काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।
आज बजार ३९.४० अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २६९३.१० को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.९९ अंकले घटेर ५१३.६४ को विन्दुमा ओर्लेको छ। कारोबार रकम ४ अर्ब रुपैयाँ बढीको भएको छ।
बजार जानकार गोविन्दप्रसाद घिमिरे आज बजार घट्नुको मुख्य कारण राष्ट्र बैंकको मौद्रिक नीतिको अर्धवार्षिक नै रहेको बताउँछन्। ‘मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा लगानीकर्ताहरुले सेयर धितो कर्जाको सीमा केही फेरबदल हुने अपेक्षा राखेका थिए तर भएन’, उनले भने, ‘सोही कारणले बजार अल्पकालीन असर पर्यो।’
घिमिरेले एमसीसी मुद्दाले बजारमा कुनै असर नगर्ने बताए। ‘यो संसदमा पारित भए पनि तत्काल आउने होइन, मुख्यगरी प्रसारण लाइन विस्तारमा यसबाट सहयोग हुने हो’, उनले भने, ‘त्यसैले एमसीसीले सेयर बजारमा कुनै असर गर्दैन।’
अहिले स्वपुँजी लगानी गर्नेलाई अवसर रहेको पनि घिमिरे बताउँछन्। ‘अहिले राम्रा र बलिया कम्पनीहरुका सेयरभाउ घटेका छन्, यो उठाउने अवसर हो। अहिले उठाए दीर्घकालका लागि फाइदा हुन्छ’, उनले भने।
बजार बुलिस नै रहेको पनि घिमिरेले बताए। ‘बजार बढ्ने सम्भावना प्रशस्त छन्’, उनले भने।
सक्रिय लगानीकर्ता महेश रिजाल पनि राम्रा–राम्रा कम्पनीको सेयर उठाउने अवसर सिर्जना भएको बताउँछन्। ‘बजार दीर्घकालमा बढ्ने नै भएकोले अहिले सस्तोमा सेयर उठाउने अवसर छ, यसलाई लगानीकर्ताले सदुपयोग गर्नुपर्छ’, उनले भने।
बजार घट्नुपर्ने खासै ठूलो कारण नरहेको रिजालको भनाइ छ। ‘राम्रो समाचार आएमा बढ्छ’, उनले भने, ‘नत्र केही समय बजार सामान्य तलमाथि नै हुन्छ।’
मुख्य गरी राष्ट्र बैंकको नीतिनिर्देशन कस्तो आउला भन्ने विषयमा लगानीकर्ताहरुमा अन्यौलता देखिएको रिजाल बताउँछन्। ‘आज बजार घट्नुको मुख्य कारण अन्यौलता नै हो’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये एउटा मात्रै हरियाली छाएको छ भने १२ वटामा रातो पोतिएको छ।
यो दिन अन्य समूह ०.४२ प्रतिशतले उकालो लागेको छ।
आज जीवन बीमा समूह सर्वाधिक २.४४ प्रतिशतले ओरालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह २.३७ प्रतिशतले घटेको यो दिन बैंकिङ समूहमा १.४७ प्रतिशत, व्यापार समूहमा १.९५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.४३ प्रतिशत, विकास बैंक समूहमा १.९३ प्रतिशत, वित्त समूहमा २.०२ प्रतिशत, निर्जीवन बीमा समूहमा २.२५ प्रतिशत, लघुवित्त समूहमा १.२६ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.१२ प्रतिशत र लगानी समूहमा १.८८ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २३० कम्पनीका ७१ लाख २२ हजार २९९ कित्ता सेयर ४ अर्ब ८ करोड ६४ लाख ७४ हजार ८२८ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन जीवन विकास लघुवित्तको सर्वाधिक ५८ करोड २ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल टेलिकमको १९ करोड २ लाख रुपैयाँबराबरको कारोबार भएको आज अरुण भ्याली हाइड्रोपावरको १७ करोड १२ लाख रुपैयाँ, अपी पावरको १६ करोड ५९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १५ करोड ३८ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १२ करोड ३० लाख रुपैयाँ, एचआईडीसीएलको ९ करोड २७ लाख रुपैयाँ, अप्पर तामाकोशीको ८ करोड ६४ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड १८ लाख रुपैयाँ र निफ्राको ८ करोड १७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज युनाइटेड इदी मर्दीका सेयरधनीहरुले सर्वाधिक कमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतले वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। तेह्रथुम पावरको सेयरभाउमा पनि ९ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ।
यो दिन नारायणी डेभलपमेन्ट बैंक र युनाइटेड इन्स्योरेन्सका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउ ५ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19