तामाकोशीको सेयरमूल्यमा १० प्रतिशत र चन्द्रागिरी हिल्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो।
यो दिन प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य ५ प्रतिशतको हाराहारी ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago