काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन शुक्रबार सेयर बजार सामान्य बढोत्तरी भएको छ। 

आज २ घन्टाको कारोबारमा बजार ७.९३ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २००९.४६ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ इन्डेक्स २.७७ अंकले बढेर ३८५.९१ को विन्दुमा पुगेको छ। कारोबार झन्डै डेढ अर्ब रुपैयाँको भएको छ। 

बजार जानकार प्रकाश रजौरे बुक चक्र नसकिएको बताउँछन्। ‘बजार एकपटक ३२०० कट्नु नै पर्छ’, उनले भने, ‘मौद्रिक नीतिमार्फत नीतिगत व्यवस्थामा सुधार भएको खण्डमा यो बजारले अलटाइम हाई ब्रेक गर्छ।’

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर बजारमा प्रहार गरेको रजौरेको भनाइ छ। ‘४–१२ लाई अफिसियल क्याप बनाएर जाल थाल्यो’, उनले भने। 

सबैतिर सकारात्मक महौल बन्दै गरेकोले बजार अब पोजिटिभ नै रहने रजौरे बताउँछन्। 

नेपाल इन्भेस्टर्स फोरमकी महासचिव दुर्गा तिवारी बजारको बढाइले लगभग सेलिङ प्रेसर सकिएको संकेत गरेको बताउँछिन्। ‘ब्याजदर स्थिर रहने र मौद्रिक नीति पनि बजार अनुकूल नै आउने देखिएको छ’, उनले भनिन्, ‘किनकि अब नकारात्मक विषयवस्तु केही छैन।’

तरलता थपिएसँगै सीडी रेसियो पनि घटेको र लाभांशको सिजन पनि सुरु हुने भएकोले बजार अब माथि नै जाने तिवारी बताउँछिन्। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटामा हरियाली छाएको छ भने ८ वटामा रातो पोतिएको छ। 

यो दिन लघुवित्त समूहमा १.५७ प्रतिशतले उकालो लागेको छ। म्युचुअल फन्ड समूह १.४९ प्रतिशतले बढ्दा बैंकिङ समूहमा १.३८ प्रतिशत, विकास बैंक समूहमा ०.१५ प्रतिशत र जीवन बीमा समूहमा ०.३९ प्रतिशतको बढोत्तरी भएको छ। 

आज अन्य समूह १.६८ प्रतिशतले ओरालो लागेको छ। लगानी समूह ०.९५ प्रतिशतले घट्दा व्यापार समूहमा ०.६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.७८ प्रतिशत, जलविद्युत समूहमा ०.७४ प्रतिशत, वित्त समूहमा ०.४५ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.०४ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहमा ०.२९ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २३१ कम्पनीका ४० लाख ५१ हजार ७७१ कित्ता सेयर १ अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८३३ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन अपर तामाकोशीको सर्वाधिक १९ करोड ७२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एभरेस्ट बैंकको ६ करोड ९४ लाख रुपैयाँबराबरको कारोबार भएको आज किसान लघुवित्तको संस्थापक सेयरको ५ करोड ५८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ४ करोड ४८ लाख रुपैयाँ, अरुण काबेली पावरको ४ करोड ३३ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकको ४ करोड २४ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड ९९ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको ३ करोड ६८ लाख रुपैयाँ, नेपाल बैंकको ३ करोड ४३ लाख रुपैयाँ र एनआईसी एसिया बैंकको ३ करोड ७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

यो दिन सामुदायिक लघुवित्त र माछापुच्छ्रे बैंकका सेयरधनीहरुले धेरै कमाए। यी दुवै कम्पनीको सेयरभाउ ९ प्रतिशतको हाराहारीमा उकालो लागेको छ। 

आज ग्रीनलाइफ हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ५ प्रतिशत बढीले ओरालो लागेको छ।