काठमाण्डौ । लगानीकर्ताहरु स्थानीय निकाय निर्वाचनको पहिलो चरणको मतदानको परिणामतर्फ मोडिँदा र त्यसपछि मात्र लगानीको रणनीति बनाउने सोंचमा रहँदा बजार स्थिर देखिएको छ । चुनावका कारण कतिपय लगानीकर्ता आ–आफ्ना क्षेत्रमा मतदानमा सहभागी हुन काठमाण्डौ बाहिर गएका कारण समेत बजारमा खासै चहलपहल देखिएन । यही कारण नेप्से परिसूचक ०.६५ अंकको झिनो बढोत्तरीमा समेटिन पुुग्यो । अधिकांश लगानीकर्ताको ध्यान चुनावी परिणाममा हुँदा समेत बजारमा गिरावट नआउनु र झिनो अंकले नै पनि वृद्धि हुनुुलाई सकारात्मक मान्न सकिन्छ । 

साताको र जेठ महिनाको पहिलो कारोबार दिन तीन समूहको सूचकमा रातो पोतियो भने अन्य ५ समूह हराभरा भए । घट्ने समूहमा झिनो अंकको मात्र गिरावट देखिएजस्तो बढ्नेमा पनि झिनो अंकको मात्र वृद्धि देखियो । 

वाणिज्य बैंक, होटल, बित्त, बिमा र उत्पादनमूलक समूहमा क्रमशः २.६४, १४.९५, २.६७, ८.६५ र २५.३ अंकको बढोत्तरी भयो । यस्तै, विकास बैंक समूहमा ०.६८, जलविद्युतमा २.२१ र अन्य समूहमा ११.५७ अंकको गिरावट देखियो । 

थोरै लगानीकर्ता बजारमा सक्रिय भए पनि 'क' वर्गका कम्पनीप्रतिको आकर्षणका कारण सेन्सेटिभ इण्डेक्स ०.३१ अंकले उक्लियो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.१ अंकको बढोत्तरी भयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ३९ कम्पनीका ११ लाख ३१ हजार ७ सय ९५ कित्ता सेयर ६७ करोड ५५ लाख ३ हजार ८ सय ६५ रुपैयाँमा किनबेच भयो । 

सबैभन्दा बढी एशियन लाइफ इन्स्योरेन्सको ६ करोड १२ लाख बढीको प्रोमोटर सेयर किनबेच भयो । छिमेक लघुवित्त विकास बैंकको ३ करोड ६८ लाख बढीको सेयर किनबेच हुँदा लाइफ इन्स्योरेन्स कर्पोरेसन लिमीटेडले ३ करोड ६८ लाख बढीको कारोबार गर्यो । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २ करोड ३६ लाख बढीको कारोबार भएको बजारमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ करोड २३ लाख बढीको कारोबार गर्यो । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ३ स्थान वाणिज्य बैंक, ३ स्थान बिमा कम्पनी, २ स्थान जलविद्युत र २ स्थान विकास बैंक समूहको कब्जामा रह्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
सोमबार ३ कम्पनीका सेयरधनी मालामाल भए । बोटलर्स नेपाल तराई लिमीटेड र प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा उचालियो भने दिव्यश्वरी हाइडोपावर कम्पनीको मूल्य ८ प्रतिशत भन्दा बढीको दरले वृद्धि भयो । 

यो दिन रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा घट्यो । नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक सेयरको मूल्यमा समेत ८ प्रतिशतको हाराहारीमा गिरावट आयो ।