काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ।

आज बजार २३.७६ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २८४३.६२ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.८४ अंकले बढेर ५३१.४२ को विन्दुमा पुगेको छ। कारोबार रकम ६ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार जानकार गोविन्दप्रसाद घिमिरे बजार थोरै समयमै धेरै घटेकोले केही समयदेखि बढिरहेको बताउँछन्। ‘बजार बढ्नुको मुख्य कारण भनेको लाभांश घोषणा र कम्पनीहरुको त्रैमासिक रिपार्ट राम्रो आउनु पनि हो’, उनले भने। 

सबैतिरबाट सकारात्मक हुने हो भने बजार ३–४ महिनामै नयाँ कीर्तिमान बनाउन सक्छ। ‘त्यसका लागि केही आधारहरु देखिएका छन्’, उनले भने, ‘ब्याजदरमा स्थायित्व आउनु, सेयर बजारमा लगानीकर्ता बढ्नु, सूचीकृत कम्पनीहरुका व्यापार राम्रो हुनुजस्ता कारणले लगानीकर्ताहरुमा निकै भविष्यमा बजार माथि नै जान्छ भन्ने आत्मविश्वास दरिलो हुनु आदि कारणले बजार बढ्न सहयोग गर्नेछ।’

मंसिरबाट ब्याजदरमा केही फेरबदल हुन सक्ने भन्दै घिमिरेले अब ब्याजदरले बजारमा ठूलो प्रभाव नपर्ने दाबी पनि गरे।

सक्रिय लगानीकर्ता रघुनाथ अधिकारी लगानीकर्ताको मनोबल बढ्दा बजार बढिहरेको बताउँछन्। ‘राष्ट्र बैंकका गभर्नर पुँजीबजारप्रति सकारात्मकजस्तो देखिनु, मौद्रिक नीतिमा हाल कायम केही नीतिहरुमा परिमार्जन हुने सम्भावनाले लगानीकर्ताहरुको मनोबल बढेको छ’, उनले भने, ‘र, आगामी चुनावीले पनि बजार सकारात्मक रुपमा अगाडि बढ्न सहयोग गर्ने देखिन्छ।’

धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया सुरु हुनुले बजारले छिटै ३००० को विन्दु चुम्नसक्ने देखिएको अधिकारीको भनाइ छ। यी सबै आधार केलाउँदा बजार परिपक्व र बुलिस ट्रेन्डमै रहेको प्रस्ट हुने अधिकारी बताउँछन्। 

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ। 

यो दिन अन्य समूह सर्वाधिक ३.७७ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह ३.५ प्रतिशतले बढेको आज होटेल तथा पर्यटन समूहमा १.२ प्रतिशत, जलविद्युत समूहमा १.५५ प्रतिशत, वित्त समूहमा १.८३ प्रतिशत, निर्जीवन बीमा समूहमा १.२१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.४४ प्रतिशत, लघुवित्त समूहमा ०.०१ प्रतिशत, जीवन बीमा समूहमा १.०१ प्रतिशत र म्युचुल फन्ड समूहमा ०.१ प्रतिशतको बढोत्तरी भएको छ।

आज व्यापार समूह सर्वाधिक २.१ प्रतिशतले ओरालो लागेको छ। लगानी समूह ०.१६ प्रतिशतले घटेको यो दिन बैंकिङ समूहमा ०.०१ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेप्सेमा सूचीकृतमध्ये २३० कम्पनीका ९९ लाख ७७ हजार ४८३ कित्ता सेयर ६ अर्ब ७ करोड ३७ लाख १६ हजार ८८८ रुपैयाँमा किनबेच भएका छन्।

आज महालक्ष्मी विकास बैंकको सर्वाधिक ४६ करोड ९७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। कामना सेवा विकास बैंकको २२ करोड १६ लाख रुपैयाँबराबरको कारोबार भएको यो नेपाल पुनर्बीमा कम्पनीको २१ करोड ३४ लाख रुपैयाँ, नबिल बैंकको २१ करोड १७ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको २० करोड ७४ लाख रुपैयाँ, ज्योति विकास बैंकको २० करोड ६० लाख रुपैयाँ, रिडी हाइड्रोपावर १९ करोड १२ लाख रुपैयाँ, आरएमडीसी १८ करोड ७८ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १६ करोड ४२ लाख रुपैयाँ र आईसीएफसी फाइनान्सको १४ करोड ७३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज साहस उर्जाको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। यो दिन गुडविल फाइनान्सको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।

यो दिन विशाल बजार कम्पनी, नेपाल बंगलादेश बैंक र आरएमडीसी लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यी कम्पनीको सेयरमूल्य ३ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।