काठमाण्डौ । राष्टबैंकले हठात ल्याएका केही नयाँ नीतिका कारण बजार प्यानिक हुने आम अनुमानविपरीत सेयर बजारले एकैदिन निकै धेरै कीर्तिमानको इतिहास बनाएको छ । 

कारोबारको अधिकांश समय उतारचढावपूर्ण अवस्थाबाट गुज्रिएको बजारमा कारोबार रकम लगायतका सूचकमा नयाँ कीर्तिमान बनेको हो । 

यो दिन नेप्से परिसूचक भने १.२० अंकको झिनो अंकले घट्यो । बाँकी सबै सूचकमा रेकर्ड बन्यो । 

बैंकिङ प्रणालीमा तरलता थुप्रिदै जाँदा, लगातारको निषेधाज्ञाका कारण अन्य क्षेत्रको लगानी समेत बजारमा आउँदा र बैंक ब्याजदर समेत घटिरहेका कारण यसले बजारमा दैनिकजसो नयाँ नयाँ कीर्तिमान बनाउन सहयोग पुगेको हो । 

साताको अन्तिम कारोबार दिन बिहीबार बजारमा हालसम्मकै सर्वाधिक कारोबारको रेकर्ड बन्यो । यो दिन १४ अर्ब ७६ करोड ८८ लाख बढीको सेयर कारोबार भयो । यसअघि सोमबार १३ अर्ब १७ करोड ५३ लाख बढीको सेयर कारोबारको रेकर्ड बनेको थियो । त्यसलाई बिहीबारको कारोबारले उछिनेर नयाँ कीर्तिमान बनाएको छ।

बजारका जानकारहरुले दैनिक सेयर कारोबार २० अर्ब पुग्छ भनिरहेको बेला दैनिक रुपमा बढिरहेको कारोबारको आकारले त्यो दिन धेरै टाढा छैन भन्ने कुरा बुझ्न सकिन्छ । 

नेप्सेमा आज हालसम्मकै सबैभन्दा धेरै कित्ताको कारोबारको रेकर्ड पनि बनेको छ । यो दिन ४ करोड १८ लाख १३ हजार बढी कित्ता सेयरको कारोबार भयो । यसअघि सोमबार २ करोड ७१ लाख ४० हजार २०२ कित्ताको सेयर कारोबारको नयाँ कीर्तिमान बनेको थियो । त्यसलाई तोडेर बिहीबारको बजारले कुल कारोबार कित्तामा समेत नयाँ कीर्तिमान बनाएको हो । 

यो दिन कारोबार संख्यामा समेत नयाँ कीर्तिमान बनेको छ । यो दिन १ लाख ४७ हजार ४९३ वटा कारोबारको नयाँ कीर्तिमान पनि बनेको छ । सोमबार कायम १ लाख ३६ हजार ४९९ वटा कारोबारको कीर्तिमान आज तोडिएको हो । 

यो दिन बजार पूँजीकरणमा पनि नयाँ रेकर्ड बनेको छ ।