काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार बजार दोहोरो अंकले ओरालो लागेको छ। 

बजार आज ११.६८ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २७७१.१५ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.६९ अंकले ओरालो लागेर ४९६.८६ को विन्दुमा समेटिएको छ।

आज कारोबार रकम घटेर साढे ८ अर्ब रुपैयाँ बढीको भएको छ। 

नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार आजको घटाइलाई सामान्य मान्नुपर्ने बताउँछन्। ‘अल्पकालीन लगानीकर्ताले नाफा बुक गर्दा बजारमा करेक्सन आएको हो’, उनले भने।

आज कारोबार रकम घट्नुको मुख्य कारण बजार घटेको बेला लगानीकर्ताहरुले सेयर बेच्न नचाहेकोले हुन सक्ने रौनियार बताउँछन्। ‘अनि केही लगानीकर्ता सेफ साइडमा बसेका हुन सक्छन्’, उनले भने।

बजार बुलिस ट्रेन्डमै रहेको रौनियारले बताए। ‘बुलिस बजारमा सामान्य करेक्सनहरु आउनैपर्छ, यसले बजारलाई थप मजबुत पार्छ’, उनले भने, ‘बजार धेरै तल जाने सम्भावना नै छैन। होसियारीपूर्वक लगानी गर्दा राम्रो हुन्छ।’

बजार जानकार प्रकाश न्यौपाने बजेट सेयर बजारका उत्साहजनक नरहेकै कारण केही दिनयता बजारमा करेक्सन आइरहेको बताउँछन्। ‘अब आउने मौद्रिक नीतिले बजारको बाटो तय गर्ने देखिन्छ’, उनले भने, ‘त्यसैले बजारमा अझै केही दिन करेक्सन आउन सक्छ।’ 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ३ वटामा मात्र हरियाली छाएको छ भने बाँकी १० वटामा रातो पोतिएको छ।

यो दिन विकास बैंक समूह सर्वाधिक २१.४१ अंकले उकालो लागेको छ। अन्य समूह १४.७१ अंकले बढ्दा वित्त समूहमा १.८८ अंकको बढोत्तरी भएको छ।

आज जीवन बीमा समूह सर्वाधिक १७६.६७ अंकले ओरालो लागेको छ। निर्जीवन बीमा १२३.९९ अंकले घट्दा बैंकिङ समूहमा ११.७६ अंक, व्यापार समूहमा ८३.५९ अंक, होटेल तथा पर्यटन समूहमा ९१.१६ अंक, जलविद्युत समूहमा २८.३८ अंक, उत्पादन तथा प्रशोधन समूहमा ३९.०१ अंक, लघुवित्त समूहमा १७.६८ अंक, म्युचुअल फन्ड समूहमा ०.०१ अंक र लगानी समूहमा ०.६७ अंकको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २१६ कम्पनीका १ करोड ९७ लाख ८३ हजार ३५४ कित्ता सेयर ८ अर्ब ५९ करोड ८१ लाख ६० हजार ११७ रुपैयाँमा किनबेच भएको छ।

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ५७ करोड ८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। लुम्बिनी विकास बैंकको ३० करोड ३८ लाख रुपैयाँबराबरको कारोबार भएको आज राधी विद्युतको २३ करोड ३५ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको १६ करोड ५३ लाख रुपैयाँ, एसियन लाइफा इन्स्योरेन्सको १६ करोड ३७ लाख रुपैयाँ, ज्योति विकास बैंकको १५ करोड ९३ लाख रुपैयाँ, अरुण काबेलीको १५ करोड ८४ लाख रुपैयाँ, एचआईडीसीएलको १५ करोड २५ लाख रुपैयाँ, निफ्राको १५ करोड १ लाख रुपैयाँ र चिलिमे जलविद्युतको १४ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज कालिका पावर कम्पनीका सेयरधनीहरु मालामाल भएका छन्। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको बढोत्तरी भएर पोजेटिभ सर्किट लागेको छ। यसैगरी लक्ष्मी विकास बैंकको सेयरभाउ पनि ८ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।

यो दिन दिव्यश्वरी हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ५ प्रतिशत बढीले ओरालो लागेको छ।