काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार पनि बजारमा भारी करेक्सन आएको छ।
आज बजारमा ७१.०६ अंकको करेक्सन आएको हो। योसँगै नेप्से परिसूचक २८३४.४१ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.३७ अंकले घटेर ५२०.१८ को विन्दुमा झरेको छ।
बजारमा आज साढे ११ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।
नेपाल इन्भेस्टर फोरमका उपाध्यक्ष तुलसीराम ढकाल बजारको घटाइलाई प्राकृतिक करेक्सनका रुपमा लिनुपर्ने बताउँछन्। ‘बजारको स्थायित्वका लागि करेक्सन आउनैपर्छ’, उनले भने, ‘अहिले बजारमा लगानीको अवसर रहेको छ। यतिबेला सेयर उठाउनेले भविष्यमा राम्रै प्रतिफल पाउनेछन्।’
बैंक ब्याजर नबढ्नु, लगानीका अन्य क्षेत्र नहुनु, अनलाइनबाटै सहजै कारोबार गर्न सकिने वातावरण हुनुलगायतका कारण बजार छिटै लयमा फर्किने सम्भावना रहेको ढकाल बताउँछन्। ‘यो बेला राम्रा कम्पनीहरुमा लगानी गर्नु उचित देखिन्छ’, उनले भने।
यो सामान्य करेक्सन नै रहेकोले आत्तिएर सेयर बेचेर बजारबाट बाहिरनुपर्ने अवस्था नरहेको ढकाल बताउँछन्। ‘अहिले सकभर लगानी थप्ने हो, नभए आफूसँग रहेका सेयर होल्ड गर्ने हो’, उनले भने।
ब्रोकर नं. १४ का सञ्चालक ईश्वरीप्रसाद रिमाल आजको घटाइलाई पनि सामान्य करेक्सनकै रुपमा लिनुपर्ने बताउँछन्। ‘बजारमा अझै १००÷१५० अंकको करेक्सन आउन सक्छ’, उनले भने, ‘छोटो समयमै बजारले ३००० को विन्दु पार गर्यो, करेक्सन आउनैपर्ने थियो, आयो पनि।’
करेक्सनले बजारलाई थप मजबुत पार्ने रिमालको बुझाइ छ। ‘बजार बढ्ने प्रशस्त आधारहरु छन्, आत्तिहाल्नुपर्ने अवस्था छैन’, उनले भने, ‘अब बजार बढ्दा राम्रा कम्पनीहरुमा उछाल आउन सक्छ।’
यो दिन नेप्से उपसमूहमा रहेका १३ वटा समूहमा रातो पोतिएको छ। आज वित्त र जलविद्युत समूह सर्वाधिक ५.२० प्रतिशतले ओरालो लागेका छन्। विकास बैंक समूह ४.६० प्रतिशतले घटेको यो दिन बैंकिङ समूहमा १.७८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ४.५१ प्रतिशत, लगानी समूहमा ०.४९ प्रतिशत, जीवन बीमा समूहमा २.५१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.८१ प्रतिशत, लघुवित्त समूहमा १.९९ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.३८ प्रतिशत, निर्जीवन बीमा समूहमा २.८९ प्रतिशत, अन्य समूहमा २.४० प्रतिशत र व्यापार समूहमा ०.८४ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीका २ करोड २५ लाख २२ हजार ४९१ कित्ता सेयर ११ अर्ब ६१ करोड ९० लाख ३५ हजार ६७३ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक १ अर्ब ३० करोड रुपैयाँ बढीको कारोबार भएको छ। एचआईडीसीएलको ३१ करोड ७ लाख रुपैयाँबराबरको कारोबार भएको आज नागरिक लगानी कोषको २९ करोड ६१ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको २८ करोड ४४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २४ करोड ८७ लाख रुपैयाँ, निफ्राको २१ करोड ६४ लाख रुपैयाँ, अपी पावरको २० करोड ९८ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको २० करोड ८२ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको २० करोड ७० लाख रुपैयाँ र अरुण भ्याली हाइड्रोपावरको २० करोड १३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन नारायणी डेभलपमेन्ट बैंकका सेयरधनीहरुले सर्वाधिक कमाएका छन्। यो बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।
आज पोखरा फाइनान्स र युनिभर्सल पावरका सेयरधनीहरुले सर्वाधिक गुमाएका छन्। यी दुवै कम्पनीको सेयरमूल्य ९ प्रतिशत बढीले ओरालो लागेका छन्।
यसैगरी युनियन हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र लिबर्टी इनर्जीका सेयरभाउ पनि ९ प्रतिशतको हाराहारीमा घटेका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago