काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजारमा दोहोरो अंकको करेक्सन आएको छ।

आज बजारमा १६ अंकको करेक्सन आएको छ। योसँगै नेप्से परिसूचक ३१०७.४५ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.५८ अंकले बढेर ५७८.९४ को विन्दुमा उक्लिएको छ। हिजोको तुलनामा कारोबार रकम घटेर सवा १४ अर्ब रुपैयाँ बढीको भएको छ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्टले आजको बजार घटाइलाई सामान्य करेक्सनका रुपमा लिनुपर्ने बताउँछन्। ‘बजार लगातार बढेका कारण आज करेक्सन आएको हो’, उनले भने।

बजारमा करेक्सन आउनुको अर्को कारण भनेको आज लगानीकर्ताहरुले जलविद्युतमा नाफा बुक गर्नु रहेको बिष्टको भनाइ छ। ‘सोही कारण आज जलविद्युत समूहमा पनि करेक्सन आएको छ’, उनले भने। 

बजार बुलिस नै रहेकोले आगामी दिन पुनः उकालो लाग्ने बिष्टको भनाइ छ। ‘अहिले बजार बढ्ने सिजन पनि हो, त्यसैले राम्रा कम्पनीका सेयरधनीहरुमा लगानी गर्दा फाइदा हुन सक्छ’, उनले भने।

सक्रिय लगानीकर्ता पर्वत बिष्ट पनि जलविद्युतमा प्रफिट बुक गर्दा बजारमा करेक्सन आएको बताउँछन्। ‘यसलाई सामान्य रुपमा लिनुपर्छ’, उनले भने, ‘कारोबार रकमले साथ दिइरहेकोले बजार आगामी दिनमा अवश्य बढ्ने छ।’

बजारमा अझै पनि मौद्रिक नीतिको अन्यौलता कायमै रहेको बिष्ट बताउँछन्। ‘मौद्रिक नीति आएपछि बजारले आफ्नो लय समात्छ’, उनले भने।

मौद्रिक नीति बैंकलाई सहयोग गर्ने खाल आउने सम्भावना रहेको पनि बिष्ट बताउँछन्। ‘त्यसैले मौद्रिक नीति आएपछि बैंकिङ सेक्टर चल्ने सम्भावना छ’, उनले भने।

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये २ वटा समूहमा मात्रै हरियाली छाएको छ भने अन्य ११ समूहमा रातो पोतिएको छ। 

यो दिन विकास बैंक समूहमध्ये २.२४ प्रतिशतले उकालो लागेको हो।

आज जलविद्युत समूह सर्वाधिक २.१६ प्रतिशतले ओरालो लागेको छ। यो दिन बैंकिङ समूहमा ०.१२ अंक प्रतिशतको बढोत्तरी भएको छ।

लगानी समूह १.४३ प्रतिशतले घटेको आज वित्त समूहमा ०.८४ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.१४ प्रतिशत, जीवन बीमा समूहमा ०.२९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.३४ प्रतिशत, लघुवित्त समूहमा ०.५९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०५ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.३४ प्रतिशत, अन्य समूहमा ०.८१ प्रतिशत र व्यापार समूहमा १.४३ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२६ कम्पनीका २ करोड ८८ लाख ४५ हजार ४३१ कित्ता सेयर १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९६४.६९ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन माथिल्लो तामाकोशीको सर्वाधिक ६५ करोड ३० लाख रुपैयाँ बढीको कारोबार भएको छ। अपी पावरको ५८ करोड ४२ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन अरुण भ्याली हाइड्रोपावरको ४९ करोड १७ लाख रुपैयाँ, फर्स्ट माइक्रोफाइनान्सको ३१ करोड ७३ लाख रुपैयाँ, अरुण काबेली पावरको २८ करोड ६७ लाख रुपैयाँ, ज्योति विकास बैंकको २६ करोड ८९ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको २६ करोड ५६ लाख रुपैयाँ, एचआईडीसीएलको २६ करोड २१ लाख रुपैयाँ, बुटवल पावरको २५ करोड ७३ लाख रुपैयाँ र युनिभर्सल पावरको २५ करोड ६० लाख रुपैयाँबराबरको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज ४ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। नेपाल फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक र जीवन विकास लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा र युनियन लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। यो दिन फर्स्ट माइक्रोफाइनान्सको सेयरभाउ पनि ८ प्रतिशत बढीले उकालो लागेको छ।

यो दिन युनिभर्सल पावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ७ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।