काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार बजार झिनो वृद्धि भएको छ।

आज बजार ०.६६ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक ३१०८.१२ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.७८ अंकले बढेर ५७८.०९ को उचाइमा पुगेको छ। कारोबार रकम पनि सवा १४ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। 

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार आजको चा देख्दा लगानीकर्ताहरु मौद्रिक नीतिको प्रतिक्षामा रहेको देखिने बताउँछन्। ‘बजारमा दिनभर उताचर चढाव देखियो, अन्तिममा थोरैले बढ्यो’, उनले भने, ‘त्यसैले मौद्रिक नीति आएपछि बजारले गति लिन देखिन्छ।’

सरकार पनि पुँजी बजारप्रति सकारात्मक रहेकोले मौद्रिक नीति बजारअनुकूल नै आउने रौनियारको ठहर छ। बजार भविष्यमा बढ्ने धेरै आधार रहेको उनी बताउँछन्। ब्याजदर एकल विन्दुमै रहनु, नियामकले पुँजी बजार विस्तार र विकासलाई धेरै काम गर्नु, सूचीकृत कम्पनीहरुको वित्तीय विवरण राम्रो आउनेलगायतका कारण बजारको भविष्य राम्रै रहेको देखाउने रौनियारले बताए।

सक्रिय लगानीकर्ता रोहन कार्की पनि बजार स्थिरजस्तो देखिनुको मु्ख्य कारण लगानीकर्ताहरु मौद्रिक नीतिको प्रतिक्षामा रहेको प्रस्ट अनुमान गर्न सकिने बताउँछन्। ‘केही लगानीकर्ताहरुले अहिले सेक्टरवाइज लगानी गरिरहेका छन्’, उनले भने, ‘केही लगानीकर्ताहरुले पर्ख र हेरको रणनीतिमा बसेका छन्।’

यद्यपि बजार भविष्यमा अगाडि नै बढ्ने कार्कीको भनाइ छ। बजारको महौल चौतर्फी रुपमा सकारात्मक रहेकोले राम्रा र बलिया कम्पनीको सेयरमा लगानी गर्दा उचित हुने उनको सुझाव छ। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ६ वटामा हरियाली र ७ वटामा रातो पोतिएको छ। 

यो दिन जलविद्युत समूह सर्वाधिक ३.३३ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह १.३२ प्रतिशतले बढेको आज वित्त समूहमा ०.८१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.०४ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०२ प्रतिशत र बैंकिङ समूहमा ०.०८ अंकले बढेको छ। 

आज निर्जीवन बीमा समूह सर्वाधिक १.३८ प्रतिशतले ओरालो लागेको छ। लघुवित्त समूह १.२७ प्रतिशतले घटेको यो दिन व्यापार समूहमा ०.९९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.०६ प्रतिशत, अन्य समूहमा ०.९६ प्रतिशत, जीवन बीमा समूहमा ०.५६ प्रतिशत र लगानी समूहमा ०.०३ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीका २ करोड ६९ लाख ९६ हजार ३१३ कित्ता सेयर कित्ता सेयर १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार ८८७ रुपैयाँ किनबेच भएका छन्।

यो दिन अपी पावरको सर्वाधिक ८१ करोड ९२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण भ्याली हाइड्रोपावरको ६० करोड ७१ लाख रुपैयाँबराबरको कारोबार भएको आज युनिभर्सल पावरको ५४ करोड ८१ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ४९ करोड ४७ लाख रुपैयाँ, बुटवल पावर कम्पनीको ३८ करोड ४९ लाख रुपैयाँ, राधी विद्युतको ३५ करोड ७७ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ३१ करोड ५१ लाख रुपैयाँ, माथिल्लो तामाकोशीको ३१ करोड ४१ लाख रुपैयाँ र सिनर्जी पावर २८ करोड ७१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

यो दिन ६ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक, अपी पावर, युनिभर्सल पावर र जीवन विकास लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा युनियन लाइफ इन्स्योरेन्स र ङादी पावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। आज कर्पोरेट डेभलपमेन्ट बैंक र छ्याङ्दी हाइड्रोपावरको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।

आज गुराँस लघुवित्तका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो लघुवित्तको सेयरमूल्यमा ४ प्रतिशत बढीको गिरावट आएको छ।