काठमाण्डौ । यो साता लगातार दुई दिन बढेको बजार आज तेस्रो दिन मंगलबार सामान्य करेक्सन आएको छ। 

आज बजारमा ९.०१ अंकको करेन्सन आएको हो। योसँग नेप्से परिसूचक २९८५.५७ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.८३ अंकले घटेर ५५८.१२ को विन्दुमा समेटिएको छ। कारोबार रकम पनि घटेर पौने ८ अर्ब रुपैयाँ बढीको भएको छ। 

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाट आजको बजार बढाइलाई करेक्सनका रुपमा लिनुपर्ने बताउँछन्। ‘२ दिन बढेको बजारबाट अल्पकालीन लगानीकर्ताहरुले नाफा बुक गर्दा आज बजार घटेको हो’, उनले भने, ‘त्यसैले आज बजारमा करेक्सन आयो, यसलाई स्वाभाविक रुपमा लिनुपर्छ।’

आजको बजारलाई हेर्दा लगानीकर्ताहरुले प्रतिफलका आधारमा लगानी गरिरहेको देखिने पनि रानाभाट बताउँछन्। ‘दसैँअघि नै लाभांश घोषणा गर्नसक्ने कम्पनीहरुमा लगानीकर्ताहरु झुम्मिएका छन्’, उनले भने, ‘सोही कारण लगानीकर्ताहरुले आज सामूहिक लगानी कोष (म्युचुअल फन्ड)हरुमा लगानी गरेका छन्। किनकि म्युचुअल फन्डहरुले दसैँअघि नै लगानीकर्ताहरु प्रतिफल दिने सम्भावना धेरै हुन्छ।’

आज लक्ष्मी उन्नति कोषले आकर्षक लाभांश दिने घोषणा गरेकै कारण पनि सामूहिक लगानी कोषहरुमा लगानीकर्ताहरु झुम्मिएको रानाभाट बताउँछन्। 

बजार बुझ्ने र विश्लेषण गर्नेहरुले अब धमाधम बैंकहरुमा लगानी गर्न थालेको पनि रानाभाट बताउँछन्। 

सेयर लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोला लगानीकर्ताले अझै पनि मौद्रिक नीतिलाई प्रतीक्षा गरिरहेको बताउँछन्। ‘त्यसैले मौद्रिक नीति आएपछि बजारले आफ्नो दिशा तय गर्ने देखिन्छ’, उनले भने, ‘मौद्रिक नीति सेयर बजार अनुकूल आउने र लगानीकर्ताहरुको मनोबल पनि उच्च हुने सम्भावना छ।’ 

हालको राजनीतिक परिस्थितिले बजार खासै प्रभावित नभएको बास्तोला बताउँछन्।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटामा हरियाली छाएको छ भने ८ वटामा रातो पोतिएको छ। 

यो दिन म्युचुअल फन्ड समूह सर्वाधिक ६.२९ प्रतिशतले उकालो लागेको छ। व्यापार समूह ३.२ प्रतिशतले बढेको आज होटेल तथा पर्यटन समूहमा १.६१ प्रतिशत, जलविद्युत समूहमा १.२२ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहमा ०.२२ प्रतिशतको बढोत्तरी भएको छ।

आज वित्त समूह सर्वाधिक १.३७ प्रतिशतले ओरालो लागेको छ। निर्जीवन बीमा समूह १.२९ प्रतिशतले घटेको यो दिन बैंकिङ समूहमा ०.०४ प्रतिशत, विकास बैंक समूहमा ०.८० प्रतिशत, लगानी समूहमा ०.९५ प्रतिशत, जीवन बीमा समूहमा ०.७२ प्रतिशत, लघुवित्त समूहमा ०.४९ प्रतिशत र अन्य समूहमा १.२१ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २१९ कम्पनीका ३ करोड १६ लाख ८ हजार १९३ कित्ता सेयर ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९.०५ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन अरुण काबेली पावारको सर्वाधिक ३८ करोड ७८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण भ्याली हाइड्रोपावरको २६ करोड ९८ करोड रुपैयाँबराबरको कारोबार भएको आज नेपाल इन्स्योरेन्सको २४ करोड १८ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २३ करोड ४९ लाख रुपैयाँ, कृषि विकास बैंकको २२ करोड ७४ लाख रुपैयाँ, मञ्जुश्री फाइनान्सको २१ करोड ४४ लाख रुपैयाँ, नबिल बैंकको १६ करोड ४२ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १५ करोड ७३ लाख रुपैयाँ, अपी पावरको १५ करोड २१ लाख रुपैयाँ र नेपाल बैंकको १४ करोड ३९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज म्युचुअल फन्ड समूहमा चमक देखिएको छ। लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डको इकाइमूल्यमा १० प्रतिशतले बढेर पोजिटिभ सर्किट नै लाग्यो। 

यसैगरी बरुण हाइड्रोपावर र माउन्टे हाइड्रोको सेयरमूल्य पनि ९ प्रतिशत बढीले उकालो लागेका छन्।

यो दिन नेपाल इन्स्योरेन्सका लगानीकर्ताले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ५ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।