काठमाण्डौ । सेयर बजारमा सोमबार भारी अंकको गिरावट आएको छ।
बजार आज ५०.३३ अंकले घटेर २१७३.४५ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १०.३३ अंकले घटेर ४२२.७५ को विन्दुमा ओर्लेको छ। कारोबार रकम सवा १ अर्ब रुपैयाँ बढीको भएको छ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट लगानीकर्ताले आशा गरेअनुरुपको बजेट नआएपछि आज बजारमा गिरावट आएको बताउँछन्। ‘तर, बजारमा अब १–२ दिनमात्रै करेक्सन आउला’, उनले भने, ‘त्यसपछि बजार सम्हालिन सक्छ। किनकि तरलता सहज भएसँगै असारमा बैंकहरुको सीडी रेसियो ९० प्रतिशतभन्दा मुनि नै आउँछ।’
नेपालको बजेट ४० प्रतिशतको हाराहारीमा आर्थिक वर्षको अन्त्यमै खर्च हुने हुँदा बजारमा पैसा सहज हुने बिष्टको तर्क छ। ‘त्यस कारण बजार अब धेरै तल जाँदैन’, उनले भने।
सक्रिय लगानीकर्ता निमानन्द कँडेल बजेट अपेक्षाअनुसार नआउँदा बजारमा गिरावट आएको बताउँछन्। ‘खासगरी लगानीकर्ताले बजेटमा पुँजीगत लाभकर घट्ने, ४–१२ को क्याप हटाइनेजस्ता नीतिगत व्यवस्था फेरबदल हुने आशा गरेका थिए तर त्यो भएन’, उनले भने, ‘तर, बजेटमा यी कुराको आशा गरिनु भ्रम हो, यस्ता व्यवस्था मौद्रिक नीतिमार्फत आउने छन्।’
अब विस्तार तरलता सहज हुँदै जाने भएकोले बजार सम्हालिन सक्ने कँडेल बताउँछन्।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ।
यो दिन व्यापार समूह सर्वाधिक ३.२२ प्रतिशतले ओरालो लागेको छ। अन्य र जीवन बीमा समूह समान २.८५ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.४१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.३८ प्रतिशत, विकास बैंक समूहमा २.५६ प्रतिशत, जलविद्युत समूहमा २.६३ प्रतिशत, वित्त समूहमा २.४३ प्रतिशत, निर्जीवन बीमा समूहमा २.६३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.३७ प्रतिशत, लघुवित्त समूहमा १.५७ प्रतिशत, म्युचुअल फन्ड समूहमा २.११ प्रतिशत र लगानी समूहमा २.२२ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीका ३४ लाख ५६ हजार ५२९ कित्ता सेयर १ अर्ब ३३ करोड ८८ लाख ५६ हजार २८२ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन नेपाल टेलिकमको सर्वाधिक ४ करोड ९६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण भ्याली हाइड्रोपावरको ४ करोड ४१ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको ४ करोड २३ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ४ करोड २ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ९४ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ३ करोड ४३ लाख रुपैयाँ, अपी पावरको ३ करोड ९ लाख रुपैयाँ, अप्पर तामाकोशीको ३ करोड ३ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको २ करोड ७२ लाख रुपैयाँ र नागरिक लगानी कोषको २ करोड ६९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन बलेफी हाइड्रोपावरका सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। आज उपकार लघुवित्तको सेयरभाउ पनि ८ प्रतिशत बढीले उकालो लागेको छ।
आज नेपाल इन्भेस्टमेन्ट बैंकका सेयरधनीहरुले धेरै गुमाए। यो बैंकको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19