काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको चौथो दिन बुधबार बजारमा दोहोरो अंकको करेक्सन आएको छ।
आज बजार १३.५६ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २९४६.५८ को विन्दुमा ओर्लेको छ। हिजो मंगलबार नेप्सेले अल टाइम हाई रेकर्ड कायम बनाएको थियो। यो दिन ५३.४४ अंकले बढेर २९६०.१४ को विन्दुमा उक्लिएको थियो।
आज कारोबार रकम पनि झन्डै १७ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
ब्रोकर एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाट आज करेक्सन प्राकृति रहेको बताउँछन्। ‘किनकि बढ्दो बजारमा करेक्सन आउनै पर्छ’, उनले भने, ‘तर करेक्सन आउँदैमा आत्तिनुपर्ने अवस्था भने छैन।’
कोरोनाकालमा अन्य क्षेत्रमा लगानीको सम्भावना नभएकोले लगानीकर्ताको रोजाइमा सेयर बजार परेको रानाभाट बताउँछन्। ‘जसका कारण नेपालमात्र होइन विश्वभरका सेयरमा उछाल आएको छ’, उनले भने, ‘बढ्दो बजारमा अवसर छोप्न सक्नुपर्छ। त्यसैले सचेत भएर लगानी गर्दा राम्रै प्रतिफल हासिल गर्ने पर्याप्त अवसर छन्।’
बजार जानकार मेघनाथ निरौला बजारको आजको घटाइलाई सामान्य करेक्सनका रुपमा लिनुपर्ने बताउँछन्। ‘बुलिस ट्रेन्डमा करेक्सनले बजारलाई थप मजबुत र दिगो बनाउँछ’, उनले भने, ‘अझै १–२ करेक्सन आउन सक्छ, जुन बजारको स्थायित्वका लागि निकै आवश्यक छ।’
अघिल्लो बुलिस ट्रेन्ड र अहिलेको बुलिस ट्रेन्डमा निकै फरक रहेको निरौला बताउँछन्। ‘अघिल्लो बुलिस ट्रेन्डमा राम्रा र बलिया कम्पनी बढेका थिए, अहिले ठीक विपरीत कमजोर कम्पनीका सेयरभाउ उचालिएको छ’, उनले भने, ‘त्यही भएर अहिलेको बजारमा जोखिम धेरै देखिएको छ, सचेत भएर लगानी नै उत्तम हुन्छ।’
यो बुलिस ट्रेन्डमा आधारभूत पक्ष राम्रा र बलिया कम्पनीहरुको सेयरमा लगानी गर्दा उचित हुने निरौलाको सुझाव छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ६ वटामा हरियाली छाएको भने ७ वटामा रातो पोतिएको छ। यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ३.९८ प्रतिशतले उकालो लागेको छ। वित्त समूह २.०४ प्रतिशतले बढेको आज जीवन बीमा समूहमा ०.१७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०३ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.२५ प्रतिशत र व्यापार समूहमा १.९२ प्रतिशतको बढोत्तरी भएको छ।
यो दिन बैंकिङ समूह सर्वाधिक ४.४१ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह १.३५ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.५८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.०६ प्रतिशत, जलविद्युत समूहमा ०.५३ प्रतिशत, लगानी समूहमा ०.९९ प्रतिशत र लघुवित्त समूहमा ०.३४ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२१ कम्पनीका ३ करोड १३ लाख ५४ हजार २२ कित्ता सेयर १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७०३ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ८७ करोड ९४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको ६१ करोड ८० लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल इन्स्योरेन्सको ५१ करोड ६ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको ४८ करोड २८ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको ४७ करोड १४ लाख रुपैयाँ, शिवम सिमेन्टको ३९ करोड ७७ लाख रुपैयाँ, ज्योति विकास बैंकको ३६ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सको ३५ करोड ६१ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३३ करोड २९ लाख रुपैयाँ र मुक्तिनाथ विकास बैंकको ३० करोड २५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ८ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। नेपाल इन्स्योरेन्स, युनाइटेड मोदी हाइड्रोपावर, रिडी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, सीईडीबी हाइड्रोपावर, बरुण हाइड्रोपावर, प्रभु इन्स्योरेन्स र पोखरा फाइनान्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ।
आज गोर्खाज फाइनान्स र गुडविल फाइनान्सको सेयरमूल्य पनि ९ प्रतिशतको हाराहारीमा उकालो लागेका छन्।
यो दिन युनाइटेड इदी मर्दीका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago