काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको चौथो दिन बुधबार बजारमा झिनो अंकको करेक्सन आएको छ।
बजारमा २.८५ अंकको करेक्सन आएको छ। योसँगै नेप्से परिसूचक २६७१.६१ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक भने ०.६२ अंकले बढेर ४७६.८० को विन्दुमा उक्लिएको छ। आज कारोबार रकम पनि घटेर सवा ७ अर्ब रुपैयाँबराबरको हाराहारीमा भएको छ।
बजार जानकार मेघनाथ निरौला आजको बजार घटाइलाई सामान्य करेक्सनका रुपमा लिनुपर्ने बताउँछन्। ‘आजसम्म ब्याज तिर्नुपर्ने चटारो थियो, त्यसैले आज बजारमा बिक्रीचाप बढी हुँदा सामान्य करेक्सन आयो’, उनले भने।
निरौलाले विस्तार सबै सेक्टर उकालो लाग्ने पनि बताए। ‘आफ्नो क्षमता हेरेर जोखिम कम भएका सुरक्षित कम्पनीमा लगानी गर्नुपर्छ’, उनले भने।
बजार बुलिस ट्रेन्डमा रहेकोले वित्तीय अवस्था राम्रा भएका कम्पनीमा लगानी गर्दा उचित प्रतिफल प्राप्त हुने निरौलाको तर्क छ। ‘केही दिनदेखि विकास बैंकहरु चलेको देखिन्छ’, उनले भने, ‘अब केही समयपछि वाणिज्य बैंकहरु पनि चल्नेछन्, अन्य क्षेत्रमा पनि अवसर आउँछ र बजार माथि नै जाने हो।’
सक्रियता लगानीकर्ता प्रकाश न्यौपाने लगातार बढेको बजारले आज विश्राम लिएको बताउँछन्। ‘केही दिनको बढाइपछि आज नाफा बुक गर्दा करेक्सन आएको हो’, उनले भने, ‘लगानीकर्ताहरु कम्पनीहरुको तेस्रो त्रैमासको रिपोर्ट पर्खेर बसेजस्तो देखिन्छ, लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन्।’
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ६ वटामा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ। यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक २३२.६४ अंकले उकालो लागेको छ। लघुवित्त समूह १०७.४४ अंकले बढेको आज बैंकिङ समूहमा ५.२३ अंक, विकास बैंक समूहमा ४०.५२ अंक, वित्त समूहमा ०.९८ अंक र म्युचुअल फन्ड समूहमा ०.०४ अंकको बढोत्तरी भएको छ।
यो दिन निर्जीवन बीमा समूह सर्वाधिक २०१.३९ अंकले ओरालो लागेको छ। व्यापार समूह १६३ अंकले घटेको आज जलविद्युत समूहमा ३३.०३ अंक, उत्पादन तथा प्रशोधन समूहमा ८०.५५ अंक, अन्य समूहमा १८.९१ अंक, जीवन बीमा समूहमा १०६.६९ अंक र लगानी समूहमा १.७३ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमधये २१५ कम्पनीका १ करोड ६५ लाख ९३ हजार ५०१ कित्ता सेयर ७ अर्ब २६ करोड ६९ लाख ७२ हजार ५७० रुपैयाँमा किनबेच भएको छ।
यो दिन निफ्राको सर्वाधिक २७ करोड ६३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। चिलिमे हाइड्रोपावरको २२ करोड १५ लाख रुपैयाँबराबरको कारोबार भएको आज छिमेक लघुवित्तको १९ करोड ४३ लाख रुपैयाँ, वोमी लघुवित्तको १८ करोड १७ लाख रुपैयाँ, नेपाल टेलिकमको १५ करोड ८० लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको १५ करोड ४० लाख रुपैयाँ, रसुवागढी हाइड्रोपावरको १५ करोड १७ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १५ करोड १६ लाख रुपैयाँ, माथिल्ला तामाकोशीको १४ करोड ४४ लाख रुपैयाँ र चन्द्रागिरी हिल्सको १४ करोड ३४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ५ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। महिला लघुवित्त, चन्द्रागिरी हिल्स, एनआईसी एसिया लघुवित्त, रिलायन्स फाइनान्स र युनिभर्सल पावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो दिन खानीखोला हाइड्रोपाव र ज्योति लाइफ इन्स्योरेन्सको सेयरभाउ पनि ८ प्रतिशतको हाराहारीमा उकालो लागेको छ।
यो दिन राइराङ हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ७ प्रतिशत बढीको गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago