– अर्जुन तिमिल्सिना

काठमाण्डौ । यो साताको दुई कारोबार दिनमा मात्रै सेयर बजार ११५ अंकले बढेको छ। ३२०० विन्दुभन्दा माथिबाट घट्न थालेको बजार न्युन विन्दु २५११ बाट अहिलेसम्म १६१ अंकले उकालो लागिसकेको छ। 

आज कारोबारसँगै भोलुम पनि बढेकोले आधारभूत रुपमा पनि बजार केही बलियो भएको बुझ्न सकिन्छ। प्राविधिक रुपमा पनि आजको बढाइमा केही अन्तर देख्न सकिन्छ। बजार घटेपछि आजसम्म बजार ४ पटक बाउन्स ब्याक भएको छ। आजको बढाइमा बोलिंगर ब्यान्डअन्तर्गत मूल्यरेखा पहिलोपटक मध्यरेखाभन्दा माथि पुगेर बजार बन्द भएको छ। बोलिंगर ब्यान्ड र आरएसआईको सम्बन्ध हेर्दा पोजेटिभ डाइभर्जेन्स भएको पाइन्छ। विस्तृत रुपमा तल हेर्न सकिन्छ।

मैनबत्ती विश्लेषणका आधारमा 

मैनबत्ती विश्लेषणअन्तर्गत अघिल्लो साता लामा–लामा र राता क्यान्डल बनाएकोमा यो साता हिजोको कारोबारमा तल छोटो पुच्छरसहितको हरियो मैनबत्ती बनाएको छ। आजको कारोबारमा लामो हरियो मारुबुजु क्यान्डल बनेको छ। यसले आगामी कारोबारमा पनि बजार बढ्ने संकेत गर्छ।

इलिअट वेभका आधारमा 

यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरुले साना–ठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्। हालको बजारलाई माइनर डिग्रीअन्तर्गत हेर्ने हो भने अहिले बजारले ए, बी र सी करेक्सन हुँदै बजार लगभग २४८४ सम्म आएर यदि बजारले यहीँबाट उचाइ बनाउँदै जान्छ भने इलिअट वेभको प्याट्रनअन्तर्गत पहिलो वेभ लगभग २७७३ सम्म र दोस्रोमा केही करेक्सन भएर पुनः २६७१ सम्म र फेरि वेभ ३ मा ३०५० सम्म र वेभ ४ मा केही करेक्सन भएर २९४० सम्म आउन सक्छ। त्यसपछि बजार पुनः वेभ ५ का लागि ३२२० सम्म फेरि एकपटक पुग्न सक्ने सम्भावना प्रबल देखिन्छ।(हेर्नुहोस्  माथि मुख्य तस्बिर) 

फिवोनासी सिद्धान्तका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यो सिद्धान्तअनुसार यदि बजार घटेमा ०.२३ प्रतिशतको टेवा २६६०, ०.३८ प्रतिशतको टेवा २७७१ तथा ०.५ प्रतिशतको टेवा २८४७, ०.६१ प्रतिशतको टेवा २९४२ र ०.७८ प्रतिशतको टेवा ३०७१ मा बजारले प्रतिरोधको सामान गर्न सक्छ।

बोलिंगर ब्यान्ड, एमएसीडी र आरएसआईका आधारमा 

हालको बजारको अवस्थालाई केही अल्पकालीन औजार जस्तै– बोलिंगर ब्यान्डबाट नियाल्ने हो भने बजार ३२०० को विन्दुपछि घटेको बजार हालसम्म ४ पटक बाउन्सब्याक भएको छ। पहिलाको बाउन्सब्याक र आजको बाउन्सब्याकमा के अन्तर भेटिन्छ भने मूल्यरेखाले मध्यरेखालाई छोएर माथि गएको छ। (हेर्नुहोस् कालो एरो) 

आरएसआईले पनि लोअर हाई बनाउँदै बोलिंगर ब्यान्डसँगको सम्बन्ध पोेजेटिभ डाइभर्जेन्स भएको छ। एमएसीडीमा २१ अक्टोबरमा बुलिस क्रसओभर भएको छ। हिस्टोग्राम पनि विस्तारै सकारात्मक भएका छन्। आजको कारोबारमा भोलुम पनि बढेकोले अब बजारमा सकारात्मक माहोल बन्दै गएको बुझ्न सकिन्छ।

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उत्तारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– २६५७
  • प्रतिरोध २– २७५८
  • प्रतिरोध ३– २८४८

पिभट प्वइन्ट : २५७०

घटेमा सपोर्ट 

  • सपोर्ट १– २४६९
  • सपोर्ट २– २३८१
  • सपोर्ट ३– २२८०

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। प्राविधिक विश्लेषणको संसारभर नै प्रयोग र आलोचना दुवै नै भइरहने हुनाले हामीले पनि स्वस्थ आलोचना स्वीकार गर्छौं। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस होइन।