काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजार झिनो अंकले ओरालो लागेको छ। 

आज बजार ३.६६ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २५४३.३९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने १.३१ अंकले बढेर ४९०.१३ को विन्दुमा उक्लिएको छ। कारोबार रकम भने साढे २ अर्ब रुपैयाँको हाराहारीमा खुम्चिएको छ।

नेपाल इन्भेस्टर फोरमका उपाध्यक्ष राजन लम्साल आज बजारको परिदृश्यले लगानीकर्ताहरु अझै पर्ख र हेरको अवस्थामा रहेको देखिएको बताउँछन्। ‘तरलता र चैतमा ब्याजदर के होला भन्ने विषयले पनि लगानीकर्ताहरु चुपचाप बसेको देखिन्छ’, उनले भने। 

लम्सालले अन्तर्राष्ट्रिय घटनाक्रमले नेपालको सेयर बजारमा त्यति धेरै प्रभाव नपर्ने बताए। 

स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष रोहन कार्की आजबाट बजार घट्न रोकिएको संकेत प्राप्त भएको बताउँछन्। ‘दिनभर बजार सामान्य अंकले तलमाथि गरेको छ’, उनले भने, ‘प्राविधिक रुपमा पनि बजारको दिशा अनिर्णित देखिन्छ।’

लगानीकर्ताहरु अहिले अन्यौलमा रहेका कारण पर्ख र हेरको स्थितिमा रहेको कार्की बताउँछन्। ‘बजारमा केही सकारात्मक खबर पनि आएका छन्, अर्थमन्त्रीले सेबोन र नेप्सेका प्रमुखहरुलाई बोलाएर पुँजीबजारका विषयमा छलफल गर्दै ११ बुँदे निर्देशन दिएका छन्’, उनले भने, ‘यसले पुँजीबजारप्रति सरकार सकारात्मक रहेको भनेर बुझ्न सकिन्छ।’

अब तेस्रो त्रैमासको रिपोर्ट पनि आउने बेला भएको उल्लेख गर्दै कार्कीले बजार अब विस्तार सम्हालिने बताए। ‘अन्तर्राष्ट्रिय घटनाक्रमले नेपालको सेयर बजारलाई कुनै असर गर्दैन’, उनले भने।

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ४ वटामा मात्रै हरियाली छाएको छ भने ९ वटामा रातो पोतिएको छ। 

यो दिन विकास बैंक समूह सर्वाधिक १.२४ प्रतिशतले उकालो लागेको छ। अन्य समूह ०.८५ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.२ प्रतिशत र होटेल तथा पर्यटन समूहमा ०.०५ प्रतिशतको बढोत्तरी भएको छ।

आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक २.०८ प्रतिशतले ओरालो लागेको छ। जीवन लाइफ इन्स्योरेन्स १.२४ प्रतिशतले घटेको यो दिन व्यापार समूहमा ०.४७ प्रतिशत, जलविद्युत समूहमा ०.७१ प्रतिशत, वित्त समूहमा ०.६४ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.२ प्रतिशत, लघुवित्त समूहमा ०.०६ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.२२ प्रतिशत र लगानी समूहमा ०.१९ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेप्सेमा सूचीकृतमध्ये २३० कम्पनीका ५१ लाख ३९ हजार २३९ कित्ता सेयर २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार २७३ रुपैयाँको कारोबार भएको छ।

आज शिवम सिमेन्टको सर्वाधिक १५ करोड २२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड २७ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन अपी पावरको ११ करोड १७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ८ करोड ३६ लाख रुपैयाँ, नेपाल टेलिकमको ८ करोड ३१ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ६ करोड ६६ लाख रुपैयाँ, जीवन विकास लघुवित्तको ६ करोड ६० लाख रुपैयाँ, नबिल बैंकको ६ करोड ४४ लाख रुपैयाँ, युनिभर्सल पावरको ५ करोड ७५ लाख रुपैयाँ र एचआईडीसीएलको ४ करोड ५४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज मैलुङ खोला जलविद्युतका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ८ प्रतिशतको हाराहारीमा उकालो लागेको छ।
यो दिन शिवम सिमेन्टका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ७ प्रतिशत बढीले ओरालो लागेको छ।