काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा भारी गिरावट आएको छ।
आज दुई घन्टाको कारोबारमा सेयर बजारमा ३४.७० अंकको गिरावट आएको छ। योसँगै नेप्से परिसूचक १९९२.६२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.६० अंकले घटेर ३७९.८९ को विन्दुमा ओर्लेको छ। कारोबार रकम १ अर्ब रुपैयाँ बढीको भएको छ।
बजार जानकार वीरेन्द्र बिष्ट आज बजार घट्नुमा ४–१२ कै सेटलमेन्टको प्रभाव रहेको बताउँछन्। ‘अझै २ दिन बजारमा करेक्सन हुन सक्छ, त्यसपछि बजार लयमा फर्किन सक्छ’, उनले भने।
विश्व बजारमा तेलको भाउ घट्दै गएकोले ब्यालेन्स अफ पेमेन्टमा पनि सहज हुने बिष्टको तर्क छ। ‘तत्काल ठूलो अंकले नबढे पनि अब ६ महिनापछि बजारले अलटाइम हाई ब्रेक गर्छ’, उनले भने।
अर्का बजार जानकार गोविन्दप्रसाद घिमिरे बजार न्यूनतम विन्दुबाट ३०० अंकले बढेकोले नाफा बुक गर्दा बजारमा करेक्सन आएको बताउँछन्। ‘असार मसान्तको प्रभाव पनि बजारमा परेको देखिन्छ’, उनले भने।
बजारलाई दिगो रुपमा बढ्न भने मौद्रिक नीतिमा नै नीतिगत व्यवस्थाहर परिमार्जन आवश्यक रहेको घिमिरेले बताए। ‘तरलता सहज भएर सेयर धितो कर्जा पाउने अवस्था सिर्जना भएको खण्डमा मात्रै बजार बढ्ने देखिन्छ’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ।
यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ३.१८ प्रतिशतले ओरालो लागेको छ। व्यापार समूहमा ३.१३ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.१६ प्रतिशत, विकास बैंक समूहमा २.७२ प्रतिशत, जलविद्युत समूहमा २.५२ प्रतिशत, वित्त समूहमा ३.०३ प्रतिशत, निर्जीवन बीमा समूहमा १.०९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.३८ प्रतिशत, अन्य समूहमा १.८३ प्रतिशत, लघुवित्त समूहमा १.४८ प्रतिशत, जीवन बीमा समूहमा १.९१ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.०७ प्रतिशत र लगानी समूहमा २.१४ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेप्सेमा सूचीकृतमध्ये २१७ कम्पनीका ३० लाख ६३ हजार ४७६ कित्ता सेयर १ अर्ब १६ करोड ८४ लाख ५१ हजार ३९५ रुपैयाँमा किनबेच भएका छन्।
आज शिवम सिमेन्टको सर्वाधिक ५ करोड ५९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। युनाइटेड इदी मर्दीको ३ करोड ९७ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन लाइफ इन्स्योरेन्स कर्पोरेसनको ३ करोड ९१ लाख रुपैयाँ, अरुण काबेली पावरको ३ करोड ७९ लाख रुपैयाँ, नेपाल टेलिकमको ३ करोड ७३ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ३ करोड ४८ लाख रुपैयाँ, नागरिक लगानी कोषको ३ करोड १९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड १७ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३ करोड ७ लाख रुपैयाँ र अप्पर तामाकोशीको २ करोड ७० लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज गुराँस लघुवित्त, इन्फिनिटी लघुवित्त, विन नेपाल लघुवित्त, सगरमाथा इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सका सेयरधनीहरुले धेरै कमाए। यी कम्पनीको सेयरमूल्य २ प्रतिशतको हाराहारीमा उकालो लागेका छन्।
यो दिन हिमालय ऊर्जा विकासका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ५ प्रतिशत बढीले ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19