काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार बजारमा दोहोरो अंकको करेक्सन आएको छ।

आज बजारमा २१.२९ अंकको करेक्सन आएको छ। योसँगै नेप्से परिसूचक २५४८.९६ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.६४ अंकले घटेर ४५०.३१ को विन्दुमा ओर्लिएको छ। आज कारोबार रकम भने बढेर साढे ६ अर्ब रुपैयाँको भएको छ। 

नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार आजको घटाइलाई बजारको सामान्य करेक्सनका रुपमा लिन्छन्। ‘करेक्सन आउनु बजारको नियम नै हो, यसलाई इन्ट्राडे करेक्सन भन्दा पनि हुन्छ’, उनले भने, ‘करेक्सन आएको दिन राम्रा–राम्रा कम्पनीका सेयर उठाउनु उचित हुन्छ।’

पछिल्लो समय नेपालको पुँजीबजार विकास र विस्तार भएको उल्लेख गर्दै रौनियारले अहिले बैंकहरुको ब्याजदर पनि एकल विन्दुमा रहेकोले सानातिना करेक्सन आउँदैमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको स्पष्ट पारे। ‘पछिल्लो समय तरलता सहज हुँदै गएको छ’, उनले भने, ‘ब्याजदर तत्काल बढ्ने सम्भावना पनि छैन।’

सक्रिय लगानीकर्ता मेघानाथ निरौलाले बुलिस ट्रेन्डमा रहेको बजार करेक्सन आउनैपर्ने र यस्ता करेक्सनले बजार थप मजबुत हुने बताउँछन्। ‘केही दिन बजार बढेको थियो, त्यसले आज करेक्सन आयो’, उनले भने।

निरौलाले बैंकिङ समूह बढ्न अझै केही समय लाग्ने बताए। ‘बीमा तथा लघुवित्त समूह चलेपछि अनि बैंकको पालो आउँछ’, उनले भने, ‘बैंकमा बुल नआएसम्म बुलिस ट्रेन्ड सकिँदैन।’ 

नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ३ वटामा मात्रै हरियाली छाएको छ भने बाँकी १० वटामा रातो पोतिएको छ। 

आज व्यापार समूह सर्वाधिक १७४.८८ अंकले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह १५४.०७ अंकले बढेको आज लगानी समूहमा १.१९ अंकको बढोत्तरी भएको छ।

यो दिन जीवन बीमा समूह सर्वाधिक १६९.८ अंकले ओरालो लागेको छ। निर्जीवन बीमा समूह ५४.१५ अंकले घटेको आज बैंकिङ समूहमा १९.६७ अंक, विकास बैंक समूहमा १९.९२ अंक, जलविद्युत् समूहमा ४४.२९ अंक, वित्त समूहमा २.८८ अंक, उत्पादन तथा प्रशोधन समूहमा ४९.६३ अंक, अन्य समूहमा ३७.२२ अंक, लघुवित्त समूहमा ४७.५४ अंक, म्युचुअल फन्ड समूहमा ०.१ अंकको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २०८ कम्पनीका १ करोड २५ लाख ४८ हजार १४६ कित्ता सेयर ६ अर्ब ५० करोड ८ लाख ६ हजार ४० रुपैयाँमा किनबेच भएका छन्। 

आज निफ्राको सर्वाधिक ९१ करोड ८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। माथिल्लो तामाकोशीको २६ करोड ९७ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन सिद्धार्थ इन्स्योरेन्सको २३ करोड ५१ लाख रुपैयाँ, नेपाल बंगलादेश बैंकको २२ करोड ९२ लाख रुपैयाँ, नेको इन्सुरेन्सको १५ करोड ४९ लाख रुपैयाँ, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको १५ करोड १८ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड ९८ लाख रुपैयाँ, एनसीसी बैंकको ११ करोड १७ लाख रुपैयाँ, प्रिमियर इन्स्योरेन्सको १० करोड ९२ लाख रुपैयाँ र निर्धन उत्थान लघुवित्तको १० करोड ८४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ३ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। चन्द्रागिरी हिल्सको सेयरमूल्यमा १० प्रतिशत तथा सपोर्ट माइक्रोफाइनान्स र वोमी लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। 
यो दिन नेपाल बंगलादेश बैंकका सेयरधनीहरुले धेरै गुमाए। यो बैंकको सेयरमूल्यमा ६ प्रतिशत बढीको गिरावट आएको छ।