काठमाण्डौ । स्टक ब्रोकर्स एसोसियन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाटले बजारको पछिल्लो अवस्थाप्रति नियामकदेखि सबै सरोकारावाला गम्भीर हुनुपर्ने बताएका छन्। 

हाल पुँजीबजारमा रहेका ५१ लाख लगानीकर्ता रहेको उल्लेख गर्दै रानाभाटले अहिले पुँजीबजार देखिएको समस्या समाधान गर्न सबैले पहल गर्नुपर्ने धारणा राखेका छन्। ‘कुनै बेला ३२०० पुगेको नेप्से लगातार घटेर झन्डै २२०० को विन्दुसम्म आएको छ, बजार लगभग १ हजार अंक घटिसकेको छ’, बिजशालासँगको कुराकानीमा रानाभाटले भने, ‘तर, यसरी बजार घट्नुको कारण र त्यस्ता कारण पत्ता लगाई समाधान गर्न कतैबाट पहल नभएको देखिन्छ।’ 

भारतीय सेयर बजारको उदाहरण दिँदै रानाभाटले भने, ‘त्यहाँ बजार प्रभावित हुन थालेपछि नियामक निकायका साथै सबै पक्षले आवश्यक नीति ल्याएर समस्या समाधान गर्छन्, तर हाम्रोमा कतैबाट समस्या समाधानका लागि पहल भएको देखिँदैन।’ 

रानाभाटले केही गलत नीतिका कारण हाल नेपालको पुँजीबजार प्रभावित बनेको बताए। ‘त्यस्ता नीति नै  परिर्वतन गर्नुपर्छ’, उनले भने, ‘कुनै बेला अनियन्त्रित कर्जा प्रवाहलाई रोक्न ४–१२ को क्याप उपयुक्ता थियो होला तर अहिले आवश्यक छैन। त्यसैले यो व्यवस्थालाई खारेज नै गर्नुपर्छ।’

त्यसैगरी जोखिममा आधारित भार पनि १५० बाट १०० मा नै हुनुपर्ने रानाभाटको तर्क छ। ‘किनकि अहिले सेयर बजारमा कुनै जोखिम छैन। यस्तो जोखिममा आधारित भार घटाउनुपर्छ’, उनले भने। 

बजारको विकास र विस्तारमा सबै लाग्नुपर्नेमा रानाभाटले जोड दिए। ‘सरकारले आगामी बजेटमार्फत पुँजीगत लाभकरमा घटाएर लगानीकर्तालाई सकारात्मक सन्देश दिन आवश्यक छ’, उनले भने।

बजार बढ्दा सबैको आँखा लाग्ने तर घट्दा भने कसैले वास्ता नगरेको रानाभाटको आरोप छ। ‘अहिले जिम्मेवारी लिन कसैले नचाहेको देखिन्छ’, उनले भने, ‘बजार यति धेरै घटिसकेपछि ब्रोकर, नेप्से, धितोपत्र बोर्ड, लगानीकर्ता सबै छलफलमा जुट्नुपर्ने थियो तर कसैले पनि चासो दिएनन्। बजार बढ्दा सबैले जश लिन खोज्ने तर घट्दा भने सबै रमितेमात्रै बन्ने परिपाटी देखिएको छ।’

अहिलेको बजारको अवस्थालाई दृष्टिगत गरी बजार प्रतिकूलका नीतिहरु परिमार्जन गर्न धितोपत्र बोर्डले अन्य नियामक निकायसँग समन्वय गर्नुपर्ने रानाभाटको सुझाव छ। ‘धितोपत्र बोर्ड अझ बढी सक्रिय हुनुपर्यो’, उनले भने, ‘बजार बिरामी अवस्थामा छ। यस्तो बेलामा जिम्मेवार निकाय उपचार गर्नतिर लाग्नुपर्छ।’