काठमाण्डौ । लगातार ३ दिन बढेको बजारमा आज मंगलबार सामान्य करेक्सन आएको छ।
आज बजारमा ६.५० अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २८१६.५६ को विन्दुमा झरेको छ।
राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.५१ अंकले घटेर ५०३.९९ को विन्दुमा समेटिएको छ। कारोबार रकम पनि हिजोको तुलनामा घटेर ११ अर्ब रुपैयाँ बढीमा सीमित बनेको छ।
ब्रोकर नं. १४ का सञ्चालक ईश्वरी रिमाल आज बजार सामान्य विश्राम लिएको बताउँछन्। ‘लगातार बढेको बजार आज घट्यो, यो प्राकृतिक करेक्सन हो’, उनले भने।
बजार घट्ने अन्य कारण नरहेको पनि रिमालको भनाइ छ। ‘कारोबार रकम ११ अर्ब रुपैयाँभन्दा माथि छ, यसले बजारलाई सपोर्ट गरेको देखिन्छ’, उनले भने, ‘केही दिन बढेकोले बजार घटेको हो, अझै केही दिन बजारमा करेक्सन आउन सक्छ।’
अब बजारको यात्रा आगामी आर्थिक वर्षको बजेट आएपछि निर्धारण हुने पनि रिमालको बुझाइ छ। ‘बजेट कस्तो आउँछ, त्यसले बजारको दिशा तय गर्न सक्छ’, उनले भने।
त्यसो त रिमालले अहिले बजार सर्टटर्म कारोबार धेरै रहेको बताउँछन्। ‘आज लगानी गरेर भोलि प्रतिफल खोज्नेहरु अहिले बजारमा धेरै छन्’, उनले भने, ‘यो जोखिमपूर्ण छ, लगानीकर्ताले सुझबुझका साथ लगानी गर्दा उत्तम हुन्छ।’
सक्रिय लगानीकर्ता रोहन कार्की पनि आजको बजार घटाइलाई सामान्य करेक्सनका रुपमा लिनुपर्ने बताउँछन्। ‘कारोबार ११ अर्ब रुपैयाँभन्दा माथि नै भएको छ, यो सुखद् पक्ष हो’, उनले भने, ‘यसले बजारलाई परिपक्व पारेको जस्तो देखिन्छ।’
अहिले बजार सेक्टरवाइज चलिहेको पनि कार्की बताउँछन्। ‘हिजोअस्ति बैंक तथा वित्तीय संस्थामा केही चमक देखिएको थियो, आज बीमा र हाइड्रोमा चमक देखियो’, उनले भने।
अहिले लगानीकर्ताको मनोबल पनि उच्च रहेकोले बजार अझै माथि जाने सम्भावना कायमै रहेको कार्की बताउँछन्। ‘बजार बुलिस ट्रेन्डमा रहेको छ’, उनले भने, ‘अन्य क्षेत्रका मानिस पनि अहिले सेयर बजारमै झुम्मिएका छन्, यसले बजारको महौल निकै तताएको छ।’
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ६ वटामा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ। यो दिन जीवन बीमा समूह सर्वाधिक ४३१.५९ अंकले उकालो लागेको छ। निर्जीवन बीमा समूह २५३.०९ अंकले बढेको आज जलविद्युत समूहमा ६४.५५ अंक, व्यापार समूहमा ४०.२५ अंक, लघुवित्त समूहमा २.३१ अंक र म्युचुअल फन्ड समूहमा ०.०२ अंकको बढोत्तरी भएको छ।
यो दिन विकास बैंक समूह सर्वाधिक ५३.४६ अंकले ओरालो लागेको छ। अन्य समूह २९.१२ अंकले घटेको आज बैंकिङ समूहमा २५.५७ अंक, होटेल तथा पर्यटन समूहमा २७.८९ अंक, वित्त समूहमा १.७४ अंक, उत्पादन तथा प्रशोधन समूहमा २२.५१ अंक र लगानी समूहमा १.१७ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २१९ कम्पनीका २ करोड ३४ लाख ६५ हजार ६७५ कित्ता सेयर ११ अर्ब १३ करोड ३३ लाख ९६ हजार १०८ रुपैयाँमा किनबेच भएका छन्।
आज अरुण काबेली पावरको सर्वाधिक ३३ करोड ८३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एसियन लाइफ इन्स्योरेन्सको ३३ करोड ७ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन एचआईडीसीएलको ३० करोड ३४ लाख रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको २९ करोड १७ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको २७ करोड ८५ लाख रुपैयाँ, गुराँस लाइफ इन्स्योरेन्सको २६ करोड १८ लाख रुपैयाँ, युनाइटेड इन्स्योरेन्सको २४ करोड ४७ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको २३ करोड ९३ लाख रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सको २० करोड ५६ लाख रुपैयाँ र प्राइम लाइफ इन्स्योरेन्सको १९ करोड ६० लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ४ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। बरुण हाइड्रोपावर, माउन्टेन हाइड्रो, युनिभर्सल पावर र घलेम्दी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो दिन दिव्यश्वरी हाइड्रोपावरको सेयरभाउ पनि ९ प्रतिशतको हाराहारीमा उकालो लागेको छ।
यो दिन मल्टीपर्पस फिनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ३ प्रतिशत बढीको गिरावट आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19