काठमाण्डौ। सेयर बजार बिहीबार दोहोरो अंकले ओरालो लागेको छ।

बजार आज १६.६० अंकले ओरालो लागेको हो। योसँगै २०२७.३२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.४२ अंकले घटेर ३८५.४९ को विन्दुमा ओर्लेको छ। कारोबार रकम पौने २ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार जानकार सरोज भट्टराई आज घटाइ नाफा बुक पनि हुन सक्ने बताए। ‘अर्थमन्त्रीले राजीनामा दिएपछि बजार बढ्छ भन्ने लगानीकर्ताको मानसिकता थियो तर त्यो हुन सकेन’, उनले भने, ‘किनकि मुख्य विषय भनेको मौद्रिक नीति नै हो र अबको बजारको दिशा मौद्रिक नीतिले तय गर्छ।’

सेयर बजारमा आर्थिक सूचकहरु महत्वपूर्ण हुने उल्लेख गर्दै भट्टराईले भने, ‘यदि मौद्रिक नीति बजारमैत्री आएमा र ब्याजदर घटेमा बजारले नयाँ उचाइ पनि लिन सक्छ।’

धेरैजसो लगानीकर्ता अहिले पर्ख र हेरकै अवस्थामा रहेको भट्टराई बताउँछन्। ‘बजारमा आश र त्रासको वातावरण छ’, उनले भने, ‘प्रधानमन्त्रीले नै अर्थ मन्त्रालय सम्हालेकाले आशा गर्ने ठाउँ छ।’

सक्रिय लगानीकर्ता आदित्य शिवाकोट अर्थमन्त्रीले राजीनामा दिँदैमा बजार बढ्छ भन्ने सोचाइ गलत रहेको बताउँछन्। ‘जसलाई बजारले पुष्टि गरेको छ’, उनले भने, ‘आज बजार घट्नुमा असार मसान्तको प्रभाव नै हो।’

अहिले लगानीकर्ताहरु मौद्रिक नीतिको प्रतीक्षामा रहेकोले सोचेजस्तो कारोबार हुन नसकेको शिवाकोटीले बताए। 

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये एउटामात्रै हरियाली छाएको छ भने बाँकी १२ वटामा रातो पोतिएको छ। 

यो दिन म्युचुअल फन्ड समूहमात्रै ०.६६ प्रतिशतले उकालो लागेको छ।

आज अन्य समूह सर्वाधिक १.४३ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह १.३१ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.६३ प्रतिशत, व्यापार समूहमा १.११ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.१६ प्रतिशत, जलविद्युत समूहमा ०.६७ प्रतिशत, वित्त समूहमा ०.४९ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.४१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.८३ प्रतिशत, लघुवित्त समूहमा ०.८४ प्रतिशत, जीवन बीमा समूहमा १.१३ प्रतिशत र लगानी समूहमा ०.७९ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२९ कम्पनीका ४७ लाख ११ हजार २५ कित्ता सेयर १ अर्ब ८० करोड ६२ लाख ४ हजार ७६५ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको सर्वाधिक ७ करोड ६५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण काबेली पावरको ६ करोड ३० लाख रुपैयाँबराबरको कारोबार भएको आज शिवम सिमेन्टको ६ करोड २५ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ५ करोड ९० लाख रुपैयाँ, अप्पर तामाकोशीको ५ करोड ८२ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको ४ करोड ७० लाख रुपैयाँ, नेपाल बैंकको ४ करोड ६३ लाख रुपैयाँ, नबिल बैंकको ४ करोड ३७ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ४ करोड ५ लाख रुपैयाँ र किसान लघुवित्तको संस्थापक सेयरको ४ करोड ५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज माउन्टेन हाइड्रोका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ३ प्रतिशत बढीले ओरालो लागेको छ। 

यो दिन समिट लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ५ प्रतिशत बढीले ओरालो लागेको छ। लिवर्टी इनर्जीको सेयरभाउ पनि ५ प्रतिशतले घटेको छ।