काठमाण्डौ । सेयर बजारमा बिहीबार सामान्य गिरावट आएको छ। 

आज बजार ५.८७ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २०४४.७२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ पनि ०.८६ अंकले घटेर ३९१.६४ को विन्दुमा ओर्लेको छ। कारोबार रकम साढे १ अर्ब रुपैयाँ बढीको भएको छ। 

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल लगानीकर्ता मौद्रिक नीतिकै प्रतीक्षामा रहेको बताउँछन्। ‘बजारमा २–४ अंकको घटबढ हुनु सामान्य हो’, उनले भने। 

असार मसान्तको प्रभाव सकिएकोले बजार केही दिनदेखि सकारात्मक बनेको ढकालको भनाइ छ। ‘बजारमा ठूलो काम हुन सकेको छैन’, उनले भने, ‘यसको मतलब मौद्रिक नीतिको प्रतीक्षा नै हो।’

मौद्रिक नीतिमा ४–२ को क्याप हट्ने र जोखिम भार औसत घट्छ भन्ने आफूलाई लागेको ढकाल बताउँछन्। ‘किनकि अहिलेको अवस्थामा सेयर बजारमा जोखिम छैन’, उनले भने, ‘सबैभन्दा तरल र जोखिममुक्त क्षेत्र भनेको सेयर बजार हो। त्यसैले यसमा क्याप लगाउन आवश्यक छैन।’

बजार जानकार प्रेम ओली पनि लगानीकर्ता मौद्रिक नीतिकै प्रतीक्षामा रहेको बताउँछन्। ‘मौद्रिक नीति सकारात्मक आउनेमा लगानीकर्ताहरु आशावादी छ’, उनले भने।

आजको घटाइ स्वाभाविक करेक्सन रहेको ओली बताउँछन्। राष्ट्र बैंकलाई चौतर्फी दबाब भएका कारण मौद्रिक नीतिमा केही न केही सम्बोधन हुने ओलीको आँकलन छ। ‘किनकि सडकदेखि सदनसम्म पुँजीबजारको कुरा उठ्नुले राष्ट्र बैंक आक्रामक हुने अवस्था छैन’, उनले भने।

आज नेप्से उसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटा समूहमा मात्रै हरियाली छाएको छ भने ११ वटा समूहमा रातो पोतिएको छ। 

यो दिन अन्य समूह १.०९ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.१७ प्रतिशतले उकालो लागेको छ। 

आज व्यापार समूह सर्वाधिक १.५८ प्रतिशतले ओरालो लागेको छ। जीवन बीमा समूह १.५२ प्रतिशतले घट्दा होटेल तथा पर्यटन समूहमा ०.७५ प्रतिशत, विकास बैंक समूहमा ०.९८ प्रतिशत, जलविद्युत समूहमा ०.६१ प्रतिशत, वित्त समूहमा ०.९ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.७८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.२५ प्रतिशत, लघुवित्त समूहमा ०.४८ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४४ प्रतिशत र लगानी समूहमा १.०७ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२५ कम्पनीका ३९ लाख ८ हजार ३९५ कित्ता सेयर १ अर्ब ६४ करोड २६ लाख ४८ हजार ५८७ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन शिवम सिमेन्टको सर्वाधिक १७ करोड ८० लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनआईसी एसिया बैंकको ११ करोड २२ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल पुनर्बीमा कम्पनीको ६ करोड २८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ६ करोड २ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकको ४ करोड २१ लाख रुपैयाँ, अप्पर तामोकोशीको ३ करोड ८६ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको ३ करोड ५४ लाख रुपैयाँ, नेपाल टेलिकमको ३ करोड २३ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड १४ लाख रुपैयाँ र एसियन लाइफ इन्स्योरेन्सको ३ करोड १० लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज सेन्ट्रल फाइनान्सका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ३ प्रतिशत बढीले उकालो लागेको छ।

यो दिन किसान लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको ५ प्रतिशतले बढीले ओरालो लागेको छ।